Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार एजेन्टको परीक्षामा सहभागी हुनका लागि नक्कली कागजात

भन्सार एजेन्टको परीक्षामा सहभागी हुनका लागि नक्कली कागजात


विराटनगर । विराटनगरमा कपडाको व्यवसायीदेखि भन्सार क्लियरिङको काम समेत आफैँ गर्दै आएका एक कपडा व्यापारी फेरि विवादित बन्न पुगेका छन् ।

विराटनगरको महावीर रोडमा फेन्सी पसल गर्दै आएका सञ्जित भगतले भन्सार एजेन्टको परीक्षामा सहभागी हुनका लागि नक्कली कागजात बनाएको पाइएको छ । एक महिनाअगाडि मात्र भन्सार विभागले लिएको भन्सार एजेन्टको परीक्षामा सहभागी हुन भगतले नक्कली कागजात बनाएका थिए । साथै उनी भन्सार एजेन्टको परीक्षामा पास समेत भएका छन् । उनले विराटनगर भन्सारमा कार्यरत एक भन्सार एजेन्टको क्लियरिङ फर्ममा नक्कली कागजी प्रक्रिया पूरा गरेर भन्सार एजेन्टको परीक्षामा सहभागी भएको बताइएको छ । उनले नक्कली कागजात बनाएर परीक्षामा सहभागी भएको बाहिरिएपछि उनले पेस गरेको कागजातलाई भन्सार विभागले अनुसन्धान थालेको छ ।

स्रोतका अनुसार कपडा व्यवसायी भगत लामो समयदेखि विभिन्न ब्रान्डका कपडाहरू समेत प्रहरीकै सेटिङमा अवैध बाटो हुँदै नेपालमा ल्याउने कार्यमा संलग्न छन् । बाहिर देखाउनका लागि उनी बेला–बेलामा भन्सार एजेन्टलाई भन्सार प्रज्ञापनपत्रमा हस्ताक्षर गराएर भन्सार क्लियरिङको काम समेत आफैँ गर्ने गर्दथे ।

पछिल्लो समय सरकारले कपडा आयातका लागि एलसी खोल्न कडाइ गर्नासाथ कपडा व्यापारी भगतको कारोबारले थप तीव्रता लिएको बताइन्छ । कपडा व्यापारी भगत भन्सार सेटिङमा कपडाको कारोबारीमा चर्चित बनेका छन् । भगतले सिजनअनुसारका कपडाको व्यापारदेखि देशभरि नै कपडाको ढुवानीको समेत जिम्मेवारी लिएर अवैध बाटो हुँदै नेपाल भित्रिएका कपडा व्यावसायिक प्रतिष्ठानसम्म पु-याउने कार्यमा संलग्न छन् । यी कारोबारी भन्सार एजेन्टको परीक्षामा पास भएपछि भन्सार विभागले कस्तो परीक्षा लियो भन्दै स्वयम् भन्सार एजेन्टले नै प्रश्न समेत गर्न थालेका छन । व्यापारी भगत बेला–बेला राजस्व अनुसन्धानको दायरामा समेत पर्नेगरेको जानकारी पनि भन्सार एजेन्टहरूले दिएका छन् ।

विराटनगर, झापा, इटहरी, धरानसम्मका व्यापारीको कपडामा समेत व्यवसायी भगतले नै पकड जमाएका छन् । भगतले विराटनगरका सबैजसो व्यापारीको कपडा ठेक्कामा लिएर आयात गर्दै आएका छन् । व्यवसायी भगतलाई राजस्व छलीमा प्रहरीदेखि राजस्व अनुसन्धान समेतले पटक–पटक कारबाही गर्दै आएको छ । तर पनि भगतले उन्मुक्ति पाउँदै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया