Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसंँगै नेपालका उद्योगीहरू समस्यामा

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसंँगै नेपालका उद्योगीहरू समस्यामा


विराटनगर । गत जेठ महिनादेखि भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालका मैदा उद्योगीहरू समस्यामा परेका छन् । नेपाली खाद्य उद्योगहरूले आयात गर्दै आएको गहुँमा भारत सरकारले निर्यात प्रतिबन्ध लगाएपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका चाउचाउ, बिस्कुट, पाउरोटी, चाउमिनलगायतका उद्योगहरू नराम्रोसँग प्रभावित हुन थालेका हुन् ।

भारतमा उत्पादन हुने गहुँको निर्यातमा प्रतिबन्ध भएपछि हाल विश्वव्यापीरूपमा नै गहुँको मूल्य ह्वात्तै बढेको छ । मूल्य बढेसँगै सुनसरी मोरङ औद्योगिक करिडोरका विष्कुट र चाउचाउ उद्योगीहरूले उत्पादन नै कटौती गर्नुपरेको बताएका छन् । तीन महिना अगाडि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको असर अहिले नेपाली उद्योगहरूमा पर्न थालेको छ । एक उद्योगीका अनुसार भारतले निर्यात रोकेपछि गहुँको मूल्य एक्कासि बढेको र अब उद्योग नै बन्द गर्ने अवस्था आएको छ । नेपालमा गहुँको पिठो र मैदा उत्पादन गर्दै आएका उद्योगीले गहुँको अभाव देखाउँदै मनपरी मूल्य कायम गर्न थालेपछि बिस्कुट र चाउचाउ उद्योगहरूले उत्पादन नै कटौती गरेको चाउचाउ उद्योग सञ्चालन गर्दै आएका उद्योगी तथा उद्योग संगठन मोरङका कोषाध्यक्ष विपिन कावराले जानकारी दिए । उद्योगले आफ्नो उत्पादन कटौती गरेसँगै उद्योगमा कार्यरत मजदुरलाई समेत पाल्न नसक्ने अवस्था आएको उनले बताए ।

सुनसरी मोरङ औद्योगिक करिडोर मात्रै नभएर पूरै देशमा सञ्चालन रहेका चाउचाउ उद्योगका लागि गहुँको आयातमा भारतमाथि नै निर्भर रहनुपरेको छ । भारत सरकारले गत जेठ महिनामा आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यात रोक्ने निर्णय गरेको थियो । त्यति बेला भारतमा मात्रै नभएर विश्वबजारमा नै गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको थियो । यसरी मूल्य वृद्धि हुँदा उत्पादित वस्तुको लागत मूल्य बढ्न जाने भएकाले महँगीको मारमा उपभोक्ता नै पर्ने भएपछि उत्पादन नै कटौती गर्ने अवस्था आएको उद्योगीको भनाइ छ ।

पछिल्लो समय नेपालमा मैदा उत्पादन ताथ पिठो उत्पादन गर्दै आएका उद्योगीले भारतीय बिचौली व्यापारीमार्फत तीन हजार तीन सय रूपैयाँ प्रतिमेट्रिक टन पर्ने गहुँलाई चार हजार आठ सय रूपैयाँसम्म हालेर खरिद गर्ने गरेका छन् । नेपाल भारत खुला सीमामा फाइदा उठाउँदै मोरङको मायागञ्जदेखि सुनसरीको साहेवगञ्जसम्मको अवैध बाटो प्रयोग गरेर भारतका बिचौलीया व्यापारीहरूले सेटिङमा भारतीय गहुँ नेपाली उद्योगीहरूलाई उपलब्ध गराउने गरेका छन् । प्रहरीसहितको सेटिङमा आयात गरिएको गहुँमा खर्च बढ्न पुगेका कारण नेपाली उद्योगीले पनि आफ्नो उत्पादनको मूल्य वृद्धि गर्नुपरेको यहाँका उद्योगी बताउँछन् ।

भारतलगायत नेपालमा गहुँको प्रयोग रोटी बनाउनेदेखि चाउचाउ, बिस्कुट, पाउरोटी, चाउमिनलगायतका खाद्य वस्तुको उत्पादन गर्न उद्योगहरूले अत्यधिक मात्रामा गरेका छन् । भारत सरकारले भारतको गहुँ निर्यात प्रतिबन्ध लगाउने निर्णय गरेसँगै जी सेभेनको सभामा समेत विश्व बजारका सबै मुलुकले आफ्नो आवश्यकता पूरा गर्न निर्यात बन्द गर्ने हो भने आगामी दिनमा अन्तर्राष्ट्रियरूपमा नै नराम्रो स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत रहँन सदस्य राष्ट्रहरूले आग्रह समेत गरेका छन् । खासगरी, रुस–युक्रेन युद्धका कारण यति बेला विश्वभर नै गहुँको आपूर्ति व्यवस्था खलबलिएको प्रति सचेत रहन पश्चिमा राष्ट्रहरूले समेत आग्रह गरेका हुन् । गहुँमा भएको मूल्यवृद्धिसँगै भारतले आन्तरिक माग पूरा गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसअघि नेपाली पाम उद्योग नै बन्द हुनेगरी इन्डानेसियाले पाम तेलको निकासी पूर्णरूपमा रोकेको थियो । जसको कारण आन्तरिक बजारमा तेलको मूल्य एक्कासि बढेर गएको थियो । जुन अहिलेसम्म पनि देशमा अनियन्त्रितरूपमा तेलको मूल्य वृद्धि भई नै रहेको छ । अब गहुँको प्रतिबन्धसँगै नेपाली चाउचाउ, बिस्कुट, पाउरोटी, चाउमिनलगायतको मूल्य पनि अनिन्त्रित बन्ने अवस्थामा पुगेको भन्दै उद्योगीले चिन्ता व्यक्त गरेका छन् ।

गहुँ र चिनी आयात गर्न व्यापारीसँग प्रस्ताव माग
सरकारले भारतबाट गहुँ र चिनी आयात गर्ने उद्योगी व्यवसायीहरुसंग आयातको लागी प्रस्ताव माग गरेको छ । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको गहुँ तथा चिनी नेपाललाई विशेष स्वीकृतिमा निकासी गर्ने भएपछि सरकारले नेपाली व्यापारीसँग आयातका लागि प्रस्ताव माग गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सुचना जारी गरि साउन २८ गतेभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ । मन्त्रालयले आयातकर्तासँग प्रारम्भिक चरणको आशयपत्र माग गरेको छ । जसमा कम्पनीको नाम, भारतबाट खरीद गर्ने उद्योगको विवरण, आायत गर्नुको उद्देश्य, कुन नाकाबाट ल्याउने हो सो को विवरण लगायत उल्लेख गर्नुपर्नेछ । यस्तै, कति परिमाणमा ल्याउने हो, यसको मूल्य तथा कुन मितिसम्म ल्याइसक्ने लगायतका विषयहरु समावेश गरी मन्त्रालयमा निवेदन दिनुपर्नेछ । उद्योग व्यवसाय दर्ता गरेका, कर चुक्ता प्रमाण पत्र लिएका, आयात तथा निर्यात गर्न इजाजतपत्र लिएका, प्रचलित कानून बमोजिम क्वारेन्टिन लगायतका इजाजतपत्र लिएका व्यवसायीसँग सरकारले गहुँ र चिनी आयात गर्न आसयपत्र मागेको हो ।

गहुँको अभावमा चाउचाउ, बिस्कुट, पाउरोटी, चाउमिन लगायतका उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि सरकारले कुटनीतिक पहल गरी भारतबाट गहुँ आयात सुरु गर्न लागेको हो । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ । तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्दै आएका छन् । भन्सार विभागको तथ्यांकअनुसार गत जेठदेखि नै गहूँको आयात ठप्प छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया