Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री आह्वान

राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री आह्वान

बैंक, वित्तीय संस्था, बीमा कम्पनीसहित नेपाली नागरिकले पनि खरिद गर्न पाउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुसार बोलकबोलको माध्यमद्धारा असार १४ गते मंगलबार पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘ज’ (५ वर्षे) बिक्री गर्न लागिएको हो ।

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपराह्न तीन बजेसम्म आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकका अनुसार जारी मिति २०७९ असार १५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि वि.सं. २०८४ असार १५ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा ब्याजकर समेत लाग्नेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्याइएको छ । राष्ट्र बैंकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।

खरिद गर्न पाउने सीमा न्यूनतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यीबाहेकका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउनेछैनन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

२६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री
नेपाल राष्ट्र बैंकले असार १३ गते सोमबार पुनः २६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गनगरिएको हो । यसअघि यही असार ६ गते पनि राष्ट्र बैंकले २५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति असार १४ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ साउन १० गते, ९१ दिनेको २०७९ असोज ११ गते, एक सय ८२ दिने अवधिको २०७९ चैत १२ गते र तीन सय ६४ दिने अवधिको २०८० असार १२ गते परिपक्व हुने अवधि तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार सो दिन बिक्री भएको यी ट्रेजरीमा पाँच अर्ब रुपैयाँबराबरको नयाँ छ भने बाँकी पुरानो नवीकरणअन्तर्गतको रहेको छ । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया