Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमकवानपुरको सिस्नेरी खोलाबाट दैनिक १५ करोड लिटर पानी काठमाडौंमा ल्याइने

मकवानपुरको सिस्नेरी खोलाबाट दैनिक १५ करोड लिटर पानी काठमाडौंमा ल्याइने


काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको सिस्नेरी खोलाबाट बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौंमा ल्याइने बताएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दिएको सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा मंगलबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरीक्षण गर्न गएका मन्त्री चौधरीले वर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पथान्तरण गर्न नसक्ने अवस्थामा र सुख्खायाममा पानीको माग बढेको बेला सिस्नेरी खोलाको पानी काठमाडौंमा वितरण गर्न सकिने योजना सुनाए । उनले यहाँको पानी दिर्घकालीनरूपमा बाँध बाँधेर काठमाडौं लैजाने र अल्पकालीनरूपमा दुई वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने बताए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिव विक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्ने स्थल भौगोलिकरूपमा उपयुक्त, वातावरणीय प्रभाव न्यून रहेको र थोरै समुदाय मात्र प्रभावित हुने र पाइपलाई विस्तार गर्न काठमाडौं– तराई/मधेश द्रुतमार्गको किनारा प्रयोग गर्न सकिने बताए ।

काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिब १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमती नदी नजिक रहेको प्रस्तावित बाँधस्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैँसेपाटीस्थित पानी पोखरीमा दैनिक करिब १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । वाग्मती नदीभन्दा करिव दुई सय मिटर पश्चिमतर्फ सिस्नेरी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाइ तीन सय ४० मिटर र उचाइ ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताए । बाँधस्थलमा जम्मा भएको पानीलाई करिब दुई किलोमिटर उत्तरतर्फको एक हजार चार सय १० मिटर अग्लो दरबानडाँडा निर्माण हुने पानीपोखरी र पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाइने उनले बताए ।

प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधीन द्रुुतमार्गमा करिब १९ किलोमिटर उत्तरतर्फ पाइपलाइन बिच्छ्याई ललितपुरस्थित एक हजार तीन सय ७० मिटर उचाइमा रहेको सैंबु पानी पोखरीमा खसालिने प्रस्ताव अध्ययनमा गरिएको छ । बाँध निर्माण गर्ने स्थलले ८२ वर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्नेछ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ ।

प्रस्तावित आयोजनास्थल मकवानपुर जिल्लाको भिमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ । सरकारले काठमाडौं उपत्यकाको दु्रत गतिमा बढ्दै गएको जनसंख्या र पानीको मागलाई ध्यानमा राखेर तत्कालको लागि अल्पकालीन योजनाअनुसार दुई वर्षभित्रै लिफ्टिङ गरी पानै काठमाडौं पठाउने योजना बनाएको मन्त्री चौधरीले बताए । अल्पकालीनरूपमा पम्पिङ गरी दैनिक छदेखि सात करोड लिटरसम्म पानी काठमाडौं पठाउन सकिने अनुमान गरिएको छ ।

यस्तै दीर्घकालीनरूपमा आयोजना सञ्चालनको लागि करिब २६ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बार्डका कार्यकारी निर्देशक राणाले बताए । बाँध निर्माण गरी आयोजना सञ्चालनलाई पूर्णता दिन करिब छ वर्ष लाग्ने अनुमान गरिएको भए पनि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आइसकेको छैन । आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालीन आयोजना सञ्चालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहेको मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी गराए । आयोजनाको बाँध मात्र निर्माण गर्न करिब १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारको लागि एक अर्र्ब र पानी प्रशोधन केन्द्र निर्माणको लागि करिब पाँच अर्ब ८५ करोड लागत अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया