Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी स्वामित्वको साल्ट ट्रेडिङले ल्यायो रासायनिक मल

सरकारी स्वामित्वको साल्ट ट्रेडिङले ल्यायो रासायनिक मल


काठमाडौं । देशमा रासायनिक मलको हाहाकार भएको बेला सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने आफूले पाएको कोटाअनुसार रासायनिक मल नेपाल भित्र्याएको छ । साल्ट ट्रेडिङले मल भित्र्याएपछि किसानको माग पूरै धान्न नक्सने भए पनि सामान्य राहत भने पुग्नेछ ।

सरकारीस्तरबाटै मल ल्याउने प्रयास सफल नभइरहेको बेला सरकारी स्वामित्वको कम्पनीले भने आफूलाई प्राप्त कोटाअनुसार मल ल्याउन सफल भएकाले साल्ट ट्रेडिङको नेतृत्वप्रति जनताको थप विश्वास जागेको छ । अभावको बेला मल ल्याउनसकेको कारण आगामी दिनमा साल्ट ट्रेडिङलाई नै मल ल्याउने सम्पूर्ण अधिकार दिनुपर्ने दबाब सिर्जना भएको छ ।

सरकारले दिएको कोटाबमोजिम आफूले ल्याउने एक लाख मेट्रिक टन रासायनिक मल साल्ट टेड्रिङले ल्याएको हो । आफूले ल्याएको कोटामध्ये २० हजार मेट्रिक टन डीएपी मलमध्ये १७ हजार नेपाल आइसकेको र तीन हजार कलकत्ता बन्दरगाहमा आइसकेको साल्ट ट्रेडिङले जानकारी दिएको छ । त्यस्तै २२ हजार मेट्रिक टन युरिया मल समेत यसै साताभित्र नेपाल भित्रिसक्ने साल्ट ट्रेडिङका एक अधिकारीले आर्थिक दैनिकलाई जानकारी दिए ।

सरकारले हरेक वर्ष बजेटमार्फत कृषिलाई प्राथमिकता दिए पनि सोहीबमोजिम हरेक वर्ष बालीमा हाल्नुपर्ने रासायनिक मल भने उपलब्ध गराउन नसकेर आलोचना खेप्दै आएको छ । पञ्चायत, बहुदल र लोकतन्त्र तथा गणतन्त्र सबै व्यवस्थामा धान लगाउने बेला किसानले मलको चरम अभाव भोग्दै आएका छन् । ‘यो वर्ष त मकैमा पनि मल हाल्न पाइएन’, एक किसानले भने, ‘अब वर्षा लागिसक्यो । मल आए पनि ग्रामीण भेगमा सडक बिग्रिन थालिसकेको कारण मल बोक्ने गाडीहरु चल्न सक्तैनन् । अब धानमा किसानले मल हाल्नै पाउँदैनन् ।’

पछिल्लो समय साल्ट ट्रेडिङले ल्याएको रासायनिक मल अधिकांश नेपाल आइसकेको छ भने केही कलकत्ता बन्दरगाहमा आइपुगेको र केही दिनमा नै आइपुग्ने साल्ट टेड्रिङका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले स्वीकार गरे । ‘हामीले कोटा पाएअनुसार नेपालमा मल ल्याएका छौँ’, बाँकी मल पनि केही दिनमै नेपाल भित्रिनेछ’, साल्ट ट्रेडिङ्गका विभागीय प्रमुख झाले आर्थिक दैनिकसित भने, ‘साल्ट ट्रेडिङले छिटो, पारदर्शी र सहजताका साथ रासायनिक मल ल्याएको छ । त्यसको अब समानुपातिक हिसाबले वितरण गर्नेछ ।’

समयमा नै रासायनिक मल दिन नसक्दा देशभर किसानले लगाएका बालीनाली सप्रिनसकेको छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभावले बाली सप्रिन पाएको छैन । किसानले कालोबजारीमा बिक्री भएको युरिया मल प्रतिकिलो ५० रुपैयाँसम्म किनेर हाल्ने गरेका छन् । युरिया मलको कालोबजारी देशैभर छ ।

सरकारले उपलब्ध गराउन नसकेपछि कालोबजारीकै मूल्यमा भए पनि दोब्बर बढी मूल्य तिरेर किसानले मकै बालीमा राख्न बाध्य भएका छन् । सहकारीमार्फत वितरण गर्ने युरिया मलको मूल्य प्रतिकिलो करिब २० रुपैयाँ रहेको छ ।

भारतीय कम्पनीले नेपाललाई दिने भनेको मल ‘फास्ट्र ट्र्याक’मा ल्याउने सम्बन्धमा सरकार लागिरहेको दाबी गरे पनि अहिलेसम्म कहिले मल आउँछ भन्ने अत्तोपत्तो छैन । करिब तीन महिनादेखि युरिया मलको अभाव सिर्जना भएको छ । रासायनिक मलको प्रयोगले वर्षेनी माटोको उर्वराशक्ति घट्दै जाँदा मलको प्रयोग बढिरहेको छ । किसानले पनि अन्धाधुन्ध तरिकाले खेतबारीमा बालीनालीलाई चाहिनेभन्दा बढी मल प्रयोग गरेकाले खेतीयोग्य जमिन घटे पनि वर्षेनी मलको खपत बढ्दै गएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग गरेका थिए । बजेटपछि चलेका सबै बैठकमा सांसदहरुले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आए पनि सरकारले मल ल्याएर बिक्रीवितरण गर्नसकेको छैन ।

सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन आइतबार सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल तथा बीउ नपाएको भनी संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले उक्त मागप्रति ध्यानाकर्षण जनाउँदै शीघ्ररूपमा मलखादको व्यवस्थापन गर्न आग्रह गरे । ‘खेतीका समयमा पनि मल उपलब्ध नभइरहेका सन्दर्भमा माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र किसानलाई मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु”, सभामुख सापकोटाले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया