Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारज्यानमारा वैदेशिक रोजगारी

ज्यानमारा वैदेशिक रोजगारी


प्रवीण राउत
काठमाडौँ, फागुुन ६
रौतहट चन्द्रपुर ८ का ४६ वर्षीय लक्ष्मण चौधरीको कतारमा वैदेशिक रोजगारीको सिलसिलामा शंकास्पद मृत्यु भएपछि उनका छोरा रोशन कुमार चौधरी समस्यामा परेका छन् । फागुनमा घर आउने तयारी गरेका बुबाले आत्महत्या गरेको भन्ने विषयमा उनका परिवारलाई विश्वास नै लागेको छैन । रोशनका अनुसार लक्ष्मणको तलब राम्रो थियो । उनी भन्छन्, ‘मेरो र घरको अवस्था पनि राम्रो थियो त्यसैले बुबाले आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन ।’ लक्ष्मण परिवारसँग सधैँजसो सम्पर्कमै हुन्थे । छोरा रोशनले जागिर खाएसँगै खुसी भएका थिए । कतारको कम्पनीमा काम गर्ने अरुलाई मिठाइ समेत बाँडेका थिए । सबै कुरा ठीक हुँदाहुँदै लक्ष्मणलाई आत्महत्याको बाटोमा केले डो-यायो ? सोही कारण रोशन र परिवारले उनको मृत्युमा शंका गर्दै आएको हो ।

रोशन चन्द्रपुर नगरपालिकामा कम्पयुटर अपरेटरको रुपमा कार्यरत छन् । लक्ष्मण कतारस्थित रिक्लाइमेसन ओयल प्लान्ट कम्पनीमा कार्यरत थिए । विगत १४ वर्षदेखि कार्यरत लक्ष्मणको मासिक परिश्रमिक नेपाली करिब एक लाख रुपैयाँ थियो । ‘बुबाको पनि परिश्रमिक राम्रो, आफू पनि जागिर हुँदा घर सञ्चालनको लागि कुनै असहज अवस्था थिएन’, रोशन भन्छन् । घर परिवार सबैतर्फ सहज वातावरण हुँदा बुबाले आत्महत्या गर्नुपर्ने परिस्थिति बिल्कुलै नरहेको उनी बताउँछन् ।

सधैँजसो बिहान ४ बजे उठेका लक्ष्मण कम्पनीभित्र आत्महत्या गरेको अवस्थामा भेटिएको जानकारी कम्पनीले दिएको भए पनि परिवार मान्न तयार छैन । गत माघ ५ गते बिहान सो घटना घटेको जानकारी दिएको भए पनि आफूहरुलाई सो विषयमा विश्वास नलागेको उनले बताए । लामो समय काम गरेको हुँदा लक्ष्मणले कम्पनीबाट १५/१६ लाख रुपैयाँ लिनुपर्ने थियो । यसअघि पनि लक्ष्मणले सो रकम माग गर्दा कम्पनीमा विवाद हुने गरेको आफूहरुलाई जानकारी गराएको छोरा चौधरीले बताए ।

लक्ष्मण कम्पनीमा हेड मिस्त्री थिए भने उनको निर्देशनमा ३५ जना कामदारले काम गर्थे । लक्ष्मणजस्तै वैदेशिक रोजगारीमा गएका चार सय ३० जना युवाको अकालमै मृत्यु हुन पुगेको छ भने यता नेपाली समाजले वैदेशिक रोजगारीको नाममा अकल्पनीय दुःख भोग्नुपरेको छ ।

पछिल्लो समय विदेश गएकाहरुमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा मलेसिया तथा खाडी मुलुकमा काम गर्न गएका नेपाली युवाहरु छन् । चालू आर्थिक वर्ष (२०७६/७७) को छ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका चार सय ३० जना युवाहरुको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । चार सय १८ जना पुरुष र १२ जना महिलाको गरी चार सय ३० जनाको यो अवधिमा मृत्यु भएको छ । मलेसियामा मात्र एक सय १८ जना युवाहरुको मृत्यु भएको छ । मलेसियाको विभिन्न सहरमा रहेका युवाहरुको मृत्यु भएको हो ।

सोही समयमा साउदी अरेबियामा ९४ पुरुष र दुई महिला गरी ९६ जना, कतारमा ७४ जना पुरुष, युएईमा ६२ पुरुष र तीन महिला गरी ६५ जना, कुवेतमा २२ पुरुष र दुई महिला गरी २४ जना युवाहरुको मृत्यु भएको छ भने विदेशबाट स्वदेश फर्किएका युवाहरुको समेत नेपालमा मृत्यु भएको बोर्डले जनाएको छ । छ महिनाको अवधिमा स्वदेश फर्किएका २२ जना पुरुषको नेपालमा मृत्यु भएको छ ।

दक्षिण कोरियामा छ जना पुरुष, बहराइनमा तीन पुरुष र दुई महिला पाँच जना, जापानमा चार जना पुरुष, पोल्याण्डमा तीन जना पुरुष कामदारको मृत्यु भएको छ भने ओमानमा तीन जना पुरुष, अफगानिस्तानमा दुई जना पुरुष, जोर्डनमा एक पुरुष र एक महिला गरी दुई जना युवाहरुको मृत्यु भएको छ । त्यस्तै माल्दिभ्स, पोर्चुगल, टर्की, इजरायल र साइप्रसमा पनि १/१ जनाको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको क्रममा विकसित मुलुक जापान, युरोपियन मुलुक पोर्चुगल, पोल्याण्ड, टर्की, खाडी मुलुक साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, इजरायल, मलेसिया तथा स्वयं विदेशबाट घर आएका युवाहरुको नेपालमा समेत मृत्यु हुने गरेको बोर्डले जनाएको छ ।

चार सय बढी शव स्वदेश ल्याइयो : यस्तै चालू आवको छ महिनाको अवधिमा महिला र पुरुष गरेर चार सय ५१ जना युवाहरुको शव स्वदेश झिकाएको बोर्डले जनाएको छ । मृत्यु भएसँगै बोर्डले उद्धार तथा राहत गर्ने गरेको छ । बोर्डले सो समयमा ६९ पुरुष र चार महिला गरी ७३ जना युवाहरुको विभिन्न आठवटा मुलुकबाट शव स्वदेश झिकाएको जनाएको छ ।

जसमध्ये मलेसियामा १४ पुरुष र एक महिला गरी १५ जना, ओमानबाट दुई पुरुष र एक महिला गरी तीन जना, कुवेतमा दुई पुरुष र एक महिला गरी तीन जना, साउदीमा ३६ पुरुष र एक महिला गरी ३७ जना युवाहरुको शव ल्याइएको छ । कतारबाट ७, युएईबाट ६, जर्मनीबाट १ र दक्षिण कोरियाबाट एक जनाको शव नेपाल ल्याइएको बोर्डको भनाइ छ ।

सो समयमा विदेश गएका ३ सय ६९ पुरुष र ९ महिला गरी तीन सय ७८ जना युवाहरुको शव ढुवानी बोर्डले गरेको छ । यसमध्ये मलेसियाबाट एक सय ३३ पुरुष र एक जना महिला गरी एक सय ३४ जना, ओमानबाट चार पुरुष र एक महिलासहित पाँच जना, युएईबाट ५६ पुरुष र एक महिला गरी ५७ जना युवाहरुको शव ल्याइएको छ ।

इजरायल, साउदी साइप्रसलगायतका मुलुकबाट पुरुषको शव ढुवानी गरेको बोर्डले जनाएको छ । साउदीबाट ९३, कतारबाट ४७, दक्षिण कोरियाबाट पाँच, बहराइनबाट तीन, अफगानिस्तान दुई, साइप्रस दुई, कुवेत र जोर्डनबाट क्रमशः, एक/एक जना युवाको शव ढुवानी गरेको बोर्डले ब्रुनाई जेरुसेलम, इराक, पोल्याण्ड, पोर्चुगल, रसियन फेडरेसनबाट पनि एक/एक जना पुरुषको शव ढुवानी गरेको छ ।

बोर्डले आर्थिक सहायताअन्तर्गत विदेशमा मृत्यु भएकाको हकमा शव ढुवानीलगायतका विभिन्न आर्थिक सहयोग प्रदान गर्ने गर्दछ । सरकारले आर्थिक सहायता प्रदान गर्नुभन्दा पनि मृत्युलाई नै रोक्नतर्फ लाग्नुपर्ने सरोकारवालाहरु बताउँछन् । उनीहरुले विदेश गएका युवाहरुले काम गर्ने स्थान, सुरक्षाको प्रतिबद्धता, स्वास्थ्य, शारीरिक तथा मानसिक अवस्थाको प्रतिबद्धता, सेवा सुविधाको विषयमा ग्यारेन्टी गर्नुपर्ने बताउँछन् । यस्तै विदेश जाने युवाहरुले आफू जाने मुलुकको कानुन, संस्कृति, भौगोलिक, वातावरणलगायतको विषयमा जानकारी राखेर जाँदा उचित हुने उनीहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया