Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवर्षात्का बाबजुद गण्डकी प्रदेशको कृषि उत्पादन १.९ प्रतिशतले वृद्धि

वर्षात्का बाबजुद गण्डकी प्रदेशको कृषि उत्पादन १.९ प्रतिशतले वृद्धि


काठमाडौं । गण्डकी प्रदेशमा मौसम प्रतिकूलताको बाबजुद कृषि उत्पादन एक दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को प्रथम अर्धवाािर्षक अवधिमा मौसम प्रतिकूलताको बाबजुद कृषि उत्पादन एक दशमलव नौ प्रतिशतले वृद्धि र उद्योगको क्षमता उपयोग ४२ दशमलव सात प्रतिशत पुगेको राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कृषि उत्पादन एक दशमलव आठ प्रतिशतले वृद्धि र उद्योगको क्षमता उपयोग ३८ दशमलव नौ प्रतिशत थियो ।

गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार समीक्षा अवधिमा खाद्य तथा अन्य बाली १२ लाख ५१ हजार दुई सय २० मेट्रिक टन, तराकराी तथा बागवानी दुई लाख ८२ हजार एक सय ९९ सय मेट्रिक टन, फलफूल तथा मसला एक लाख ८० हजार नौ सय ७५ हजार मेट्रिक टन उत्पादन भएको छ ।

गण्डकी प्रदेशमा प्रमुख खाद्य तथा अन्नबालीको उत्पादनमध्ये गोरखा, तनहुँ, नवलपरासी पूर्व र स्याङ्जा गरी चार जिल्लाको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । त्यस्तै, तरकारी तथा बागवानीतर्फ कास्की, लमजुङ, तनहुँ र स्याङ्जा गरी चार जिल्लाको योगदान ६८ प्रतिशत छ । फलफूल तथा मसलाबालीतर्फ पनि बढी उत्पादन भएका जिल्लाहरुमा स्याङ्जा तनहुँ र नवलपरासी पूर्व रहेका छन् ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्त्यतिर परेको बेमौसमी वर्षाको कारण विभिन्न कृषि उत्पादनमा क्षति पुगेकोले कृषि उपजले ढाकेको क्षेत्रफल तीन दशमलव आठ प्रतिशतले वृद्धि भए पनि कृषि उत्पादनमा एक दशमलव नौ प्रतिशतले मात्र वृद्धि भएको प्रतिवेदनमा भनिएको छ । समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा दुई दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा दुई दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा प्रमुख बालीहरु फापर, मकै, धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । उक्त बालीहरुको उत्पादनमा क्रमशः आठ दशमलव पाँच प्रतिशत, पाँच दशमलव एक प्रतिशत, दुई दशमलव तीन प्रतिशत र दुई प्रतिशतले वृद्धि भएको छ । अर्कोतर्फ भटमास र दलहनको उत्पादन भने क्रमशः सात दशमलव पाँच प्रतिशत र दुई दशमलव सात प्रतिशतले घटेको छ ।

गण्डकी प्रदेशमा खाद्य तथा अन्य बालीको कुल उत्पादनमध्ये मकैको अंश ३७ दशमलव एक प्रतिशत, धानको अंश ३२ दशमलव पाँच प्रतिशत र आलु उत्पादनको अंश १७ दशमलव सात प्रतिशत रहेको छ ।

गत वर्षको पहिलो छ महिनाका तरकारी तथा बागवानीको उत्पादन आठ दशमलव एक प्रतिशतले बढेकोमा समीक्षा अवधिमा यस्तो उत्पादन एक दशमलव एक प्रतिशतले मात्र वृद्धि भएको छ । समीक्षा अवधिमा तरकारी खेती गरिएको क्षेत्रफलमा चार दशमलव छ प्रतिशतले ह्रास आएका कारण यसको उत्पादनको वृद्धिदरमा समेत कमी आएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को पहिलो अर्धवार्षिक अवधिमा फलफूल तथा मसलाजन्य बालीको उत्पादनमा दुई दशमलव पाँच प्रतिशतले ह्रास आएको छ, यसमध्ये सुन्तला, आँप र अन्य फलफूलको उत्पादन क्रमशः नौ दशमलव सात प्रतिशत, दुई दशमलव एक प्रतिशत र छ दशमलव एक प्रतिशतले कमी आएको छ । यस वर्ष परेको वर्षाका कारण सुन्तला, आँपलगायतका फलफूलमा क्षति पुगेको कारण फलफूलजन्य उत्पादनमा कमी आएको देखिन्छ ।

समीक्षा अवधिमा केरा र स्याउको उत्पादन भने क्रमशः पाँच दशमलव आठ प्रतिशत र पाँच दशमलव सात प्रतिशतले वृद्धि भएको छ । मनाङ, मुस्ताङमा यातायात सुविधा सहज हुँदै गएको र उक्त क्षेत्रको स्याउको माग समेत बढेको कारण व्यावसायिक स्याउ खेतीतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । म्याग्दीमा केरा खेतीको नयाँ पकेट क्षेत्र स्थापना भएकाले स्याउ र केराको उत्पादनमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को प्रथम अर्धवार्षिक अवधिसम्ममा गण्डकी प्रदेशमा प्रमुख कृषि बालीहरुले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३.८ प्रतिशतले वृद्धि भई चार लाख ५२ हजार तीन सय ९० हेक्टर भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १.३ प्रतिशतले वृद्धि भएको थियो ।

यस प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८९ प्रतिशत प्रमुख खाद्य तथा अन्नबाली, पाँच प्रतिशत तरकारी तथा बागवानी र छ प्रतिशत फलफूल तथा मसला लगाइएको क्षेत्रफल रहेको छ । कोरोना महामारी समस्या क्रमशः समाधान हुँदै गएकोले यातायात, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत सेवा क्षेत्रको गतिविधि समेत उल्लेख्य रुपमा विस्तार हुँदै गएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया