Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलघुवित्त वित्तीय संस्थाहरुलाई ऋणपत्र जारी गर्न बाटो खुल्ला

लघुवित्त वित्तीय संस्थाहरुलाई ऋणपत्र जारी गर्न बाटो खुल्ला


काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई पनि ऋणपत्र जारी गर्न बाटो खुल्ला भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा लघुवित्त संस्थाहरुलाई ऋणपत्र जारी गर्न नीतिगत व्यवस्था गरिने उल्लेख गरेको थियो ।

सोही नीतिअनुसार बुधबार लघुवित्त वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त केही शर्तहरुको अधीनमा रही आफ्नो प्राथमिक पुँजीको बढीमा शतप्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको हो । यसको लागि राष्ट्र बैंकबाट अनिवार्यरुपमा स्वीकृति लिनुपर्नेछ । सोही परिपत्रअनुसार राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा तोकिएका सुविधाहरुका अतिरिक्त थप सहुलियत प्रदान गर्ने घोषणा गरेको छ ।

यस्तो सहुलियतअन्तर्गत एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तिको एक प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्नेछ । यसैगरी वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतमाथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्तसम्मको लागि छुट प्रदान गर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

यसअघि इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस्तो छुट दिने व्यवस्था रहेको राष्ट्र बैंकले जनजाएको छ । सो अनुसार २०७९ असार मसान्तसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तिको एक प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतमाथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०७९ असार मसान्तसम्मको लागि छुट प्रदान गर्ने व्यवस्था रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया