Techie IT
×
गृहपृष्ठसमाचारवैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै पाँच करोड ठगी

वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै पाँच करोड ठगी


काठमाडौं । वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीहरूले एक महिनाको अवधिमा नै पाँच करोड रुपैयाँ ठगी गरेको पाइएको छ । पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका संस्थाले नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौँ रकम असुल्ने गरेको समेत पाइएको छ ।

कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरी सञ्चालक फरार हुने गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । विभागले हालै इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले एक सय ४४ जनाबाट साढे चार करोड उठाएपछि वैदेशिक रोजगार न्ययाधीकरणका मुद्दा दायर गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेका मध्ये हाल तीनवटाको मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा दायर गरिएको जानकारी दिए । एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगतसहित पछिल्लो महिनामा मात्र चार करोड ९३ लाखको दाबी र सोको हर्जनासहित सात करोड रुपैयाँबराबरको मुद्दा दायर गरिएको उनको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्लो समय कन्सल्टेन्सीका नाममा ठगी बढेको बताउँदै यसको नियन्त्रणका लागि शिक्षा मन्त्रालयलगायत निकायसँग समन्वयन गरी शैक्षिक परामर्श संस्थाको नियमनमा कडाइ गरिने बताए । यस्तै उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने जानकारी दिए । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित विभागको आकस्मिक अनुगमन गर्न पुगेका उनले ठगीमा परी उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन समेत दिए । यस्तै उनले मेनपावर कम्पनीको दर्ता, नवीकरण, कामदार पठाउन पाउने सीमा, धरौटी रकम, बैंक ग्यारेन्टी, कारबाही, फुकुवा तथा अन्य जानकारीलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए ।

मेनपावरले श्रमिक विदेश पठाउन सक्ने क्षमताका आधारमा धरौटी रकमलाई पुनर्मूल्यांकन गर्ने समयन्त्रलाई समेत सुधार गरिने उनको भनाइ छ । धरौटी रकमका आधारमा उजुरीकर्तालाई रकम फिर्ता गर्न नसक्ने अवस्था भए पनि मेनपावरले राखेको बैंक ग्यारेन्टीलाई द्रुत प्रयोग गरी श्रमिकलाई रकम फिर्ता दिन उनले विभागका कर्मचारीहरूलाई निर्देशन दिए । सचिव अर्यालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन अनलाइन प्रणालीमा लैजान बाँकी रहेका सेवालाई समेत प्रविधिमैत्री बनाउन निर्देशन दिए ।

अनुगमनका क्रममा मन्त्रीले श्रेष्ठले गोरखा जिल्ला स्वारा गाविस वाड नं. १ हाल परिवर्तित बारपाक सुलिकोट गाउँपालिका ३ बस्ने निशान बगालेले ठगीविरुद्ध दिएको उजुरीविरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन समेत दिए । पीडित बगालेलाई वैदेशिक रोजगारीको लागि मासिक एक हजार डलर तलब रकम हुने होटलसम्बन्धीको काममा अष्ट्रेलिया देश पठाइदिने जनाउँदै काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं ६ बस्ने हरिशरण खडकाले १० लाख रुपैयाँ लिएका थिए । पीडित बगालेले दिएको उजुरी सम्बन्धमा विभागले बिहीबार नै कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया