Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामान्य प्रशासनमन्त्रीको सम्धी र सालोद्वारा लसकुस सहकारीमा २९ करोड बढी घोटाला

सामान्य प्रशासनमन्त्रीको सम्धी र सालोद्वारा लसकुस सहकारीमा २९ करोड बढी घोटाला


काठमाडौं । सहकारीले सर्वसाधारण बचतकर्ताको रकम ठग्नेमा राज्य सत्तामा हालीमुहाली गर्दै आएका राजनीतिक व्यक्तिका आफन्त र आसेपासेहरु नै बढी रहेका छन् । यही क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठका नातेदार पनि जोडिएका छन् ।

मन्त्री श्रेष्ठको सम्धी राममान श्रेष्ठ र मन्त्रीको सालो विद्या भूषण वज्राचार्यले लसकुस सहकारीका बचतकर्ताहरुको २९ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नगरेर ठगी गरेको आरोप लागेको छ र उनीहरु वर्षौँदेखि बचतकर्ताहरुलाई भुक्तानी दिने आश्वासन बाँड्दै उम्किँदै र भाग्दै आएका छन् ।

काठमाडौंको पकनाजोल, साउने पार्टीमा कार्यालय रहेको लसकुस बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरु वर्षौँदेखि निवेदन लिएर सहकारी नियमन गर्ने कार्यालय र प्रहरी प्रशासनमा धाइरहेका छन् तर उनीहरुले कहीँकतैबाट न्याय पाउनसकेका छैनन् ।

लसकुस सहकारीमा पवनवीर मालाकार अध्यक्ष रहेका छन् । उनी आफैँले सहकारीको आठ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पीडितहरुको भनाइ छ । उनले आफूलाई सहकारीको ज्ञाता भनेर सर्वसाधारण पीडित बचतकर्ताहरुलाई उल्टै दिग्भ्रमति पार्दै आएका छन् ।

उक्त सहकारीका उपाध्यक्ष विद्याभूषण वज्राचार्यले पनि सहकारीको छ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको बताइन्छ । उनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठका सालो हुन् । रकम फिर्ता माग्न जाने बचतकर्तालाई उनले गुण्डा लगाएर तर्साउँदै आएका छन् ।

उक्त सहकारीसँग जोडिएका सिद्धिरत्न वज्राचार्य ताहाचल निवासी हुन् । उनले लसकुस सहकारीबाट १२ करोड रुपैयाँभन्दा बढी अपचलन गरेका छन् । कुलेश्वरमा रहेको सार्क बहुउद्देश्यीय सहकारीको घोटालामा समेत जोडिएका वज्राचार्यले पनि सर्वसाधारण बचतकर्तालाई आफू सहकारी ज्ञाता भएको धमास दिएर उम्किँदै आएका छन् ।

लसकुस सहकारीको घोटालामा संलग्न अर्का व्यक्ति कार्यकारी प्रमुख राममान श्रेष्ठ हुन् । उनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठका सम्धी हुन् । मन्त्री श्रेष्ठकी छोरी राममानको छोराले बिहे गरेका छन् । राममानले पनि बचतकर्ताको १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको बताइएको छ ।

उनी पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् र दुई पटक त जेल नै बसिसकेका छन् । कालीमाटीका ईश्वरमान मानन्धर र राममान श्रेष्ठबीचको अपारदर्शी कारोबारले सहकारीको रकम डुबेको पाइएको छ । सहकारीको रकम लगेर रामकोटमा किनेको जग्गा हिले ईश्वरमानले कब्जा गरेको बताइएको छ । १० करोड रुपैयाँ मूल्य पर्ने उक्त जग्गा ईश्वरमानले एक करोड १७ लाख रुपैयाँमै कब्जा गरेका छन् ।

लसकुस सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि पीडितहरुले २०७७ मंसिर २९ गते सहकारी विभागमा रकम फिर्ता गराई पाऊँ भनी उजुरी गरेका थिए । सहकारीबाट ठगिएका व्यक्तिहरु राजन चित्रकार, सजिना चित्रकार, सशाड्ढ चित्रकार, सुन्दरकाजी श्रेष्ठ, रमेश श्रेष्ठ, तुलसीमाया श्रेष्ठ, मन्जु श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, तुलसीमाया श्रेष्ठ, मन्जु श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, सुजन श्रेष्ठ, सानु मैया श्रेष्ठ, गुलाफ मैया श्रेष्ठ, अनिर श्रेष्ठ, सुजिता शाही, रोशनबहादुर शाक्य, रोशना वज्राचार्य, सुमन महर्जन, श्रेयास महर्जन, श्लेस्मा महर्जन, कमला डंगोल, सानुमैया महर्जन, रोजिनी वज्राचार्य, विजय लक्ष्मी श्रेष्ठ, समन विस्ट, ल्याम्हपुच, नारायणदेवी महर्जन, नागर महर्जन, नेपालमान महर्जन सावित्री पहाडी, सृजना दराई, चतुरमान वाइवा, चन्द्रमाया वाइवा, कुमार श्रेष्ठ, सुवर्णमान मानन्धर समेत ५ जना, रोशन श्रेष्ठ, राजकुमार महर्जन, ब्लड डोनर्स एसोसिएसन अफ नेपाल, केदार श्रेष्ठ, सुशीला श्रेष्ठ भेरीबाबा श्रेष्ठ, यमुना श्रेष्ठ, कुशुमावती वज्राचार्य, समीर वहादुर श्रेष्ठ, नवीन श्रेष्ठ रेहना प्रधान, चुनुवज्राचार्य, सानुकाजी महर्जन, विजय बहादुर माली, मिरा थापा, जीना श्रेष्ठलगायतले हालेको उक्त उजुरीलाई यताबाट उता र उताबाट उता पठाउनेबाहेक केही प्रगति भएको छैन । बचतकर्ताहरुचाहिँ रकम फिर्ता नपाएर फत्र्याकफत्र्याक परेका छन् ।

सहकारी रहेकै भवनमा खोलेको लसकुश डिपार्टमेन्टल स्टोर र नयाँबजारमा खोलेको लसकुश पार्टी प्यालेस यसअघि नै बन्द भइसकेको छ । सहकारीका अध्यक्ष माली, उपाध्यक्ष वज्राचार्य र कार्यकारी राममान श्रेष्ठ सहकारीको कार्यालयमा भेटिँदैनन्, आक्कलझुक्कल भेटिए पनि उनीहरु एकातिर फुत्त लुत्किने गरेको पीडितहरु बताउँछन् । सहकारीका हर्ताकर्ता बनेका रोहित मास्केले कुनै जिम्मेवारी नै नलिने गरेको बताइन्छ ।

यस विषयमा प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा राममान श्रेष्ठ, सिद्धि रत्न शाक्य, पवनवीर मानन्धर, विद्याभूषण वज्राचार्य तथा रोहित मास्के समेत फोन सम्पर्कमा आएनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया