Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपत बढाउन आग्रह

पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपत बढाउन आग्रह


काठमाडौं । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसालले महँगिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपतलाई बढाउन आग्रह गरेकी छिन् । नेपाल सर्भेयर एसोसिएसनले जलविद्युत् आयोजनाको बीमाका समस्यामा केन्द्रित गर्दै आइतबार राजधानीमा आयोजना गरेको ‘जलविद्युत्को शक्तिः सेतो सुन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रकृतिले दिएको वरदान अर्थतन्त्रको महत्वपूर्ण स्रोत ऊर्जाको भरपुर उपयोग गर्न नसक्दा आर्थिक र सामाजिक विकासका दृष्टिले पछि परेको बताइन् ।

एक सय १२ वर्ष पहिले जलविद्युत् उत्पादन गर्ने एसियामै पहिलो राष्ट्र भएर पनि जलविद्युत्को उपयोग गर्ने सवालमा नेपाल पछाडि परेको उनको भनाइ थियो । पछिल्लो समय विद्युत् उत्पादनमा आत्मनिर्भरको बाटोमा पुगेको भन्दै उनले उद्योगधन्दाका लागि पनि अहिले ऊर्जा अभाव नभएको दाबी गरिन् । मन्त्री भुसालले जलविद्युत् आयोजनाको बीमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार रहेको समेत बताइन् । नाफामूलक तरिकाले मात्रै बीमा क्षेत्रलाई नलिन आग्रह गर्दै उनले सेवा प्रवाहका दृष्टिले हेर्नुपर्ने बताइन् ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुककै समृद्धिको मुख्य आधार जलविद्युत् आयोजनाहरूलाई बीमाका दृष्टिले जोखिमरहित बनाउन सके जलविद्युत्को निर्माण र भूमिकाले पनि तीव्रता पाउने बताए । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रकै महत्वपूर्ण पक्षका रूपमा सर्भेयर भएको भन्दै सर्भेयरले पीडाको बेलामा उपस्थिति जनाउने र उसकै रिपोर्टको आधारमा बीमितले राहत पाउने जानकारी दिए ।

सर्भेयरको विश्वसनीयता नै बीमा व्यवसायको साखसँग जोडिएको भन्दै उनले सर्भेयरको भूमिका र विश्वसनीयता बढाउन एसोसिएसनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमाको दरको विषय अन्तर्राष्ट्रिय अभ्यासअनुसार तय हुने बताउँदै जलविद्युत् क्षेत्रको बीमाको दरका विषयमा रहेको विवाद छलफलबाट समाधान गर्न सकिने उल्लेख गरे । कार्यक्रममा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्यांकनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ ।

नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युत्ले गर्नसक्ने योगदानलाई उच्च मनन् गर्दै कार्यशाला गोष्ठी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताए । कार्यक्रममा दुई सय जनाभन्दा बढीको सहभागिता रहेको आयोजकले पक्षले जनाएको छ । पछिल्लो समय जलविद्युत्को बीमाको विषयलाई लिएर ठूला–ठूला समस्याहरू देखा परिरहेको सन्दर्भमा सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग एकदिने छलफल तथा अन्तरक्रिया गर्न थालेको हो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया