Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुस्ताङमा च्यांग्राको भुवा संकलन केन्द्र

मुस्ताङमा च्यांग्राको भुवा संकलन केन्द्र


लोमान्थाङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चापदार्थ च्यांग्राको भुवा संकलन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा तीन हजार किलो भुवा भण्डारण समेत गर्न सकिनेछ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआईपी) र नेपाल फाइबर प्रोसेसिङ उद्योग प्रालिको ५०/५० प्रतिशत लागत साझेदारीमा च्यांग्राको शरीरमा उत्पादन हुने भुवा संकलन गर्न भवन निर्माण भएको हो । कुल ३२ लाख रुपैयाँमा निर्माण भएको तीन हजार किलोग्राम भुवा भण्डारण गर्न सकिने तामक्रमलाई सन्तुलित बनाउने तीनकोठे प्रिफेक प्रविधिको भवनको शनिबार गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कृषकले च्यांग्राको शरीरबाट निकाल्ने भुवालाई सुरक्षित भण्डारण गरेर उद्योगसम्म पु-याउने उद्देश्यले संकलन केन्द्र निर्माण गरिएको कम्पनीका अध्यक्ष धनप्रसाद लामिछानेले बताए । ‘मंगोलिया र चीनबाट ल्याइने भुवाको विकल्पमा नेपालकै भुवाबाट पस्मिना बनाउन काठमाडौंमा प्रशोधन उद्योग स्थापनाको तयारी गरेका छौँ’, उनले भने, ‘कृषकले उत्पादन गरेको भुवाको खरिद गर्न संकलन केन्द्र बनाएका हौँ ।’

यसअघि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा अस्थायी संकलन केन्द्र स्थापना गरेर डोल्पाको गरी करिब एक करोड ५० लाख रुपैयाँ मूल्यबराबरको तीन हजार पाँच सय किलोग्राम भुवा खरिद गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक तथा कार्यक्रम संयोजक भीमप्रसाद शेरचनले स्थानीय तहसँग समन्वय गरेर च्यांग्रा तथा पश्मिना कृषक संघ गठन गर्दै भुवा निकाल्ने आधुनिक काइँयो वितरण र सीप सिकाउन ताजिकिस्तानबाट प्रशिक्षक ल्याएर कृषकहरूलाई तालिम दिइएको जानकारी दिए ।

कृषक छिरिङ वाङदी गुरुङ र आङगेल गुरुङले प्रविधि, सीप र बजार अभावमा च्यांग्राको शरीरबाट जंगलमा झरेर खेर गइरहेको भुवा संकलन गरी कृषकहरूले लाभ लिने वातावरण बनेको बताए । मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघका अध्यक्ष करन गुरुङले सीप, प्रविधि र बजार पाएपछि कृषकले भुवा संकलन गर्न थालेका सुनाए । संकलन केन्द्रको भवन उद्घाटन गर्दै प्रदेश सांसद विष्टले स्वादिष्ट मासुका लागि प्रसिद्ध मुस्ताङको च्यांग्राको भुवाबाट कृषकलाई अतिरिक्त लाभ हुने बताए ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फाल विष्टले च्यांग्राको संख्या बढाउन कृषकलाई व्यावसायिक च्यांग्रापालनप्रति प्रोत्साहन गरिने बताए । नेपाल लाइभस्टक सेक्टर परियोजनाका पशु चिकित्सक डा. प्रकाश अधिकारीले मासु र पश्मिनासम्बन्धी कार्यक्रमका लागि परियोजनाले २० करोड रुपैयाँ लगानी गरेको जानकारी दिए । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्यांग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ ।

नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँको पश्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पश्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट च्यांग्राको भुवा खरिद गर्न थालिएको सङ्घका उपाध्यक्षसमेत रहेका लामिछानेले बताए । ६५ हजार च्यांग्रा पालिएको मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने संघले जनाएको छ ।

वैशाख–जेठ महिना च्यांग्राको शरीरबाट भुवा निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्यांग्राको छाला र मल पनि बिक्री हुन्छ । मुस्ताङमा च्यांग्रापालन र भुवा संकलनलाई आधुनिक र व्यवस्थित बनाएर गुणस्तर बढाउन जोड दिइएको विश्व व्यापार संगठनका परामर्शदाता सिचन श्रेष्ठले बताए । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया