Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसञ्चय कोषको व्यवस्था र सेवासुविधा बढाउन नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको माग

सञ्चय कोषको व्यवस्था र सेवासुविधा बढाउन नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको माग


काठमाडौं । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले कर्मचारीहरूलाई सञ्चय कोषको व्यवस्था गर्न तथा सेवासुविधा बढाउन माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि अन्य राष्ट्रसेवक कर्मचारीको जति नै सेवासुविधा पाउनुपर्ने माग गरेको हो ।

उनीहरूले अवकासपछि रित्तोहात फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सुविधासहित कर्मचारीहरूलाई बिदाइ गर्नुपर्ने पनि माग अघि सारेका छन् । एसोसिएनसनले तलबस्केल अत्यन्त अन्यायपूर्ण भएको भन्दै पूरा कामसहित तलबस्केल वैज्ञानिक र व्यावहारिक बनाइनुपर्ने समेत प्रस्ताव अघि बढाएको छ । त्यस्तै, सञ्चित बिरामी बिदाको रकम एकमुस्ट दिने व्यवस्था गर्न, सीमित बिदाबापत जिल्ला तथा इलाका हुलाकका कर्मचारीले पाएसरह थप एक महिनाको पारिश्रमिक पाउनुपर्ने, पोसाकसहितका अन्य सुविधाहरू उपलब्ध गराइनुपर्ने पनि सरकारसँग एसोसिएसनको माग छ । मूल्यवृद्धिको अनुपातमा राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि हुँदा हुलाकका कर्मचारीको पनि एकैसाथ वृद्धि गरिनुपर्ने, अतिरिक्त हुलाक नियमावली २०३४ तत्काल परिमार्जन गरिनुपर्ने र सञ्चय कोषको व्यवस्था गर्न समेत सरकारसँग आग्रह गरेको छ ।

एसोसियसनका अध्यक्ष टंकप्रसाद हुमागाईँले अतिरिक्त हुलाक भनेको नेपालको एउटा भित्री बस्तीसम्म पुगेको सरकारको सेवा पु-याउने संस्था भएको बताए । सरकारले यस्ता ११ हजार कर्मचारीहरूको सेवासुविधा नबढाएको उनको भनाइ छ । तलबस्केल अत्यन्त अन्यायपूर्ण रहेको सन्दर्भमा पूूरा कामसहित तलबस्केल वैज्ञानिक र व्यावहारिक बनाइनुपर्नेमा उनले जोड दिए । साढे नौ हजार निजामती कर्मचारी भएकोमा कटौती गरेर सरकारले करिब सात हजार निजामति कर्मचारी मात्र राखेको भन्दै उनले तीन हजार जना करारका कर्मचारी रहेको उनले उल्लेख गरे । उनले भने, ‘गाउँ–गाउँ र बस्तीसम्म दिनको दुई सय रुपैयाँ लिएर चिठी बाँड्न गइरहेको छौँ । सरकारले हाम्रो श्रमशोषण गरिरहेको छ ।’ हुलाकमा दरबन्दी खाली भए पनि अतिरिक्त कर्मचारीलाई स्थान नदिएकोमा उनले दुःखेसो पोखे । सम्पूर्ण राष्ट्रसेवकको तलब वृद्धि भए पनि अतिरिक्त हुलाक कर्मचारीको हुन नसकेको उनले बताए । उनले भने, ‘०७७/७८ को बजेटले हाम्रो तलब वृद्धि नगरेको भन्दै तलब वृद्धिको लागि पूरै एक वर्ष सम्बन्धित निकायमा पुगियो तर, कतै केही चलेन । अर्थ मन्त्रलयमा पुगेको फाइल कतै चल्न सकेन ।’

त्यसैगरी, उनले ०७९/८० को बजेटमा पनि सम्पूर्ण राष्ट्र सेवकको तलव वृद्धि भए पनि आफूहरूको नभएकोमा दुःख व्यक्त गरे । सरकारको काम गरेको भन्दै उनले निजामती कर्मचारीले जति नै दण्ड र जरिवाना लाग्ने तर सुविधा नपाएको भन्दै आपक्ति जनाए । उनले हुलाक सेवा विभाग, जिल्ला हुलाक, इलाका हुलाकलाई सरकारको हुलाक भन्ने गरिने तर अतिरिक्त हुलाकलाई सौतेनी हुलाकको रूपमा लिएको भन्दै आक्रोश पोखे । उनले भने, ‘हामीलाई सौतेनी पाटोको हिसाबमा अर्कैमा राखिएको छ ।’ काभ्रेका तारानाथ उप्रेतीले अतिरिक्त हुलाक नेपालमा पहिलो सञ्चारमाध्यम भएको सुनाए । अतिरिक्त हुलाक र कर्मचारीको मर्म अहिलेसम्म सरकारले नबुझेको उनको भनाइ थियो । सरकारले झण्डै ०६२/६३ को आन्दोलनपछि अतिरिक्त हुलाकलाई खारेज गर्न खोजे पनि एसोसियसनका अध्यक्ष टंक हुमागाईले जोगाएका दाबी गरे । सरकारले अतिरिक्त हुलाक खारेज गर्न खोजे पनि टंककै कारण बन्द गर्न नसकेको उनले तर्क गरे । उनकै (टंक)कै कारण ११ हजार बढी कर्मचारीहरूको पालनपोषण भइरहेको उनले उल्लेख गरे ।

‘आकाश खसाउने र पताल भसाउने खालका माग थिएनन् । के हामी यो देशका प्रशासक र राजनीतिक नेतालाई कहिल्यै पनि खाँचो पर्दैनौँ ? यो देश हाम्रो पनि होइन ? के हामी भोकै र अकलामै मर्न जन्मेका हौँ ? के हामीले देशका लागि केही गरेका छैनौँ ? के हामी यो देशका नागरिक होइनौँ ? आज हामीले यिनै प्रश्नहरू सोध्ने बेला भएको छ’, एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया