Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२७ वाणिज्य बैंकमा ४३ खर्ब ९३ अर्ब, कुल कर्जा ४१ खर्ब ९२ अर्ब

२७ वाणिज्य बैंकमा ४३ खर्ब ९३ अर्ब, कुल कर्जा ४१ खर्ब ९२ अर्ब

कृषि क्षेत्रमा प्रवाह भएको कर्जा चार खर्ब ९० अर्ब


काठमाडौं । वाणिज्य बैंकहरुको कुल निक्षेप रकम ४३ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा बैंकहरुले चालू आर्थिक वर्ष २०७९ को जेठको तेस्रो सातासम्ममा देशभर फैलिएका आफ्ना चार हजार नौ सय ४९ वटा शाखाहरु मार्फत उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् ।

यस अवधिमा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी समेतका ६१ वटा संंस्थाहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४९ खर्ब ७३ अर्ब र ४७ खर्ब २४ हजार रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंक सहितका विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुको कुल शाखा संख्या भने ११ हजार तीन सय ९८ पुगेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको १२ प्रतिशत कर्जा अनिवार्यरुपमा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जाको न्यूनतम सीमा पु-याइसक्नुपर्ने समयसीमा २०७९ असार मसान्तसम्म तोकिएको छ । सो अनुसार २०७८ चैत मसान्तसम्ममा भने वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा मात्र चार खर्ब ९० अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । यो कर्जा वाणिज्य बैंकहरुको कुल कर्जाको १२ दशमलव २८ प्रतिशत रहेको राष्ट्र बैंकले भनेको छ ।

वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म छ प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७८ चैत मसान्तसम्म यस्तो क्षेत्रमा दुई खर्ब २० अर्ब आठ करोड अर्थात् कुल कर्जाको पाँच दशमलव ५१ प्रतिशत कर्जा प्रवाह भएको छ ।

यसैगरी वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म ११ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा एक करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना तथा सञ्चालनमा विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ ।

सोअनुसार २०७८ चैत मसान्तसम्म यस्तो क्षेत्रमा तीन खर्ब ९३ अर्ब २८ करोड रुपैयाँ अर्थात् कुल कर्जाको नौ दशमलव ८५ प्रतिशत कर्जा प्रवाह भएको छ । कृषि, लघु, घरेलु तथा साना उद्यम, व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा विकास बैंकहरुले २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १७ प्रतिशत र वित्त कम्पनीहरुले १२ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

२०७८ चैत मसान्तसम्म यस्तो क्षेत्रमा विकास बैंकहरुले एक खर्ब ११ अर्ब ९२ करोड रुपैयाँ अर्थात् कुल कर्जाको २६ दशमलव ६२ प्रतिशत कर्जा प्रवाह भएको छ । कृषि, लघु, घरेलु तथा साना उद्यम, व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा भने फाइनान्स कम्पनीहरुले १६ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो कर्जा फाइनान्स कम्पनीहरुको कुल कर्जा लगानीमध्ये २१ दशमलव ९२ प्रतिशत रहेको राष्ट्र बैंकले भनेको छ ।

उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमार्फत उत्पादनशील अर्थतन्त्र निर्माण गर्न नेपाल सरकारको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अपेक्षित वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ । सो अनुसार २०७८ चैत मसान्तमा एक लाख ४५ हजार छ सय ९३ ऋणीहरुलाई दुई खर्ब १६ अर्ब छ करोड सहुलियतपूर्ण कर्जा लगानीमा छ । २०७८ चैत मसान्तसम्म सहुलियतपूर्ण कर्जाका लागि सरकारबाट १४ अर्ब ब्याज अनुदान प्रदान भएको जानकारी पनि राष्ट्र बैैंकले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया