Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिनियाँ नागरिक अपहरणमा प्रहरी नै संलग्न

चिनियाँ नागरिक अपहरणमा प्रहरी नै संलग्न


काठमाडौं । नेपाल प्रहरीमा कार्यरत दुई जनाको संलग्नतामा काठमाडौंमा चिनियाँ नागरिकको अपहरण भएको खुलेको छ । नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहलाई पक्राउ गर्ने क्रममा अपरणमा दुई जना प्रहरी संलग्न भएको खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई बिहीबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ वर्षीय कर्णबहादुर गुरुङ छन् । उनी नेपाल प्रहरीमा हवल्दार पदमा कार्यरत छन् । यस्तै, बर्दिया राजापुरका २८ वर्षीय शिव सुनार पनि पक्राउ परेका छन् । सुनार पनि प्रहरी जवान रहेको बताइएको छ ।

पक्राउ पर्ने अन्यमा गोरखा शिरानचोकका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दीका २९ वर्षीय रोहित मगर, प्यूठान बागदुलाका २८ वर्षीय विशाल मगर र नुवाकोट शिवपुरीका २७ वर्षीय विनोद केसी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिनियाँ भाषाका दोभासेसमेत रहेका ओखलढुङ्गाका २६ वर्षीय सूर्यबहादुर राईलाई बोलाएर चिनियाँ नागरिक याङलाई बोलाउन लगाई नयाँ बसपार्कस्थित मित्रनगरको न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजमा बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ व्यक्तिले चिनियाँ व्यक्तिसँग एक करोड फिरौती मागेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिसँग आठ लाख १४ हजार नौ सय नगद, २६ थान मोबाइल र हतकडी एक थान बरामद गरेको छ । पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया