Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्रम मन्त्रालयको पुनः एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

श्रम मन्त्रालयको पुनः एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान


काठमाडौं । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ईपीएसमार्फत कोरिया गई फर्किएका नेपालीहरूको लागि सञ्चालन हुने परियोजनाको लागि करिब ९६ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कोइकाले उपलब्ध गराएको उक्त रकम सम्बद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनः एकीकरणसम्बन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरूको उद्यमशीलतासम्बन्धी क्षमता अभिवृद्धि र वित्तीय पहुँचमा खर्च हुने बताइएको छ । उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आबद्ध भई सञ्चालन हुनेछ ।

कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरू ईपीएसमार्फत गएका छन् । उनीहरू स्वदेश फर्किएपछि पुनः एकीकरण र सीपमूलक तालिमका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले सहयोग उपलब्ध गराएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आठ मिलियन अमेरिकी डलर अर्थात् करिब ९६ करोड रुपैयाँ सहयोग प्रदान गरेकोमा कोइकालाई धन्यवाद दिए ।

मन्त्री श्रेष्ठ र कोइकाका नेपाल देशीय निर्देशक सुङहुनको बीच भएको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान सञ्चालन गर्ने सरकारको योजना रहेको बताउँँदै कोरिया सरकारसँग सहकार्यको लागि इच्छुक रहेको उल्लेख गरे । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीबाट करारअवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती, लुम्बिनमा पूर्वाधार निर्माण गर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया