Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकीर्ते गरी जग्गा बिक्री गर्ने व्यक्तिहरू पक्राउ

कीर्ते गरी जग्गा बिक्री गर्ने व्यक्तिहरू पक्राउ


काठमाडौं । कीर्ते गरी जग्गा बिक्री गर्नेहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ मूल्य पर्ने जग्गा कीर्ते गरी बिक्री गरेको आरोपमा यही असार १ गते काठमाडौंको विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार पक्राउ पर्नेहरुमा दार्चुलाको साविक उकु गाविस–६ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भई बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको साबिक दाङसिङ गाविस–८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौं वनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साबिक काभ्रेस्थली गाविस–२,घर भई हाल वनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन् । सो मध्येमा चन्दको भूमिका नक्कली तारानिधिको रहेको देखिएको छ भने गणेश बहादुर खनाल मुख्य योजनाकार, खरिदकर्ता खोज्ने र आर्थिक कारोबार व्यवस्थापन गर्ने व्यक्ति भएको खुलेको छ ।

यसैगरी कार्कीको भूमिका मुख्य योजनाकार, नक्कली कागजपत्रहरु बनाउने, मिलाउने र मालपोत समन्वय गर्ने देखिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी महतोले जानकारी दिए । उक्त प्रकरणमा पक्राउ परेका प्रेम प्रसाद खनालको भूमिका भने खरिदकर्ता खोज्ने, मध्यस्थकर्ता अर्थात् बिचौलियाको देखिएको छ । यसैगरी ममता भन्ने डान्सी माया श्रेष्ठको भूमिका खरिदकर्ता खोज्ने बिचौलियाको भूमिका रहेको देखिएको छ ।

प्रवक्ता महतोका अनुसार पक्राउ परेका व्यक्तिहरुको साथबाट विभिन्न व्यक्तिहरुका नाममा जारी गरिएका नक्कली नेपाली नागरिकताका प्रमाणपत्र थान–४, नक्कली तारानिधी लोहनीको नामको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि थान–१, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नाप्र प.को छायाँकपी जग्गाधनी पुर्जाको छायाँकपी थान–७, विभिन्न व्यक्तिको नाममा जारी भएका जग्गाधनी दर्ता स्रेस्ता पुर्जा तथा जग्गाको नक्साको छायाँकपी थान–१२ थान, विभिन्न व्यक्तिहरुको अटो तथा पासपोर्ट साइजको फोटो थान–६० थान, विभिन्न कम्पनीका मोबाइल सेटहरु थान–१४ थान र विभिन्न सेवा प्रदायकहरुको सिम कार्ड थान –२९ (तारानिधिको नामको सिम समेत) बरामद भएको छ ।

जग्गा बिक्रीको लागि यसरी गरिएको थियो सेटिङ
शान्तादेवी लोहनी सपरिवारसहित विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएकी थिइन् । उनीहरु बेला बखतमा मात्र नेपाल आउँथे । सोही क्रममा वि.सं. २०६१ माघ १३ गते काठमाडौंको कीर्तिपुर नगरपलिका, वडा नं. २ स्थित रहेको कि.नं. ३४४ को क्षे.फ. ३६१.९५ वर्गमिटर भएको जग्गा खरिद गरी पुनः जापान गइन् । त्यसपछि उनीहरुले १९ मे २०२२ (२०७९/०२/०५) मा नेपाल आई मालपोत कार्यालय कलंकीमा वि.सं. २०७९ जेठ १३ गते गई सक्कल पुर्जा देखाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा मालपोत कार्यालय, कलंकीले सो जग्गा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भई वि.सं. २०७७ पुस १५ गते नै निजको श्रीमान् तारानिधि लोहनीको नाममा गएको र त्यसपश्चात् पनि उक्त जग्गा निज तारानिधि लोहनीको नामबाट वि.सं. २०७७ फागुन १० गते बिक्री भई सुनिता कर्माचार्यको नाममा गइसकेको देखियो ।

सोपश्चात् उक्त जग्गा सक्कल जग्गाधनी प्रमाण पुर्जाविना नक्कली तारानिधि लोहनीले श्रीमती शान्तादेवी लोहनीको वि.सं. २०७७ भदौ १३ गते कालगतिले मृत्यु भएको र निजको शेषपछिको हकवाला निजको श्रीमान् तारानिधि लोहनी हुँ भनी शान्तादेवी लोहनीको कीर्ते मृत्युदर्ताको प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका कीर्ते कागजातहरु बनाई सोही किर्ते कागजात मालपोत कार्यालय, कलंकीमा पेश गरी उक्त जग्गा वि.सं. २०७७ पुस १५ गते शान्तादेवी लोहनीको नामबाट नक्कली तारानिधि लोहनीको नाममा मृत्यु नामसारी गरी लिएको देखिएको छ ।

त्यसपछि निज नक्कली तारानिधि लोहनीले सो जग्गा जिल्ला भक्तपुर, भक्तपुर न.पा. – ११ बस्ने सुनिता कर्माचार्यलाई तीन करोड ७० लाख रुपैंयाँमा वि.सं. २०७७ फागुन १० गते मालपोत कार्यालय, कलंकीबाट बिक्री गरिसकेको देखिएको छ । यसरी वास्तविक जग्गाधनी शान्ता देवी लोहनीले लिखत/ठगीसम्बन्धी कसुर मुद्दामा अनुसन्धानको लागि सीआईबीमा यही असार १ गते जाहेरी दरखास्त आएको थियो । सोही दरखास्तपश्चात् अनुसन्धानको झण्डै सात करोड रुपैयाँ बराबरको जग्गा किर्ते कागजात बनाई ठगी गर्ने पाँच जनालाई सीआईबीले पक्राउ गर्न सफल भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया