Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबायोमेट्रिक स्वास्थ्य परीक्षणमा भएको ठगी समिति र मन्त्रीकहाँ पुग्यो

बायोमेट्रिक स्वास्थ्य परीक्षणमा भएको ठगी समिति र मन्त्रीकहाँ पुग्यो


काठमाडौं । स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष एवं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काले चलाएको ठगीको विषय प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा प्रवेश पाएको छ । तर, समितिले यो विषयलाई बैठकमा छलफल भने सुरु गरिसकेको छैन ।

वैदेशिक रोजगार संघले खड्काले लगातार ठगी गर्न थालेपछि श्रम समिति र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी सो कुरा उठाएका हुन् । काठमाडौं–मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्काले मलेसिया जाने कामदारको नेपालमा स्वास्थ्य परीक्षण गरे पनी मलेसियामा अनलाइन नगरिदिएपछि रोजगारीमा जान लागेका हजारौँ कामदार र वैदेशिक रोजगार व्यवसायी समस्यामा परेका थिए ।

समस्यामा परेका वैदेशिक रोजगार व्यवसायीहरु र यससँग सरोकार राख्ने संघ/संस्थाहरुले समिति र श्रममन्त्री श्रेष्ठलाई भेट गरी मलेसिया रोजगारीमा मेडिकलको समस्या र अन्य वैदेशिक रोजगारको समस्याको बारेमा छलफल गरेका थिए । उनीहरुले मलेसिया रोजगारीमा मेडिकलको समस्या, वैदेशिक रोजगार व्यवसायीले लिने सेवाशुल्क, संख्या १०० को समस्या, युरोप जाने कामदारको भिसा समस्या, राजदूतावासमा मागपत्र प्रमाणीकरण समस्या लगायतबारे जानकारी गराएको संघका संयोजक बिमल ढकालले बताए ।

संघको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले श्रम समितिका सभापति विमल श्रीवास्तव, वैदेशिक रोजगारका समस्या अध्ययन गर्न गठित उपसमितिका संयोजक एलपी सावाँ लिम्बु र समितिका अन्य सांसदहरुसँग छलफल गरी विविध समस्याको समाधानको लागि पहल गरिदिन समितिसमक्ष अनुरोध गरेको छ ।

ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मलेसिया रोजगारीमा हाल देखिएको मेडिकल समस्याका बारेमा जानकारी गराउँदै मेडिकल गरिएका कामदार र मेनपावर व्यवसायीलाई दुःख दिएको, पुनः मेडिकल गर्दा खर्च कसले व्यहोर्नेलगायतको विषयमा कुरा उठाएको थियो भने यसप्रकारको समस्या तत्काल समाधान गर्नुपर्ने संघका सदस्य प्रज्ञान न्यौपानेले बताए । न्यौपानेले वैदेशिक रोजगार व्यवसायी र कामदारलाई अनावश्यक दुःख दिने कैलाश खड्कालाई तत्काल कारबाहीको माग गरेका छन् । केही दिनपहिले महासंघका अध्यक्ष एवं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार खड्काविरुद्ध ठगी तथा राजस्व छलीको आरोपमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, कम्पनी रजिस्ट्रार, नेपाल प्रहरी अपराध महाशाखालगायतमा उजुरी समेत परेको थियो ।

खड्काविरुद्ध महासंघका पूर्वमहासचिव, कोषाध्यक्ष एवं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका सञ्चालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य व्यवसायीहरु र देशलाई करोडौँ ठगी गरेको भन्दै विभिन्न निकायमा उजुरी दर्ता गराएका थिए ।
निवेदकहरुले कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ७० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको दाबी गरेका छन् । ७० हजार कामदारसँग व्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिव्यक्ति सात हजार छ सय ६४ रुपैयाँ शुल्क लिने गरेका थिए । त्यसमा स्वास्थ्य परीक्षणबापत चार हजार पाँच सय रुपैयाँ र तीन हजार एक सय ६४ रुपैयाँ मेडिकल गराएबापत मलेसियालाई दिनुपर्ने कमिसन शुल्क भनेर उठाउने गरिएको छ ।

भट्टराईले जबर्जस्ती बायोमेडिकलबाट तीन हजार एक सय ६४ रुपैयाँ उठाई मलेसिया पठाउन करिब ६० हजार मेडिकलको ३६ स्वास्थ्य संस्थाबाट म्याक्रो टेक प्रालिको सनराइज बैंक, गैरीधारा, मेघा बैंक, कलंकी र एनसीसी बैंकमा जम्मा भएको १८ करोड ९८ लाख ४० हजार रकम मलेसिया पठाउने तयारीमा रहेको हुँदा हाल देशमा रकम अभाव भएको विषम परिस्थितिमा नियमसंगत रुपमा हेर्दा उक्त रकम मलेसिया पठाउन नपर्ने राष्ट्र बैंक र अर्थ मन्त्रालयको निवेदनमा उल्लेख गरेका छन् । भट्टराईले आफू सञ्चालक भएको सो कम्पनीबाट उक्त रकम पठाउन आफू पूर्ण असहमत भएको जनाउँदै आफू सेयर होल्डरको कुनै वास्ता नगरी जबर्जस्ती पठाउन जम्मा गरेको उक्त रकम तत्काल रोक्का गरी निजलाई कारबाही गरी अनावश्यक रूपमा मलेसिया पठाउन लागेको रकम रोक्का गरिदिनुहुन अर्थमन्त्री समेतलाई अनुरोध गरेका छन् ।

हाल मलेसियाको लागि नेपालमा हजारौँको मेडिकल गरिए पनि धेरैको मलेसियामा इन्ट्री नगरिएको मेनपावर व्यवसायीहरुले बताएका छन् । उनीहरुले महिनौँ पहिले नै मेडिकल गर्दा कैलाश खड्काको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने कार्यालयले अनलाइन नगरिदिएपछि समस्या परेको बताए । पीडित व्यवसायीहरुले यसरी कामदारलाई दुःख दिने कैलाश खड्कालाई तत्काल कारबाही गर्नुपर्ने बताए । उनीहरुले स्वास्थ्य व्यवसायीले पुनः दोहोरो मेडिकल गराउन अनलाइन नगरी कृत्रिम समस्या उब्जाएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया