Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिनियाँ सैन्य अधिकारीसँग प्रचण्डको गोप्य भेटवार्ता

चिनियाँ सैन्य अधिकारीसँग प्रचण्डको गोप्य भेटवार्ता


काठमाडौँ । नेपालमा बढ्दो अमेरिकी प्रभाव र तिब्बती स्वतन्त्रताको चलखेलका विषयमा अत्यत्न असन्तुष्ट रहेको चीनको पिपुल्स लिबरेसन आर्मी पीएलएका लियु जियाओगाउले बुधबार सत्तारुढ गठबन्धनका प्रमुखमध्येका एक नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लामो गोप्य भेटवार्ता गरेका छन् ।

प्रचण्डले बुधबार बिहान चिनियाँ सैन्य अधिकारीसँग आफ्नै निवास खुमलटारमा गोप्य भेटवार्ता गरेका हुुन् । उनी चिनियाँ दूतावासका राजनीति तथा प्रेस हेर्ने दुई सहयोगीलाई साथमा लिएर प्रचण्ड निवास पुगेका थिए । नेपालमा रहेको चिनियाँ डिफेन्स एटेची रहेका कर्णेल लियुले यसरी राजनीतिक नेतृत्वसँग गोप्य भेटवार्ता गर्नुलाई निकै अर्थपूर्णरुपमा लिइएको छ ।
सामान्यतया यसरी सैनिक अधिकारीले कार्यरत देशको राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिँदैन ।

त्यस्ता सबै भेटवार्ता राजदूतले नै गर्ने गर्छन् । तर चिनियाँ राजदूत हाउ यान्छी बेइजिङ गएकी छिन् । उनलाई २२ दिनअघि पछिल्लो अवस्था ब्रिफिङका लागि बेइजिङ बोलाइएको थियो । नेपालबाट गएपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि उनी आठ दिन मात्र क्वारेन्टाइनमा बसेर बाहिर निस्किएका थिइन् । बेइजिङमा पछिल्लो अवस्था ब्रिफिङ गरेपछि उनी थाइल्यान्ड पुगेको समाचार स्रोतले दाबी गरेको छ ।

ठीक त्यही बेला डिफेन्स एटेची कर्णेल लियुले माओवादी अध्यक्ष प्रचण्डसँग गोप्य भेटवार्ता गरेका हुन् । चिनियाँ महान् नेता माओको नाउँमा नेपालमा राजनीति गर्दै आएका नेता प्रचण्ड नेपालको राजनीतिका अत्यन्त रहस्यमय, अस्थिर र चलायमान नेता मानिन्छन् ।

उनी कहिले भारतपरस्त देखिन्छन् त कहिले अमेरिकानिकट देखिन्छन् । माओको नाम जोडेर राजनीति गरेकाले उनले चीनलाई पनि त्यसैगरी बेलाबखतमा विवेकको बन्दी बनाउँदै आएका छन् । प्रचण्डका यही भूलभुलैयाका बीचबाट कुनै पनि देशीविदेशी राजनीतिक शक्तिकेन्द्र अछूतो रहनसकेका छैनन् । बिगतमा उनले एमसीसी पास गर्न खेलेको नागबेली भूमिका तीमध्येको एक उदाहरण मात्र हो ।

एमसीसीकै बुई चढेर नेपालमा अमेरिकी प्रभाव व्यापक बढेको बेला प्रचण्डले चिनियाँ सैन्य अधिकारीसँग गरेको गोप्य वार्ताले प्रचण्डको अर्को रुप उजागर गरिदिएको छ । यस्तो दुर्लभ भेटवार्ताको पछाडिको रहस्यचाहिँ खुल्नसकेको छैन । तर अमेरिकी जर्नेल चाल्स एभ्लामनले नेपालको भ्रमण गरेर फर्किएलगत्तै चिनियाँ कर्णेल लियुले प्रचण्डसँग गरेको गोप्य भेटवार्तालाई कम आँक्न सकिँदैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया