Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमसीसी संसद्बाट चाँडै अनुमोदन हुन्छ : अर्थमन्त्री खतिवडा

एमसीसी संसद्बाट चाँडै अनुमोदन हुन्छ : अर्थमन्त्री खतिवडा


काठमाडौं, फागुन ९
अर्थमन्त्री डा. युवराज खतिवडाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाको सम्झौता नेपालको संघीय संसद्ले चाँडै नै अनुमोदन गर्ने जानकारी दिएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका अमेरिकी कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेरासँगको भेटमा अर्थमन्त्री खतिवडाले सो जानकारी गराएका हुन् ।

एमसीसी मार्फत प्राप्त हुने अनुदान नेपाललाई आवश्यक रहेको विषयमा सबै पक्ष सहमत भैसकेको भन्दै अर्थमन्त्री खतिवडाले त्यसलाई नेपालको संसद्ले अनुमोदन गर्ने र कामहरु धमाधम सुरु हुने जानकारी गराएका थिए । अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री खतिवडा समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको बताएको अर्थ मन्त्रालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

अर्थमन्त्री खतिवडाले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्दै यसमा थप सहयोग आवश्यक भएको बताएका थिए ।

भेटमा अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा पनि जानकारी गराएका थिए । अर्थमन्त्रीले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै विश्वका धेरै जनसंख्या भएका चीन र भारत जस्ता मुलुकहरु छिमेकी भएकोले यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताएका थिए । अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया