Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ


काठमाडौं । आठ जना व्यक्तिलाई संस्थाको नाममा पोर्चुगल पठाइदिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार काठमाडौं महानगरपालिका —४ बालुवाटार घर भई हाल काठमाडौंको टोखा नगरपालिका —६ ग्रान्डी बस्दै आएका ३५ वर्षीय रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई बालुवाटारबाट पक्राउ गरिएको हो ।

तनहुँको बन्दीपुर नगरपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका १७ म्हैपी बस्ने सुकमाया गुरुङले श्रेष्ठसँग चिनजान भई कुरा हुँदा काठमाडौं ४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था सञ्चालन गरेको छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुनलागेकोले जान लागेको हुँ, तपाईंलगायत तपाईंको आफन्तहरु जाने भए लगिदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी ठगेका थिए ।

उनले भिसा प्रोसेसिङ एवं हवाइ टिकटको लागि सुकमाया गुरुङ समेत आठ जनाबाट ३३ लाख ५० हजार रुपैयाँ रकम ठगेको भनी जाहेरी परेपछि अनुसन्धान गर्ने क्रममा जाहेरवाला लगायतका व्यक्तिहरुको नाममा जारी गरिएको भनिएको हवाइ टिकट तथा भिसाहरु नक्कली भएको पुष्टि भएपछि श्रेष्ठलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

सोमबार बालुवाटारबाट पक्राउ परेका उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया