Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी उपमन्त्री उज्रा जेयाको नेपाल भ्रमणमा लुकेको यथार्थ

अमेरिकी उपमन्त्री उज्रा जेयाको नेपाल भ्रमणमा लुकेको यथार्थ


काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार हेर्ने उपमन्त्री एवं तिब्बती मामिला हेर्ने अमेरिकी विशेष संयोजक उज्रा जेयाको गत ६ देखि भएको तीन दिने नेपाल भ्रमणमा नेपालको पुरानो कूटनीतिक मर्यादा, परम्परा र मान्यतालाई पूरै उल्ट्याउने क्रियाकलाप भएको छ ।

उक्त टोलीमा अमेरिकी उपमन्त्री जेया, एसियाका लागि यूएसएआईडीका उपसहायक प्रशासक अन्जली कौर, विशेष सहयोगी रायन फयोरेसी र रेचेल स्मिथ थिए । जेठ ६ गते शुक्रबार उनीलाई स्वागत गर्न अमेरिकी राजदूत ¥यान्डी बेरी, सहायक राजदूतलगायत निर्वासित तिब्बती सरकारका सांसद रत्सा सोनाम नोर्वु र सेर्ता तासी दोन्डुपसहितको टोली नै उपस्थित थियो ।

त्यहाँबाट सोझै अमेरिकी दूतावास पुगेको उपमन्त्री जेयाको टोलीले आवश्यक छलफल गरी राजदूत -यान्डी बेरीले तयार पारेकोे कार्यतालिका फेरबदल गरेको थियो र तिब्बती शरणार्थीसम्बन्धी भेटघाटपछि मात्रै सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने गरी कार्यक्रम संशोधन गरिएको थियो ।

सो साँझ अमेरिकी राजदूत बेरीले उपमन्त्री जेयाको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । त्यसमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, पूर्वसभामुख ओनसरी घर्ती, महिला मन्त्रालयका सहसचिव लक्ष्मी बस्नेत, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, आइजी सचिवालयकी एसएसपी किरण बज्राचार्य, राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेल, पूर्वमन्त्री करिमा बेगम, संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका नेपाल प्रतिनिधि अलेन, यूएसएआईडी नेपाल मिसनका निर्देशक सेयिदेह किभनसाद, संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) का मिसन प्रमुख लोरेना ल्यान्डो, निर्वासित तिब्बती सरकारका सांसद रत्सा सोनाम नोर्वु, सेता तासी ढोनडुपलगायतको सहभागिता थियो ।

त्यसपछि अमेरिकी दूतावासमा विशेष भेटवार्ता तथा इन्टरनेशनल ओमन फर क्यारिभर अवार्ड (ईडव्लुओसी) कार्यक्रम राति अबेरसम्म चलेको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी डा. आरजु देउवा, भूमिका श्रेष्ठ, मुस्कान खातुनलगायतको उपस्थिति थियो ।

त्यसको भोलिपल्ट भ्रमणको दोस्रो दिन उपमन्त्री जेयाको भ्रमण टोलीले बिहान नै मिलेनियम च्यालेन्जस कर्पोरेसन (एमसीसी) रेसिडेन्ट कन्ट्री डाइरेक्टर ट्राय ई. कोफ्रोथ र एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टसँग विशेष भेटवार्ता गरेको थियो । उक्त विशेष भेटवार्ता सकिएपछि त्यसमा अमेरिकी राजदूत बेरी, दूतावासका प्रतिनिधि, वाणिज्य विभागका प्रतिनिधि तथा पश्चिमा राष्ट्रका मिसन प्रमुखहरु थपिएर लामो समयसम्म छलफल चलेको थियो ।

उक्त कार्यक्रम सकिएपछि उपमन्त्री जेयाको टोली जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा पुगेको थियो । नेपाल प्रहरीको सुरक्षा घेराभित्र रहेर उक्त टोली शरणार्थी शिविरमा पुगेको थियो । त्यहाँ उपमन्त्री जेयाको टोलीले तिब्बती शरणार्थी शिविरका प्रमुख छेतेन तासी, पूर्वप्रमुख कर्मा दावा, स्वयम्भू ठूलो भ¥याङस्थित नाम्गेल मिडलका लागि निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको प्रतिनिधि सुल्त्रिम ग्यात्सो, निर्वासित तिब्बती सरकारको प्रतिनिधि कार्यालय गार्डेन खाङ्सार लाजिम्पाटका सचिव एवं स्वयम्भू शरणार्थी शिविरका प्रमुख कर्मा ग्याल्जेन, नेपालका लागि दलाई लामाका पूर्वप्रतिनिधि ताम्दिङ दोेर्जे तुलाधर, बौद्ध शरणार्थी शिविरका प्रमुख नावाङ छोक्डुप, दलाई लामाको निर्वासित तिब्बती सरकारका सांसद सेर्ता टासी ढोण्डुप, रत्सा सोनाम नोर्वुलगायत सयौँ शरणार्थीको उपस्थिति थियो । उनीहरुसँगको विशेष अन्तर्क्रियापछि उपमन्त्री जेयाले शरणार्थीहरुको आवासगृह, वृद्धाश्रम र स्कुलको अवलोकन गरेकी थिइन् । त्यसपछि तिब्बती शरणार्थी स्कुलमै उपमन्त्री जेयाले उनीहरुसँग लामो गोप्य बैठक गरेकी थिइन् ।

जाउलाखेल शरणार्थी शिविरमा अवलोकन तथा भेटवार्ता गर्न अमेरिकी उपमन्त्री जेयाको टोली जाँदा नेपाल प्रहरीको विशेष टोलीले कडा सुरक्षा पहरा दिएको थियो । तिब्बती शरणार्थी शिविर जाउलाखेल पुगेपछि उपमन्त्री जेयाको टोलीलाई शिविर प्रमुख छेतेन टासीलगायत ठूलो जनसमूहले भव्य स्वागत गरेको थियो । उपमन्त्री जेयाको टोलीसँग उनीहरुको सुरक्षामा खटिएका दूतावासका सुरक्षा टोली पनि शरणार्थी शिविरमा प्रवेश गरेका थिए र त्यही मेसोमा उपमन्त्री जेयाको सुरक्षामा खटिएको नेपाल प्रहरीको टोली पनि तिब्बती शरणार्थी शिविरमा प्रवेश गरेको थियो । एक चीन नीतिको पालना गर्दै यसअघि नेपाल सरकारले तिब्बती शरणार्थीलाई सार्वजनिक स्थलमा भेला हुन, हूल बाँधेर हिँड्न समेत प्रतिबन्ध लगाउँदै आएको थियो । तिब्बत स्वतन्त्रताको नाममा जुलुस र नाराबाजी गर्न त निकै परकोे कुरा थियो । त्यस्तो अवस्थामा प्रहरीले तिब्बतीहरूमाथि लाठीचार्ज गरेर तितरवितर पार्ने र पक्राउ गरेर थुन्ने गर्दै आएको थियो । तर यस पटक त्यस्तो अवस्था थिएन, बेग्लै अवस्था थियो । प्रहरीले उपमन्त्री जेयालाई स्कर्टिङ गरेर जाउलाखेलस्थित शिविर पु-याउँदा तिब्बती स्वतन्त्रताको पक्षमा नारा घन्किरहेको थियो र अमेरिकी विशिष्ट पाहुना उपमन्त्री जेयाको सुरक्षामा खटिएका प्रहरी पनि उनीसँगै शिविरभित्र छिरेका थिए । तर तत्कालै तिब्बती शरणार्थीहरुले प्रहरीलाई छानीछानी समाउँदै गलहत्याउँदै शिविरबाट बाहिर निकालेका थिए र प्रहरीहरु निरीह प्राणी बनेर ढोकाबाहिर उभिन पुगेका थिए ।

त्यसपछि उपमन्त्री जेयाले राजदूत बेरीसहित दूतावासका कर्मचारीहरुसँग तिब्बती शरणार्थीलगायतका विषयमा लामो भेटघाट तथा छलफल गरेकी थिइन् । अनि मात्र उनले तिब्बती शरणार्थी नेताहरुसँग अन्तर्क्रिया गरेकी थिइन् । उक्त अन्तर्क्रियामा तिब्बती शरणार्थी नेता कर्मा ग्याल्जेनले २०५१ सालपछि नेपाल सरकारले तिब्बती शरणार्थीहरुलाई नयाँ कार्ड दिन रोकेकोे र १३ हजारभन्दा बढी तिब्बतीहरु नागरिक भएर बस्नुपरेको भन्दै नेपाल सरकारलाई शरणार्थीहरुलाई नयाँ कार्ड वितरण गर्न दबाब दिन आग्रह गरेका थिए । उनले तिब्बती शरणार्थी मुद्दा मानवअधिकारको विषय भएको, शरणार्थीहरुको उत्सव र दलाई लामासम्बन्धी कार्यक्रम स्वतन्त्र रुपमा गर्न पाउनुपर्ने माग गरेका थिए ।

उक्त कार्यक्रमपछि उपमन्त्री जेया बौद्ध पुगेकी थिइन् । बौद्ध स्तूपा अवलोकनका नाममा त्यहाँ पुगेकी उपमन्त्री जेयालाई बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामालगायतले स्वागत गरेका थिए । त्यहाँबाट उनी अमेरिकी दूतावासले आयोजना गरेको विशेष बैठक तथा रात्रिभोजमा सरिक भएकी थिइन् । त्यसमा भूमिसुधार मन्त्री शशी श्रेष्ठ, सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, कानुनमन्त्री गोविन्द कोइराला बन्दी, महिलामन्त्री उमा रेग्मी, वनमन्त्री राम सहाय प्रसाद यादव, महालेखा परीक्षक टंकमणि शर्मा, कृषि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, फनल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, अष्ट्रेलिया, बेलायत, फ्रान्स, जापानलगायतका राजदूतहरु र संयुक्त राष्ट्रसंघका नेपाल प्रमुखलगायतको उपस्थिति थियो । उक्त बैठकमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले नेपालमा लोकतन्त्र र समृद्ध भविष्यको लागि ६५९ मिलियन अमेरिकी डलर अर्थात् ८१ अर्ब ७१ करोड ६० लाख रुपैयाँ सहयोग गरेको बताइएको थियो ।

उपमन्त्री जेयाले नेपाल भ्रमणको तेस्रो र अन्तिम दिन जेठ ८ गते आइतबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री देवासँगको करिब ४५ मिनेटको भेटवार्ता सकेपछि प्रधामन्त्री पत्नी डा. देउवासँग झण्डै डेढ घण्टा गोप्य वार्ता गरेकी थिइन् । उक्त भेटवार्तामा नेपाल र अमेरिकीबीचको द्विपक्षीय सम्बन्ध र आपसी साझेदारी, तिब्बती शरणार्थी, एमसीसीलगायतको विषयमा छलफल भएको बुझिएको छ ।

उक्त भेटवार्ता सकिएपछि अमेरिकी उपमन्त्री उज्रा जेया प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आपसी सहयोगबारे वार्ता गरेका थिए ।

उक्त वार्तापछि उपमन्त्री जेयाको टोलीले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर एमसीसी अनुमोदन गरेकोमा धन्यवाद दिँदै तिब्बती शरणार्थीका विषयमा सहयोग गर्न आग्रह गरेको थियो । त्यसलगत्तै जेयाको टोलीले मुख्यसचिव शंकरदास बैरागीसँग भेटवार्ता गरेको थियो । यी कुनै पनि वार्तामा परराष्ट्रका प्रतिनिधिलाई सहभागी गराइएको थिएन ।

सिंहरदरबारभित्रको भेटघाट सकिएपछि फेरि अमेरिकी उपमन्त्री जेया आफ्नो दलबलसहित नागार्जुन नगरपालिकास्थित ठूलो भ-याङमा रहेको नामग्याल आवासीय निम्न माध्यमिक विद्यालयको अवलोकन गर्न पुगेकी थिइन् । उनले त्यहाँ दलाई लामाका प्रतिनिधि तुल्स्त्रिम ग्यास्टो, स्वयम्भू शरणार्थी क्याम्पका प्रमुख कर्मा ग्याल्जेन, होटल बज्रका मालिक शम्भु लामालगायत सात दर्जनजति तिब्बती शरणार्थी नेताहरुसँग अन्तक्र्रिया गरेकी थिइन् । उनले नाम्ग्यालचोकमै संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुसँग भेटवार्ता गरेकी थिइन् ।

त्यसपछि उपमन्त्री जेयाको टोलीले परराष्ट्रविद् निश्चलनाथ पाण्डे र नेपालका लागि सीआईएका प्रतिनिधि चाल्र्स मेण्डिजसँग लामो भेटवार्ता गरेको थियो । नेपाल भ्रमणको क्रममा अन्तिम भेटघाटका रुपमा उपमन्त्री जेयाको टोलीले नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा, प्रकाश रसाइली, विमला नेपाली, लक्ष्मी परियार, माओवादीका सांसदहरु पर्वती विसुङ्खे, मिला विकलगायतका दलित प्रतिनिधिसँग भेटवार्ता गरेको थियो र साँझ ८ बजे फ्लाई दुवईको उडानबाट स्वदेश फिर्ती भएको थियो । अमेरिकी उपमन्त्री उज्रा जेया भारत भ्रमण सकेर नेपाल आएकी थिइन् । उनले धर्मशालामै पुगेर निर्वासित तिब्बती धर्मगुरु दलाई लामासँग लामो भेटवार्ता गरेकी थिइन् ।

अमेरिकी उपमन्त्री जेयाले नेपाल भ्रमण गर्नुअघि गत अप्रिल २२ देखि २४ सम्म डेमोक्र्याट सिनेटर क्रिस्टेन गिलब्रान्टको नेतृत्वमा छ जना सांसद नेपाल आएका थिए । त्यसअघि अमेरिकी उपसहायक विदेशमन्त्री केली केडरलिङले अप्रिलमै १० देखि २१ सम्म नेपाल भ्रमण गरेका थिए । यी सबै भ्रमण तिब्बती शरणार्थी र उनीहरुको स्वतन्त्रतामा केन्द्रित थियो । भ्रमणमा आएका सबैले खुल्लमखुल्ला रुपमा तिब्बती शरणार्थीहरुसँग भेटवार्ता र अन्तर्क्रिया गरेका थिए । ती भ्रमणमा व्यक्ति फरक भए पनि उद्देश्यचाहिँ एउटै रहेको देखिन्छ । यसअघि एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपाल भ्रमण गरेका थिए ।

त्यसको केही समयपछि एमसीसीकी उपाध्यक्ष फातिमा सुमरले गत भदौ २४ देखि चार दिने नेपाल भ्रमण गरेकी थिइन् । यी दुई भ्रमण एमसीसी परियोजना नेपालको संसदबाट अनुमोदन गराउने विषयमा नै केन्द्रित थियो तर एमसीसी पारित भएपछिका अमेरिकी राजनीतिक भ्रमणहरु तिब्बती शरणार्थीको स्वतन्त्रताको विषयमा केन्द्रित रहँदै आएको छ र यसलाई चीनले एक चीन नीतिमाथि पश्चिमा आक्रमणको रुपमा लिएको छ । रसियाले युक्रेनमाथि आक्रमण थालेपछि अमेरिकाले ताइवान र तिब्बती मामिलामा गतिविधि बढाएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले एउटा अन्तर्राष्ट्रिय मञ्चको प्रयोग गर्दै आगोसँग नखेल्न अमेरिकालाई चेतावनी दिएको कुरा स्मरणयोग्य छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया