Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझण्डै एक करोड रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झण्डै एक करोड रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । झण्डै एक करोड रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार मंगलबार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु कविता सुव्बा र लिना श्रेष्ठ गिरीलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

धरान उपमहानगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१ बानेश्वर बस्दै आएकी ४२ वर्षीय सुब्बाउपर १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भएको प्रहरी उपरीक्षक महतोले जानकारी दिएका छन् । ‘उनीउपर उच्च अदालत पाटनबाट वि.सं. २०७६ साल फागुन ६ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवानाको फैसला भएको थियो’, प्रहरी उपरीक्षक महतोले भने । त्यसपछि भने फरार रहेकी सुब्बालाई सीआईबीको टोलीले मंगलबाट काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो ।

यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ स्थायी घर भई हाल काठमाडौंको नयाँँ बानेश्वर वडा नं. १० बस्ने ३९ वर्षीया गिरीलाई पनि मंगलबार नै काठमाडौंको नयाँबस्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता महतोले जानकारी दिएका छन् । गिरीउपर उच्च अदालत पाटनले वि.सं. २०७६ माघ १९ गते फैसला गर्दै १५ दिन कैद र ५४ लाख ५० हजार रुपैंयाँ जरिवानाको फैसला गरेको थियो । सोपश्चात् भने गिरी फरार रहेकी थिइन् ।

पर्याप्त मौज्दात रकम नभएको बैंक खाताहरुबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ कसुर मुद्दाहरुमा सुब्बा र लिना उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा सजाय बेरुजु भई फरार रहेका थिए । उनीहरुलाई मंगलबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया