Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधार्मिक स्थलको भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या बढी

धार्मिक स्थलको भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या बढी


काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रदेश नं. १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौतीहरु विशेष अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले प्रदेश नं. १ मा पहिचान भएका धार्मिक स्थलहरुमध्ये छनोटमा परेका चारवटा धार्मिक स्थलमा हुने धार्मिक पर्यटकीय गतिविधिमा संलग्न धार्मिक पर्यटक, पर्यटकस्तरीय होटलका सञ्चालक, स्थानीय पूजा सामग्री, उपहार तथा हस्तकला व्यवसायी, यातायात व्यवसायी, स्थानीय व्यवसायी, उद्यमी, जनप्रतिनिधि, मन्दिर विकास/व्यवस्थापन समिति र प्रदेश नं. १ मा रहेका धार्मिक पर्यटनसँग सम्बद्ध निकायहरुबाट व्यापार तथा व्यवसायको अवस्था, यातायात सेवाको उपलब्धता, धार्मिकस्थलमा भएका विकास तथा पूर्वाधार निर्माण, विकासका लागि गठन गरिएका विकास/व्यवस्थापन समितिहरुको भूमिका साथै, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसँग सम्बन्धित प्राथमिक तथा द्वितीय तथ्यांक, सूचना तथा विवरण समेत संकलन तथा विश्लेषण गरी विशेष प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार उक्त प्रदेशमा धार्मिक स्थलको भ्रमण गर्ने ४५ प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेशा नोकरी तथा २५ प्रतिशत पर्यटकको मुख्य पेशा व्यापार रहेको पाइएको छ । सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुमध्ये ६७ दशमलव पाँच प्रतिशतले परिवारका सदस्यसहित धार्मिक स्थलको भ्रमण गरेको देखिएको छ भने परिवारका सदस्यबाहेक अन्य समूहगत रुपमा भ्रमण गर्ने पर्यटक २२ दशमलव पाँच प्रतिशत रहेको पाइएको छ ।

प्रतिवेदनअनुसार धार्मिक स्थलको भ्रमण गर्ने ३० देखि ४५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकको संख्या सबैभन्दा बढी ४० प्रतिशत र ६० वर्षभन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम १२ दशमलव पाँच प्रतिशत रहेको देखिएको छ । सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुको औसत भ्रमण अवधि दुई दशमलव पाँच दिन रहेको पाइएको छ । सर्वेक्षणमा सहभागी ८० प्रतिशत पर्यटकले आफ्नो मनोकाङ्क्षा प्राप्तिको लागि गरेको भाकल/वाचा पूरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ ।

प्रतिवेदनअनुसार विगत पाँच वर्षमा एक पटकभन्दा बढी धार्मिक स्थलको भ्रमण गरेका सर्वेक्षणमा सहभागी पर्यटकहरुको भ्रमण खर्च अघिल्लो पटकको तुलनामा ४३ दशमलव छ प्रतिशतले वृद्धि भएको देखिएको छ । धार्मिकस्थल भ्रमण गर्दा सर्वेक्षणमा सहभागी प्रतिपर्यटक औसत खर्च ११ हजार आठ सय रुपैयाँ भएको देखिएको छ ।

प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४३ दशमलव तीन प्रतिशत र होटल (खानासहित) र पूजा तथा उपहार सामग्री खरिदका लागि क्रमशः ३५ दशमलव नौ प्रतिशत र १० दशमलव छ प्रतिशत खर्च भएको देखिएको छ । धार्मिकस्थल वरपर रहेका पूजा सामग्री तथा हस्तकला व्यवसाय सञ्चालन गर्ने ९० प्रतिशत व्यवसायीको व्यवसाय सञ्चालन गर्ने मुख्य आधार धार्मिक पर्यटन रहेको पाइएको छ ।

धार्मिकस्थल वरपर रहेका पूजा सामग्री तथा हस्तकला व्यवसायको कुल बिक्रीमध्ये पूजा सामग्रीको बिक्रीअंश सबैभन्दा बढी ८० प्रतिशत र उपहार तथा हस्तकलाका सामग्रीको बिक्री अंश २० प्रतिशत रहेको पाइएको छ । धार्मिक स्थल वरपर रहेका पूजा सामग्री तथा हस्तकला व्यवसायकोे भारित औसत मुनाफा २८ दशमलव चार प्रतिशत रहेको देखिएको छ ।

धार्मिकस्थल वरपर रहेका ६५ प्रतिशत व्यवसायीले व्यापारलाई यथास्थितिमा सञ्चालन गर्ने र ३० प्रतिशत व्यवसायीले क्षमता विस्तार तथा सुविधा थप गर्ने योजना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । छनोटमा परेका होटलहरुले कोभिड–१९ महामारीभन्दा अगाडि प्रतिहोटल औसत पाँच जनाका दरले रोजगारी प्रदान गरेको देखिएको छ भने कोभिड– १९ महामारीको दोस्रो लहरपश्चात् प्रतिहोटल औसत दुई जनाका दरले रोजगारी गुमाएको देखिएको छ । औपचारिक रुपमा तालिम लिई होटल व्यवसाय सञ्चालन गर्ने होटल व्यवसायी ३० प्रतिशत र सानो व्यवसायको रुपमा सुरुवात गरी प्राप्त अनुभवको आधारमा होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायी ७० प्रतिशत रहेको पाइएको छ । छनोटमा परेका धार्मिक स्थल वरपर रहेका २० वटा होटलमध्ये केवल एउटा होटलले मात्र सेवा प्रवाह गरेबापतको भुक्तानी क्यूआर कोडको माध्यमबाट प्राप्त गर्ने गरेको र बाँकी १९ वटा होटलमा भुक्तानीको मुख्य माध्यम नगद रहेको देखिएको छ ।

सर्वेक्षणमा सहभागी भएका आन्तरिक पर्यटकहरुमध्ये १७ दशमलव पाँच प्रतिशत पर्यटकले धार्मिकस्थल वरपर रहेका होटलले प्रवाह गर्ने सेवाको स्तर अतिउत्तम र ३० प्रतिशतले उत्तम रहेको प्रतिक्रिया दिएको पाइएको छ । प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी यातायात व्यवसायीमध्ये बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यवसायीहरु ९० प्रतिशत र स्वपुँजी वा ठेक्कापट्टा प्रणालीबाट यातायात सञ्चालन गर्ने व्यवसायी १० प्रतिशत रहेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी भएका यातायात व्यवसायीहरुमध्ये ६५ प्रतिशत व्यवसायीहरुले कोभिड–१९ को कारण जारी बन्दाबन्दी र निषेधाज्ञाको समयमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले घोषणा गरेको कुनै पनि छुट, सुविधा तथा सहुलियत प्राप्त नगरेको देखिएको छ । छनोटमा परेका धार्मिक स्थलका विकास वा संरक्षण समितिहरुको आर्थिक वर्ष २०७६/०७७ को बजेटअनुसार धार्मिकस्थलको कुल बजेटमा सञ्चालन खर्च र विकास निर्माण खर्चको हिस्सा क्रमशः ५७ दशमलव सात प्रतिशत र ४२ दशमलव तीन प्रतिशत रहेको देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया