Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझण्डै २ सय प्रतिशतले बढ्यो विदेश जाने युवाको संख्या

झण्डै २ सय प्रतिशतले बढ्यो विदेश जाने युवाको संख्या


काठमाडौं । मुलुकमा पर्याप्त रोजगारी नहुँदा युवा/युवतीहरुको एक मात्र रोजाइ बन्नपुगेको वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढेको छ । कोभिड १९ महामारीपछि सामान्य बनेको परिस्थितिसँगै वैदेशिक रोजगारीमा जाने युवाको संख्या करिब दुई सय प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले बताएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको १० महिनाको अवधिमा विदेश जाने युवाको संख्यामा एक सय ९१ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको १० महिनामा चार लाख ९७ हजार सात सय जना युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ७१ हजार जना युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

एक सय २० वटा मुलुकभन्दा बढी मुलुकमा रोजगारीको लागि नेपाली युवाहरु जाने गरेकोमा सबैभन्दा बढी भने खाडीका छवटा, मलेसिया, दक्षिण कोरिया, जापान, पोर्चुगललगायतका मुलुकहरुमा जाने गरेको पाइन्छ । सरकारले संस्थागत श्रम स्वीकृतिका लागि भने एक सय आठवटा मुलुकहरु खुला गरेको छ ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा सबैभन्दा बढी श्रम स्वीकृति मंसिरमा र सबैभन्दा कम पहिलो महिना अर्थात् साउनमा श्रम स्वीकृति प्रदान गरिएको छ । साउनमा २५ हजार चार सय, भदौमा ३६ हजार, असोजमा ३९ हजार छ सय, कात्तिकमा ५४ हजार नौ सय, मंसिरमा ७४ हजार तीन सय, पुसमा ६६ हजार छ सय, माघमा ५४ हजार चार सय, फागुनमा ४१ हजार नौ सय, चैतमा ५९ हजार तीन सय र वैशाखमा ४५ हजारलाई श्रम स्वीकृति प्रदान गरिएको छ ।

यसरी श्रम स्वीकृति लिनेमा अधिकांश बेरोजगार युवाहरु रहेको विभागका अधिकारीहरु बताउँछन् । वार्षिक उच्च संख्यामा युवाहरु नेपाली श्रम बजारमा प्रवेश गर्ने गरेका छन् तर रोजगारीसम्बन्धी सरकारको स्पष्ट नीति तथा कार्यान्वयन नहुँदा उनीहरु बाध्यात्मक वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

आर्थिक सर्वेक्षणअनुरुप पनि नेपाली श्रम बजारमा वार्षिक रुपमा पाँच लाख १२ हजार सक्रिय युवा श्रमशक्तिले प्रवेश गर्ने गरेका छन् । आन्तरिक बजारमा श्रम तथा रोजगारीको माग तथा आपूर्तिमा भएको अन्तरका कारणले गर्दा युवाहरुको लागि वैदेशिक रोजगारी अनिवार्य बन्नपुगेको छ ।

सर्वेक्षणले युवाहरुको वैदेशिक रोजगारीमा आर्कषण बढ्नुमा आन्तरिक श्रम बाजरमा रोजगारीको अवसरको कमी, श्रमको कदर नगर्ने प्रवृत्ति, न्यून पारिश्रमिक, शिक्षा, सूचना र प्रविधिको विकास तथा बढ्दो महत्वाकांक्षा कारक रहेको उल्लेख गरेको छ । पछिल्लो समय भने अन्तर्राष्ट्रिय श्रम बजार खुला गरेसँगै युवाहरुलाई वैदेशिक रोजगारी सहज भएको हो ।

यसैबीच, सरकारले आन्तरिक रोजगारीभन्दा पनि वैदेशिक रोजगारीलाई प्राथमिकतामा राखेको पाइन्छ । जस्तो श्रम स्वीकृतिको सहजता, विमानस्थलको सहजतालगायतका कारक देख्न सकिन्छ ।

भौतिक उपस्थितिविना श्रम स्वीकृति दिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीति तथा भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापनाले विदेश जान थप सहजीकरण गरिदिएको छ । त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएसँगै विदेश जाने युवाहरुलाई काठमाडौं धाउनुपर्ने बाध्यता तथा पर्खिनुपर्ने बाध्यता समेत हटेको छ ।

वैदेशिक रोजगार कार्यालयले वैशाख २ देखि संस्थागत र माघ २ देखि पुनः श्रम स्वीकृति अनलाइनबाट प्रदान गर्ने गरेको थियो । सोसँगै कार्यालयमा दैनिक हुने हजारौँको भीड हटेको थियो । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्ण रुपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया