Techie IT
×
गृहपृष्ठसमाचारप्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्य फेरबदल

प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्य फेरबदल


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरू फेरबदल र पदस्थापन भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्यहरूको चयन र मातहतका संसदीय समितिमा सदस्यको छनोट र फेरबदल गरेका हुन् ।

सोही क्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य भएका छन् भने एमाले नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली पनि अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सांसदहरूको छनोट र संसदीय दलले पठाएको नामअनुसार सभामुखले समितिमा राखेका हुन् । ओलीको रुचिअनुरुप नै उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राखिएको हो । प्रमुख प्रतिपक्षी दलका नेता भएपछि उनलाई सभामुखले अन्तर्राष्ट्रिय सम्बन्ध समिति छनोट गरेका हुन् ।

यसअघि ओली प्रधानमन्त्री भएकाले संसदीय समितिमा सांसदका रूपमा थिएनन् । अध्यक्ष ओलीले २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितपछि प्रधानमन्त्री भएका कारण उनी कुनै पनि संसदीय समितिमा सदस्य रहेका थिएनन् । प्रधानमन्त्री सबै समितिमा पदेन सदस्य हुने व्यवस्था छ । तर, प्रधानमन्त्री पदमा रहेसम्म ओलीले संसदीय समितिमा उपस्थिति जनाएका थिएनन् ।

सभामुखका अनुसार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा एमालेका नेताद्वय शिवमाया तुम्वाहाम्फे र गणेशसिंह ठगुन्ना सदस्य भएका छन् । त्यस्तै, प्रतिनिधि सभाको अर्थ समितिमा एमाले नेताद्वय विष्णु पौडेल, हृदयेश त्रिपाठी र कांग्रेस नेता मीनेन्द्र रिजाल सदस्य रहेका छन् । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, कृष्णभक्त पोखरेल, खगराज अधिकारी र शेरबहादुर तामाङ रहेका छन् ।

यता प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एमाले नेताहरु क्रमशः लिलानाथ श्रेष्ठ, नवराज राउत, जुली महतो सदस्य रहेका छन् । कार्यव्यवस्थामा कांग्रेसका सचेतक पुष्पा भुसाल, राजेन्द्र केसी र बहादुरसिहं लामा तामाङ रहेका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रामकुमारी चौधरी र रेखा शर्मा, एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ, जसापका प्रमोद साह र लोसपाका उमाशंकर अरगरिया कार्यव्यवस्था परामर्श समितिमा रहेका छन् ।

विकास तथा प्रविधि समितिमा एमाले नेताहरु वसन्त नेम्वाङ, पद्मा अर्याल, शिक्षा तथा स्वास्थ्य समितिमा जगत सुनुवार सदस्य रहेका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिमा भानुभक्त ढकाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पार्वत गुरुङ र राज्यव्यवस्था तथा सुशासन समितिमा कृष्णगोपाल श्रेष्ठ सदस्य रहेका छन् ।

ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सांसदहरूको मंगलबार समिति निश्चित गरिएको हो । यसअघि उनिहरू कुनै पनि संसदीय समितिमा थिएनन् । संसदीय समितिमा प्रतिनिधिसभामा सभामुखले सदस्य चयन गर्ने अभ्यास र व्यवस्था रहेको छ । समिति सदस्यहरु हेरफेरको क्रममा उमाशंकर अरगरिया कानुन समितिबाट उद्योग समिति, विमला विक महिला समितिबाट कानुन समिति, रामकुमारी चौधरी कानुन समितिबाट कृषि समिति, खगराज अधिकारी शिक्षा समितिबाट राज्यव्यवस्था समिति, शक्ति बस्नेत कृषि समितिबाट राज्यव्यवस्था समितिमा फेरबदल गरिएको छ ।

त्यस्तै हरिराज अधिकारी अर्थ समितिबाट राज्यव्यवस्था समिति, शान्ता चौधरी कृषि, समितिबाट विकास समिति, विद्या भट्टराई शिक्षा समितिबाट विकास समिति र दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समितिमा फेरबदल गरिएको छ । राजनीतिक पार्टीका संसदीय दलले पठाएको विवरणअनुरुप र सांसदहरुको छनौट अनुरुप सभामुख सापकोटाले समिति सदस्यहरु छनौट गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया