Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउडिरहेको हेलिकप्टरबाट सामग्री खस्यो

उडिरहेको हेलिकप्टरबाट सामग्री खस्यो


महेन्द्र शाही
सोलुखुम्बु, फागुन १२
उडिरहेको हेलिकोप्टरबाट निर्माणका सामाग्री खसेको छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सीन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट २ रोल म्याटीस र इको प्यानलको ३१ थान जस्तापाता खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन । प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार शनिबार बिहान १०ः३६ बजे सोलुदुधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोला जंगलमा उक्त सामग्री खसेको हो । कैलाश एयरको ९ एनएएमटीको हेलिकोप्टरले दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।

यस विषयमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिका जनरल म्यानेजर प्रतापजंग पाण्डेले भने आफू नेपालबाहिर भएकाले जानकारी नभएको भन्दै आफ्नो कम्पनीको कम्जोरी लुकाउन खोजे । टेलिफोन संवादमा उनले आफूले घटनाको विषयमा केही पनि जानकारी नभएको बताए । खुम्बु क्षेत्रको लागि आवश्यक सामग्री ढुवानमा प्रयोग हुने सानो हेलिकोप्टरले झुण्डाएर ढुवानी गर्छ । तर, उडान हुने स्थलमा कुनै सुरक्षा जाँच भने हुँदैन ।

नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षाअन्तर्गत खनतलासी गर्नुपर्ने दफा १ मा विमानस्थलका अधिकारप्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खानतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु गराउनु हुँदैन । यस्तै सोही ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमतिबेगर त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको शर्तको विपरीत हुनेगरी वायुयान सञ्चालन गरेमा एक लाखदेखि १० लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ ।

विगतको दिनमा पनि यस्ता घटना भइरहेको भए पनि नियमनकारी निकाय मौन बसेको स्थानीयको भनाइ छ । हवाई उडानकै कारण असुरक्षित महशुस भइरहेको भन्दै स्थानीयले प्रहरी प्रशासनलाई गुहार मागेको भए पनि हालसम्म यस विषयमा कुनै निर्णय भने भएको छैन । गत भदौ १९ गते बिहीबारका दिन उडिरहेको कैलास एयरकै हेलिकोप्टरबाट सोलुदुधकुण्ड नगरपालिका २ को फेरामा सिरकलगायतको सामग्री खसेको थियो । शनिबारको घटना घना जङ्गलमा भएकाले मानवीय क्षति भने नभएको लुक्ला विमानस्थलका प्रमुख इमनाथ अधिकारीले बताए । तर, कुनै मानव बस्तीमा उक्त घटना भएको भए ठूलै क्षति हुने अधिकारीको भनाइ छ ।

अधिकारीका अनुसार उक्त हेलिकोप्टर लुक्ला विमानस्थलको हेलिप्याडमा सकुशल अवतरण गरिएको छ । हेलिकोप्टर कम्पनीको दादागिरीलाई स्थानीय प्रशासन तथा विभागले समेत सहयोग गरिरहेको स्थानीय पासाङ शेर्पाले बताए । यता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले भने यस घटनालाई गम्भीर रूपमा लिएको भन्दै प्रहरीको स्थलगत रिपोर्टपछि थप निर्णय गर्ने बताइन् । संवेदनशील घटना घटेको भन्दै प्रहरी टोली घटनास्थलतर्फ गएको उनको भनाइ छ । घना जंगलमा उक्त सामग्री खसेकाले प्रहरी पुग्न कठिन भएको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले घटनाको विषयमा लिखित जानकारी प्राप्त भएकाले समस्याको दिगो समाधानतर्फ लाग्ने बताए । ऐन तथा नियमावलीमा उल्लेख भएअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै क्षेत्रीले विमानस्थलबाटै उडान गर्नेगरी निर्णय गर्न सकिने जानकारी दिए । बारम्बार घटना भएको जानकारी आएकाले नियमअनुसार प्रक्रिया अगाडि बढाउन नागरिक उड्डयन कार्यलय गम्भीर भएर लाग्ने उनको भनाइ थियो ।

जिल्लाको माथिल्लो खुम्बु क्षेत्रमा सडक पहुँच नभएकाले सामान ढुवानी गर्ने सहज माध्यम नै हेलिकोप्टर रहेको छ । तर, उनीहरूले नियमविपरीत मनोमानी उडान तथा अवतरण गर्दा त्यस क्षेत्रका स्थानीयदेखि वन्यजन्तुलाई समेत असर परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भूमिराज उपाध्ययले बताए । उनका अनुसार उडान तथा अवतरणबापतको राजस्वसमेत उठ्न सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया