Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआधारभूत सहकारीका देवकोटा दम्पतीमाथि छानबिन गर्न म्याद थप

आधारभूत सहकारीका देवकोटा दम्पतीमाथि छानबिन गर्न म्याद थप


काठमाडौँ । ज्यान मार्ने उद्योगमा पक्राउ परेका इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष खड्गबहादुर देवकोटा र प्रबन्धनिर्देशक रहेकी उनकी श्रीमती सविना वाग्ले देवकोटालाई जिल्ला अदालतले अनुसन्धानका लागि थप दुई दिन थुनामै राख्न आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौंले बिहीबार उनीहरुलाई थुनामै राखेर छानबिन गर्न म्याद थपेको हो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरु गत जेठ १८ गते पक्राउ परेका थिए । आधारभूत सहकारीका अध्यक्ष देवकोटा र प्रबन्धनिर्देशक देवकोटाविरुद्ध गत जेठ १३ गते ज्यान मार्ने उद्योग गरेको भनी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा किटानी जाहेरी परेको थियो । उनीहरुले भाडाका गुण्डा लगाएर गत जेठ ८ गते रोमनाथ भण्डारीमाथि सांघातिक आक्रमण गरेका थिए ।

आधारभूत सहकारीको पूर्वकर्मचारी समेत रहेका भण्डारी बेलुका ७ः३० बजेतिर कामबाट निवासमा फर्किँदै गर्दा कामनपा वडा नं. १७ को धोबीचौरमा आक्रमण गरेका थिए । मरणासन्न हुने गरी भण्डारीलाई पिटेर आक्रमणकारीहरु भागेका थिए । घाइते भण्डारीलाई सुरुमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा रिफर गरिएको थियो । त्यहाँ उनको टाउकोमा सात टाँका लगाइएको थियो ।

आक्रमण गरेलगत्तै पक्राउ परेका अध्यक्ष देवकोटा त्यसै रात छुटेका थिए भने १३ गते प्रहरीले जाहेरी लिएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनीहरुलाई १८ गते पक्राउ गरेको थियो ।

त्यसरी पक्राउ परेका आधारभूत सहकारीका देवकोटा दम्पतीले आफूहरुलाई प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखेको भनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । तर प्रहरी अनुसन्धानका क्रममा उनीहरुले सिलसिलेबर रुपमा फट्याइँ र ठगी गर्ने गरेको आधारहरु भेटेपछि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटलाई उम्किने जालसाजीका रुपमा लिएर मुद्दा हेर्ने म्याद सार्दै आएको छ ।

आपराधिक पृष्ठभूमि भएका आधारभूत सहकारीका देवकोटा दम्पतीबाट ठगिएको भनी जिल्ला प्रहरी कार्यालय टेकु र उनीहरुलाई थुनामा राखिएको सोह्रखुट्टे र उनीहरुको कार्यालयमा समेत पीडितहरुको लर्को लाग्ने गरेको छ । देवकोटा दम्पतीको धन्दालाई संगठित रुपमा संरक्षण गर्दै आएका जनसेवन वृत्तमा कार्यरत प्रहरी निरीक्षक प्रकाश रेग्मीलाई उनीहरुमाथिको छानबिनबाट ठूलो असर परेको बताइएको छ ।

एक अनुसन्धान अधिकृतका अनुसार रेग्मीले उनीहरुमाथि सोह्रखुट्टे प्रहरीबाट भएको अनुसन्धानलाई समेत प्रभावित पार्न खोजेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया