Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभक्तपुरको सुडालमा सरकारी जग्गा किर्ते गरेको भनिएको प्रकरण :

भक्तपुरको सुडालमा सरकारी जग्गा किर्ते गरेको भनिएको प्रकरण :

व्यक्तिको उक्साहटमा करोडौँ रुपैयाँ कुम्ल्याउने योजना, प्रशासनलाई गुमराहमा पारी दुरुपयोग


सुरेश काठमाडौं । काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले यही जेठ १३ गते शुक्रबार सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा दुई जना पाका व्यक्तिहरुलाई पक्राउ ग-यो । पक्राउ पर्नेहरुमा एक जना भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी रहेका थिए भने अर्का व्यक्ति भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु रहेका थिए ।

उक्त कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार ७२ वर्षीय केशव प्रसाद अधिकारी समेतले भक्तपुर साबिक सुडाल गाविस–४ ‘क’मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गाधनीसँग अनुमति नलिई अनुमति लिएको छौँ भनी झुक्याउनुका साथै कित्ता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैनाबापत पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको भन्ने खबर कार्यालयमा आएको थियो । उक्त खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका–१० मालपोत गेटबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई उक्त कार्यालयले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

पक्राउ परेका दुई जनामध्ये एक जना ७२ वर्षीय अधिकारी अहिले कमजोर स्वास्थ्यका कारण अस्पतालमा भर्ना भएका छन् । राप्रपाका भक्तपुर जिल्लाका कोषाध्यक्ष समेत रहेका अधिकारीलाई प्रहरीले निकै हतास र केही स्वार्थप्रेरित व्यक्तिहरुको उक्साहटमा दुई दिन लगातार सार्वजनिक विदा हुने अघिल्लो दिन पक्राउ गरेको पारिवारिक स्रोतले बताएको छ । प्रहरीले सरकारी जग्गा किर्ते समेत गरेको आधारमा पक्राउ गरेको भनी ७२ वर्षीय वृद्धको फोटो नै सार्वजनिक गरेर सामाजिक प्रतिष्ठामा नै असर पर्ने गरी विज्ञप्ति जारी गरेको भन्दै पारिवारिक स्रोतले दुःखेसो व्यक्त गरेको छ । तर उक्त घटना भने विज्ञप्तिमा उल्लेख भएअनुसार नभएको पारिवारिक स्रोतले दाबी गरेको छ । प्रहरीले सार्वजनिक गरेको सुडाल गाविस ४ ‘क’को ३९९ नम्बर कित्ता जग्गा सार्वजनिक भएको उल्लेख गरी उक्त जग्गा बिक्रीका लागि बैना गरी ठगी गरेको आरोपमा अधिकारी र गाइजूलाई पक्राउ गरेको हो । तर उक्त जग्गा पहिला व्यक्तिको भएको र केही समयअघि मात्र नेपाल सरकारको नाउँमा भक्तपुर मालपोत कार्यालयमा दर्ता भएको जानकारी स्वयं भक्तपुर मालपोतले दिएको छ । भक्तपुर मालपोतका अनुसार सार्वजनिक भनिएको साबिकको सुडाल गाविस ४ ‘क’को ३९९ नम्बर को जग्गा वि.सं. २०७८ पुस २३ गते मात्र नेपाल सरकारको नाउँमा कायम भएको हो ।

पारिवारिक स्रोतका अनुसार जुन समयमा उक्त जग्गा किनबेच भयो त्यो समयमा कि.नं. ३९९ को जग्गा व्यक्तिको नाउँमा नै रहेको थियो । अंशबण्डाको क्रममा कि.नं. ३९९ को जग्गा हाल नगरपालिकाको बन्दै गरेको फास्ट ट्रयाकमा परेको जग्गा हो । उक्त जग्गा बाटोको मापदण्डमा पूरै जाने भएपछि जग्गाधनी कृष्ण बहादुर ढुकुछुको नामबाट बाटो कायम भई सार्वजनिक जग्गा भएको देखिएको छ । पारिवारिक स्रोत र उक्त जग्गासम्बन्धी प्राप्त कागजातअनुसार बाटोमा पर्ने भएपछि उक्त जग्गा नेपाल सरकारको नाममा गएको खुले पनि उक्त जग्गा २०७७ चैत ३० गते जाहेरीवाला खोटाङको बुइपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बस्ने धनिराम राई र रुप सुन्दर चामलिङलाई बैना गर्दा व्यक्तिको नाममा नै रहेको जिल्ला मालपोत कार्यालय भक्तपुरबाट प्राप्त कागजातहरुबाट खुलेको छ ।

उक्त जग्गा लेनदेनसम्बन्धी जाहेरीवाला र पक्राउ परेका अधिकारीको बीचमा भएको सम्झौतापत्रअनुसार राई र चामलिङले छ महिनाको भाखा राखेर २०७७ चैत ३० गते उक्त जग्गा खरिद बिक्रीको लागि बैनापट्टा गरिएको देखिएको छ । बैना गरेको निकै लामो समयसम्म पनि जाहेरीवाला राई समूहले उक्त जग्गा खरिद गर्न नसकेको र बैनाको लागि दिएको चेक समेत बाउन्स भएपछि जग्गा खरिदबिक्रीको विषयमा दुवै पक्षबीच सामान्य विवाद भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । बैनाबापतको रकम निकाल्न नपाए पनि अधिकारी समूह कारोबारमा मनमुटाव हुन सक्छन्, आपसी समझादारीमा नै सुल्झाउनुपर्छ भन्दै चेक बाउन्स हुँदा समेत मुद्दामामिलालगायतका कानुनी प्रक्रियामा गएको थिएन ।

छ महिनासम्म राई समूहले जग्गापास गर्न नसकेर पटक–पटक भाखा सार्दै गएको पारिवारिक स्रोतले बताएको छ । त्यसो गर्दा जग्गा खरिदको लागि विभिन्न सहकारी संस्थाबाट लिएको कर्जाको ब्याज समेत बढ्दै गएको र उक्त ब्याज थेग्नै नसक्ने भएपछि अधिकारी समूहले उक्त जग्गा अर्कै समूहलाई बिक्री गरेको थियो । पछि दोस्रो समूह जसले उक्त जग्गा खरिद ग-यो । त्यो समूहले उक्त जग्गालाई विकसित घडेरीको रुपमा विकास ग-यो । तर यसरी विकास गर्दा कि.नं. ३९९ को पूरै कित्ता जग्गा बाटोमा पर्ने भएपछि उक्त जग्गा नेपाल सरकारको नाउँमा वि.सं. २०७८ पुस २३ गते कायम भएको देखिएको छ ।

अनि सुरु भयो राई र अधिकारी समूहबीच विवाद
राई समूहले जग्गा बैना गरे पनि किन्न नसकेको र लामो समयसम्म जग्गा होल्ड मात्र गरी झुलाएको पारिवारिक स्रोतले बताएको छ । उक्त समूहले बैनाबापत दिएको चेक पनि बाउन्स भएपछि अधिकारी समूहले उक्त जग्गा अर्को समूहलाई बिक्री गरेको हो । त्यसपछि अधिकारी समूहले राई समूहलाई बैनाबापत पहिला दिएको सबै रकम दिएको भए पनि उक्त समूहले रकम लिन नमानेको र प्लानिङको आधा हिस्सा नै चाहियो भनेर अनेकौँ मुद्दा मामिलामा गएको पारिवारिक स्रोतको दाबी छ ।

अदालतले पनि राई समूहले लगानी गरेको तीन करोडको मात्र हिस्सा दिलाउने देखेपछि राई समूहले अधिकारीलगायत अन्य छ जनालाई मुद्दा नै नलाग्ने विषयमा प्रशासनका केही उच्च व्यक्तिहरु समेतलाई गुमराहमा पारेर पक्राउ गर्न सफल भएको पारिवारिक स्रोतले बताएको छ ।

सो विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले भने उक्त प्रकरणको विषयमा अहिले भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेकाले आपूmले त्यसबारे केही कुरा बोल्न नमिल्ने बताए । ‘जहाँसम्म पक्राउको कुरा छ, हामीले जाहेरीको आधारमा आएको प्रमाण र अदालतको आदेशअनुसार पक्राउ गरेका हौँ, त्यतिबेलाको कागजातमा पनि त्यही थियो । हामीले पनि पछि मिडियामा आएपछि मात्र उक्त जग्गा पहिला व्यक्तिको नाउँमा नै रहेको र पछि मात्र सरकारी नाउँमा गएका थाहा पायौँ’, प्रहरी उपरीक्षक कोइरालाले भने । 

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार फरार प्रतिवादी लक्ष्मी सापकोटा मंगलबार र कृष्णभक्त मानन्धरलाई सोमबार फरक–फरक स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये भक्तपुर नगरपालिका–८ लिवाली बस्ने रामेछाप सुनापाती गाउँपालिका–५ ठेगाना भएका ४६ वर्षीय कृष्णभक्त मानन्धरलाई सोमबार पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७८ पुस २ गतेको फैसलाले तीन दिन कैद र नौ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरी फरार रहेका उनलाई सीआईबीबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ नालाबाट पक्राउ गरेको जानकारी दिएको छ ।

मानन्धरले २०७७ मंसिर १८ गते आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी एनआईसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडमा रहेको खाताहरुबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो । उनीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।

Open photo

यसैगरी फरार प्रतिवादी गोरखाको पालुङटार नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. १ रानीवन बस्ने ५१ वर्षीय लक्ष्मी सापकोटालाई बैंकिङ कसुरको आधारमा पक्राउ गरिएको हो । सापकोटाले नेपाल बंगलादेश बैंक लिमिटेड मैतीदेवी शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरका मुद्दामा २०७८ पुस २ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा पाँच दिन कैद र १२ लाख रुपैंयाँ जरिवाना हुने ठहर गरेको थियो ।

सो पश्चात् फरार रहेकी सापकोटालाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेकी सापकोटालाई सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया