Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारको नीति तथा कार्यक्रम सकारात्मक र स्वागतयोग्य :  हस्तकला महासंघ

सरकारको नीति तथा कार्यक्रम सकारात्मक र स्वागतयोग्य :  हस्तकला महासंघ


काठमाडौं । हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सकरात्मक र स्वागतयोग्य रहेको बताएको छ ।

नीति तथा कार्यक्रममा उल्लेख भएका नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०७९/८० को नेपाल सरकारको बजेटमा हस्तकला क्षेत्रको समग्र विकासको लागि कार्यक्रमसहित बजेट विनियोजन हुने महासंघले अपेक्षा राखेको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गरी नीति तथा कार्यक्रममा उल्लेख भएका रोजगारमूलक, सीप विकास, सीप अभिवृद्धि र प्रविधि हस्तान्तरणसम्बन्धी तालिमहरू सञ्चालन गर्ने जिम्मेवारी महासंघलाई प्रदान गरिएमा परिणाममुखी प्रतिफल प्राप्त हुनेगरी कार्य सम्पादन गर्ने समेत उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रममा उल्लेख भएका हस्तकलाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनजस्ता कार्यक्रमहरूमा नेपाल सरकारसँग सहकार्य गर्न महासंघ सदैव तत्पर रहेको पनि जनाएको छ । हस्तकला क्षेत्रको दिगो र दीर्घकालीन विकासको लागि कोशेढुंगा साबित हुने हस्तकला ग्रामको स्थापना, महासंघले मस्यौदा तयार गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्तुत गरेको राष्ट्रिय हस्तकला विकास नीतिको कार्यान्वयन र सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना भई सञ्चालन गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण पूरा भइसक्दा पनि उक्त केन्द्रको सञ्चालन गर्ने सम्बन्धमा नीति तथा कार्यक्रम मौन रहनु भने दुःखद रहेको महासंघको भनाइ छ ।

यद्यपि नीति तथा कार्यक्रममा उल्लेख गरिएको उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने, आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गर्ने, निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्सान गर्ने तथा उद्योगको अग्रपृष्ठ र समानान्तर सम्बन्ध भएका क्षेत्रहरूमा थप आयआर्जन र रोजगारीका अवसर वृद्धि गर्ने नीतिलाई महासंघले स्वागत गरेको छ । यस्तै साना तथा मझौला उद्योगमा नवप्रवर्तन सीपमूलक रोजगारी वृद्धि, नेपाली उत्पादनको विस्तार, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनन गरी समुन्नत अर्थतन्त्रको विकास गर्न, ‘नेपाली उद्योग नेपालमै रोजगार आफ्नो उत्पादन आफ्नै व्यापार’ भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिनु सकरात्मक रहेको महासंघले उल्लेख गरेको छ ।

यस कार्यक्रमका लागि कर तथा भन्सार महशुलमा छुट र निर्यात अनुदानमार्फत समयबद्ध रणनीतिक प्रवर्द्धन गर्नुको साथै प्रतिस्पर्धी सीप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वाधार निर्माण र प्रयोग, नवीन प्रविधिमा पहुँच र आन्तरिकीकरण तथा प्रक्रियागत सरलीकरणलाई अविछिन्न रुपमा निरन्तरता दिइने, स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गरिने विषय स्वागतयोग्य रहेको महासंघले जनाएको छ ।

सार्वजनिक निकायको खरिदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लगिने, गुणस्तर तथा क्यालिब्रेसन प्रयोगशालाको आधुनिकीकरण र स्तरोन्नति गरी निर्यात गुणस्तरको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न पहल गर्ने, नवप्रवर्तनमा आधारित स्टार्टअप व्यवसाय स्थापना र सञ्चालनमा सहजीकरण गरी उद्यमशीलता निकास, बौद्धिक सम्पत्ति अधिकार संरक्षण, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास, वित्तीय पहुँच परम्परागत ज्ञान र सीपको आधुनिकीकरणमार्फत युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने नीतिको पनि महासंघले स्वागत गरेको छ ।

उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात प्रवर्द्धन गर्ने र यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युत् महशुलमा सहुलियत उपलब्ध गराइने, परम्परागत ज्ञान तथा मौलिक सीपमा आधारित लघु तथा घरेलु उद्योगलाई प्रविधि हस्तान्तरण तथा बजार संरक्षणमार्फत प्रवर्द्धन गरिने, मूर्त र अर्मूत सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गरी सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने नीतिको पनि महासंघले स्वागत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया