पर्यटन क्षेत्रको लागि नौ अर्ब ३८ करोड बजेट विनियोजन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रको लागि नौ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । अर्थमन्त्री शर्माले आइतबार संसद्मा बजेट प्रस्तुत गर्दै नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नको लागि उक्त बजेट छुट्याएको जानकारी दिए ।
यस्तै उनले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने तथा नेपालको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोको रूपमा विकास गरी नयाँ पुस्तालाई नेपाल भ्रमणको लागि आकर्षित गरिने उल्लेख गरे । ग्रामीण जीवन, विशेष प्राकृतिक स्थल तथा भिन्न प्रकारको संस्कृति एवं रहनसहन भएका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने अर्थमन्त्री शर्माले जानकारी दिए ।
यसैगरी कोभिड–१९ महामारीबाट प्रभावित होटललगायत पर्यटन क्षेत्र सम्बद्ध व्यवसायको आर्थिक वर्ष २०७९/ ८० को वार्षिक इजाजत र नवीकरण दस्तुर छुट दिने, पर्यटन क्षेत्रको पुनरूत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने, होटेल व्यवसायलाई नेपालमा उत्पादित खाद्यान्न, माछामासु, तरकारीलगायतका वस्तुहरू प्रयोग गर्न उत्प्रेरित गरिने, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको उत्खनन कार्यलाई निरन्तरता दिइने उनले बताए ।
साथै भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न दुई अर्ब रुपैयाँ बजेट छुट्याएको जानकारी दिए । पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिने तथा प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिल स्टेसनहरू विकास गर्न प्रोत्साहन गरिने उनको भनाइ छ । यस्तै उनले स्थानीय तहको लागत साझेदारीमा दुई सय १६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
यसैगरी आरोहणका लागि खुला गरिएका हिमालहरूको आधार शिविरसम्म जाने पदमार्गहरूको स्तरोन्नति गरि पदमार्गमा सञ्चार सुविधाको पहुँच विस्तार गर्न बजेट व्यवस्था गरेको उनले बताए । उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेलको निर्माणका लागि ३३ करोड विनियोजन गरिएको छ ।
भारत र चीनबाट पर्यटक आगमन वृद्धि गर्न सीमावर्ती सहर, ठूला सहर र शैक्षिक संस्थाहरूमा पर्यटन मेला तथा रोड शोजस्ता विशेष कार्यक्रमहरू नेपाल पर्यटन बोर्डमार्फत सञ्चालन गरिने, सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरूको साहसिक पहिचान झल्किने संग्रहालय स्थापना गरिने, पाँच सय वर्षभन्दा पुराना हिमाली गुम्बाहरूको संरक्षणको लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गरिने, काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एक नेवाः संग्र्रहालय स्थापना गर्ने, पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने पनि बताए ।
प्रमुख पर्यटकीय गन्तव्यसम्मको यात्रा सहज बनाउन मुगु, मनाङ, मुस्ताङ र सोलुखुम्बुजस्ता पर्यटकीय क्षेत्रको सडक स्तरोन्नतिको लागि बजेट व्यवस्था गरिएको छ भने पर्यटकीय गन्तव्यहरूमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकल लेन, निःशुल्क इन्टरनेटलगायतको सुविधा उपलब्ध गराउने प्रबन्ध गरेको अर्थमन्त्री शर्माले बताए ।
सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गर्नुका साथै निजी क्षेत्रमार्फत चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गरी दुई घण्टामा सगरमाथा क्षेत्रमा पुगी सगरमाथा अवलोकन गर्न सक्नेगरी पूर्वाधार निर्माण गर्ने, मुक्तिनाथ र उपल्लो मुस्ताङलाई जोडने सडक स्तरोन्नति गर्ने, वीरेठाँटी– मुक्तिनाथ केवलकार पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया