Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा प्रदेश नं. १ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक

राष्ट्र बैंकद्वारा प्रदेश नं. १ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक

कृषि क्षेत्रमा ५२ अर्ब ११ करोड रुपैयाँ कर्जा


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार प्रदेश नं. १ को प्रथम अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नं. १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १२ दशमलव छ प्रतिशतले वृद्धि भई ५२ अर्ब ११ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा २३ दशमलव तीन प्रतिशतले बढेको थियो । २०७८ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कुल कर्जा ४६ अर्ब २९ करोड रहेको थियो । समीक्षा अवधिमा कुल कर्जा प्रवाहमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश नौ दशमलव छ प्रतिशत रहेको प्रतिवेदनका उल्लेख छ । २०७८ असार मसान्तमा यस्तो कर्जाको अंश नौ दशमलव आठ प्रतिशत रहेको थियो ।

२०७८ पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकहरुमा प्रवाहित कर्जामध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २९ दशमलव छ प्रतिशत छ । यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित शीर्षकहरुमा जिल्लागतरुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी ३२ दशमलव तीन प्रतिशत र ताप्लेजुङ जिल्लामा सबैभन्दा कम एक दशमलव दुई प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार २०७८ पुस मसान्तसम्म वार्षिक विन्दुगत आधारमा कुल औद्योगिक कर्जा १२ दशमलव चार प्रतिशतले बढेको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा यो प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योेगिक क्षेत्रमा प्रवाह गरेको कर्जा शून्य दशमलव पाँच प्रतिशतले घटेर एक खर्ब ४४ अर्ब छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा एक दशमलव तीन प्रतिशतले घटेको थियो । औद्योगिक कर्जाहरुमध्ये गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १७ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ भने निर्माणसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा सबैभन्दा बढी ३३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा निर्माणजन्य वस्तुको मूल्य उच्च भएका कारण निर्माणसँग सम्बन्धित गतिविधि प्रभावित भएकाले यस क्षेत्रमा प्रवाहित कर्जा घटेको देखिन्छ । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २६ दशमलव पाँच प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तुसम्बन्धी उद्योगतर्फ सबैभन्दा बढी ४६ दशमलव दुई प्रतिशत र विद्युत्, ग्यास तथा पानीतर्फ सबैभन्दा कम शून्य दशमलव सात प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

ताप्लेजुङमा सबैभन्दा कम शाखा संख्या
प्रदेश नं. १ अन्तर्गतका जिल्लाहरुमध्ये ताप्लेजुङमा बैंक तथा फाइनान्स कम्पनीहरुको शाखा संख्या सबैभन्दा कम देखिएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रदेश नं १ को प्रथम अर्धवार्षिक प्रतिवेदनअनुसार उक्त जिल्लामा सबैभन्दा कम अर्थात् ३७ वटा मात्र शाखाहरु सञ्चालनमा छन् ।

यस प्रदेशमा सबैभन्दा बढी शाखा भने मोरङ जिल्लामा छ । मोरङ जिल्लामा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या चार सय ४२ वटा छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तसम्म यो प्रदेशमा बैंक तथा वित्तीय संस्थाका थप एक सय तीनवटा शाखा विस्तार भएका छन् ।

२०७८ पुस मसान्तसम्म यस प्रदेशमा वाणिज्य बैंकहरुका सात सय ४९, विकास बैंकहरुका एक सय ८५, फाइनान्स कम्पनीहरुका ३० तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५२ समेत गरी जम्मा एक हजार आठ सय १६ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया