अर्थमन्त्रीको राजीनामा माग्दै विराटनगरमा उद्योगीहरूको आन्दोलन
विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी तथा मजदुरहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार उद्योगी तथा व्यवसायीहरूले विराटनगर धरान राजमार्ग ठप्प बनाउँदै अर्थमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् । आर्थिक विधेयक २०७९/२०८० ले उद्योगीलाई मर्कामा पारेको बताउँदै उनीहरूले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
घोषित कार्यक्रमअनुसार बिहीबार मोरङको बुढीगंगा गाउँपालिकास्थित विराटनगर–धरान सडकखण्डमा पर्ने गोकुवा चौकमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनका कार्यक्रमअनुसार शुक्रबार आन्तरिक राजस्व कार्यालय विराटनगर घेराउ गर्ने र त्यसबाट पनि अर्थमन्त्रीले आर्थिक विधेयक सच्चाउनेतर्फ कुनै पहल नगरेको खण्डमा सडक आन्दोलन गर्दै अनिश्चित समयसम्म चक्काजाम गर्ने कार्यक्रम रहेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । अध्यक्ष रिजालले आर्थिक विधेयकले जीआई वायर, वनस्पती घ्यू तेल, सेनिटेरी प्याड तथा यार्न उत्पादनका उद्योगीहरूलाई मर्का परेर बन्द गर्ने अवस्था सृजना भएको जानकारी पनि दिएका छन् । उनले उद्योगीलाई मर्का पर्नेगरी ल्याइएको विधेयकलाई सच्चाउनका लागि पटक–पटक आग्रह गरिए पनि कतै कुनै निकायबाट सुनुवाइ नहुँदा आफूहरू सडकमा उत्रिनुपरेको बताएका छन् ।
रिजालले अर्थमन्त्री जनार्दन शर्माले छिमेकी राष्ट्रका उद्योगीलाई पोस्ने काममा सरकारलाई अगाडि सारेको गम्भीर आरोप पनि लगाएका थिए । उद्योग क्षेत्रलाई धराशायी बनाउन सरकार नै प्रयासरत रहेको दाबी पनि अध्यक्ष रिजालले गरेका थिए । त्यसैगरी उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरूले समेत त्रुटि सच्याउने विषयमा छलकपट गरेको आरोप लगाए । अध्यक्ष प्याकुरेलले उद्योगीलाई मर्कामा पर्नेगरी काम गरिरहँदा प्रधानमन्त्रीले समेत आफ्ना मन्त्रीहरूलाई बचाउन तल्लिन रहेको आरोप लगाए । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग समेत पुगेर आफ्ना मागका विषयमा जानकारी गराएका थिए । उद्योगीहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समेत उद्योगीको माग जायज भएको भन्दै समर्थन गरेको अध्यक्ष प्याकुरेलले बताए । उनका अनुसार त्यसबेला अध्यक्ष प्रचण्डले समेत उद्योगीका जायज माग पूरा गराउन अर्थमन्त्रीलाई दबाब दिने भन्दै आश्वस्त बनाएको जानकारी गराएका थिए ।
उद्योगीहरूले गत वर्ष पनि अर्थमन्त्रीले दलाली गर्दै २४ वटा उद्योग बन्द गराउने निति लिँदा अहिले ती उद्योग रुग्ण अवस्थामा पुगेको आरोप लगाए । मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडाले कुनै एक व्यक्तिको लागि गरिएको यो निर्णयमा निर्णयकर्ता उद्योग व्यवसायीको हत्या भएको आरोप लगाएका थिए । विरोधका क्रममा उद्योगीसँगै श्रमिक र विभिन्न ट्रेड युनियनकर्मीहरू समेत सहभागी भएका थिए । स्थानीय गोकुवा चोकबाट सुरु गरिएको विरोध -याली बाँसबारी चौकसम्म पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रम मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त रूपमा आयोजना गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया