Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२० वटा विकास बैंकले कमाए पाँच अर्ब ११ करोड

२० वटा विकास बैंकले कमाए पाँच अर्ब ११ करोड


सुरेश राउत
काठमाडौं, फागुन १२
सञ्चालनमा रहेका २४ वटा विकास बैंकहरुमध्ये २० वटाले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा पाँच अर्ब ११ करोड ९४ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यो मुनाफा विकास बैंकहरुले गत आर्थिक वर्षको छ महिनामा आर्जन गरेको खुद मुनाफाभन्दा सामान्यरुपमा मात्र बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुको यस्तो नाफा पाँच अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो ।

सम्बन्धित बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको छ महिनामा सबैभन्दा बढी खुद मुनाफा कमाउने बैंकहरुको सूचीमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा परेको छ । चुक्ता पुँजी चार अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ रहेको मुक्तिनाथले चालू यस अवधिमा ४८ अर्ब ७३ करोड ८७ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब २० करोड ३२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गर्दै ४७ करोड २५ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यस अवधिमाा बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ११ प्रतिशत मात्र रहेको छ । गत आवको सोही अवधिमा भने मुक्तिनाथको यस्तो नाफा ४२ करोड ९८ लाख नौ हजार एक सय ५३ रुपैयाँ रहेको थियो । मुक्तिनाथपश्चात् गरिमा विकास बैंक खुद मुनाफा आर्जनमा दोस्रो स्थानमा परेको छ । चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेको गरिमाले यस अवधिमा ३३ अर्ब ७३ करोड ८१ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब २१ करोड ५७ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा बैंकमा शून्य दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा गरिमाको यस्तो नाफा २९ करोड ५८ लाख ६९ हजार सात सय ७९ रुपैयाँ रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासिक अवधिमा कैलाश विकास बैंक भने खुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको छ । चुक्ता पुँजी दुई अर्ब ९२ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको कैलाशले चालू आवको छ महिनामा ३१ अर्ब ४३ करोड २८ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५५ करोड २१ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ३१ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकमा शून्य दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा कैलाशको यस्तो नाफा २९ करोड ४० लाख ३६ हजार तीन सय ५३ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी तीन अर्ब सात करोड २० लाख ६१ हजार रुपैयाँ महालक्ष्मी विकास बैंकले पनि चालू आवको छ महिनामा ३० करोड ५० लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा ३५ अर्ब सात करोड २६ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १८ करोड ६६ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा बैंकमा दुई दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने महालक्ष्मीको यस्तो नाफा १९ करोड ७६ लाख ४६ हजार दुई सय ४६ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी दुई अर्ब ६२ करोड २९ लाख चार हजार रुपैयाँ रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि चालू आवको छ महिनामा ३० करोड सात लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यस अवधिमा २६ अर्ब ७७ करोड ५६ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८९ करोड ८२ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकमा शून्य दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने शाइनको यस्तो नाफा १९ करोड ९० लाख ३४ हजार तीन सय ८५ रुपैयाँ रहेको थियो । ज्योति विकास बैंकले भने चालू आवको पछिल्लो अवधिमा २८ करोड आठ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । सो अवधिमा २९ अर्ब ६८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकमा शून्य दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । गत आवको सोही अवधिमा भने ज्योतिको यस्तो नाफा १७ करोड चार करोड ४७ लाख नौ सय ५८ रुपैयाँ रहेको थियो ।

यीबाहेक बढी नाफा कमाउनेहरुमध्ये लुम्बिनी विकास बैंकले चालू आवको पछिल्लो त्रैमासिकमा २५ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने गण्डकी विकास बैंकले २४ करोड ५० लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा लुम्बिनी र गण्डकीको यस्तो नाफा क्रमशः २३ करोड तीन लाख ९४ हजार पाँच सय ७५ रुपैयाँ र २६ करोड २५ लाख ६९ हजार नौ सय ३६ रुपैयाँ रहेको थियो । यसैगरी चालू आवको दोस्रो त्रैमासिकमा सांग्रिला डेभलपमेन्ट बैंकले १९ करोड १३ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा देव विकास बैंकले १८ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा यी दुई बैंकको खुद मुनाफा क्रमशः १९ करोड १० लाख ९७ लाख ६३ हजार रुपैयाँ र १९ करोड ४५ लाख ९३ हजार एक सय ३९ रुपैयाँ रहेको थियो । कामना सेवा विकास बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा १४ करोड ४८ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कामनाको यस्तो नाफा १३ करोड ८१ लाख ६३ हजार पाँच सय २४ रुपैयाँ रहेको थियो ।

यीबाहेक अन्य बैंकहरुको नाफा भने निक्षेप तथा कर्जा प्रवाहको आधारमा सन्तोषजनक देखिएको छ । सोमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमासिकमा तीन करोड चार लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक्सेल डेभलपमेन्ट बैंकले १० करोड २८ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यसैगरी ग्रिन डेभलपमेन्ट बैंकले एक करोड चार लाख २० हजार, सहयोगी विकास बैंकले पाँच करोड ६२ लाख नौ हजार, तिनाउ मिसन डेभलपमेन्ट बैंकले १० करोड ४६ लाख ८६ हजार, सिन्धु विकास बैंकले एक करोड चार लाख १५ हजार, कञ्चन डेभलपमेन्ट बैंकले चार करोड १० लाख ४२ हजार रुपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । चालू आवको दोस्रो त्रैमासिकमा कर्पोरेट डेभलमेन्ट बैंकले दुई करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सहारा विकास बैंकले एक करोड ४५ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया