Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यक्तिगत घर निर्माणमा बैंकहरुको साढे दुई खर्ब लगानी

व्यक्तिगत घर निर्माणमा बैंकहरुको साढे दुई खर्ब लगानी


सुरेश राउत
काठमाडौं, फागुन ८
व्यक्तिगत आवास निर्माण बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैकका अनुसार चालू आर्थिक बर्षको मंसिर मसान्तसम्ममा २७ वटा वाणिज्य बैंक, २४ वटा विकास बैक र २२ फाइनान्स कम्पनी सहितका ७३ वटा संस्थाहरुले व्यक्तिगत आवास शिर्षक अर्थात होम लोनमा मात्र दुइ खर्ब ५१ अर्ब ८१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको यस्तो कर्जा रकम दुई खर्ब १६ अर्ब ५७ करोड १८ लाख २० हजार रुपैयाँ रहेको छ । व्यक्तिगत आवास बाहेक घरजग्गा अर्थात रियलस्टेट क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुले छुट्टै एक खर्ब ५९ अर्ब ३२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा रकम एक खर्ब ४७ अर्ब ४४ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा वाणिज्य बैंकहरुले मात्र होम लोन शिर्षकमा एक खर्ब ९९ अर्ब ५८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने रियलस्टेट क्षेत्रमा छुट्टै एक खर्ब ३१ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुको यस्तो कर्जा क्रमश एक खर्ब ७५ अर्ब ९२ करोड ७५ लाख ६० हजार रुपैयाँ तथा एक खर्ब १८ अर्ब ६९ करोड ४३ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

विकास बैंकहरुले भने चालू आवको पाँच महिनामा होम लोन शिर्षकमा ४३ अर्ब ३७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने रियल स्टेट क्षेत्रमा छुट्टै नै २० अर्ब ४२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा विकास बैंकहरुको यस्तो निक्षेप तथा कर्जा रकम क्रमश ३२ अर्ब सात करोड ८२ लाख ९० हजार एवं २१ अर्ब ८० करोड १० लाख रुपैयाँ रहेको थियो । फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा व्यक्तिगत आवास क्षेत्रमा सात अर्ब १८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने घरजग्गा क्षेत्रमा दुई अर्ब ११ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले व्यक्तिगत आवास शिर्षकमा आठ अर्ब ५६ करोड ६० लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा रियलस्टेट क्षेत्रमा भने फाइनान्स कम्पनीहरुले छुट्टै छ अर्ब ९४ करोड ६६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया