Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकल्याणकारी कार्यमा झण्डै १ अर्ब वितरण

कल्याणकारी कार्यमा झण्डै १ अर्ब वितरण


काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले आफ्नो नियमित कार्यअन्तर्गत कल्याणकारी कार्यहरु गर्दै आएको छ । कल्याणकारी कार्यअन्तर्गत मुख्य गरी मृतक कामदारको नजिकका हकवालालाई आर्थिक सहायता प्रदान गर्ने, अंगभंग भएकालाई आर्थिक सहायता प्रदान गर्ने, कामदारका परिवारलाई स्वास्थ्य उपचार सहयोग, शव व्यवस्थापन र उद्धारसम्बन्धी कार्य गर्दछ ।

बोर्डले गत आर्थिक वर्षमा कल्यणकारी कार्यअन्तर्गत ९९ करोड चार लाख ३२ हजार रुपैयाँ खर्च गरेको छ । सो रकम एक हजार नौ सय २९ जना महिला र चार हजार आठ सय ७० जना पुरुष गरी छ हजार सात सय ९९ जनाको लागि खर्च गरेको हो । जो वैदेशिक रोजगारीमा गएका वा तिनीहरुको परिवारको लागि आर्थिक सहयोग तथा उद्धारका लागि खर्च गरिएको हो । जसमध्ये मृतक कामदारका परिवारलाई अनलाइन प्रणालीबाट आर्थिक सहायतास्वरुप ८३ करोड ६० लाख ९९ हजार रुपैयाँ वितरण गरिएको छ । जुन ४६ महिला र एक हजार ३३ जना पुरुष गरी एक हजार चार सय ७९ जनाको परिवारलाई आर्थिक सहायता वितरण गरिएको हो । २० जना महिला र दुई सय २५ जना पुरुष गरी कुल दुई सय ४५ जना अंगभंग/बिरामी भएका कामदारलाई अनलाइन प्रणालीबाट आर्थिक सहायतास्वरुप नौ करोड १७ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको छ । पाँच जना महिला र चार जना पुरुष गरी अनलाइन प्रणालीबाट औषधोपचार सहयोग प्रयोजना आर्थिक सहायतास्वरुप चार लाख ३० हजार रुपैयाँ वितरण गरिएको छ ।

वैदेशिक रोजगारीमा जानेका परिवारलाई आर्थिक सहायता अनलाइन प्रणालीमार्फत वितरण गर्ने भएसँगै भौतिक उपस्थितिसहित काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ । पीडित परिवारहरु काठमाडौं आर्थिक सहायता लिन आउँदा ठगिने तथा असुरक्षित हुने हुँदा अनलाइन प्रणालीले सहज भएको बोर्डका अधिकारीहरु बताउँछन् । अनलाइन प्रणली भएसँगै आर्थिक सहायता लिन आफ्नो समयानुकूल र आफ्नै ठाउँबाट लिनसक्ने हुँदा सहज भएको बोर्डका सूचना अधिकारी टिकामणि नेउपानेले बताए ।

यस्तै, गत आर्थिक वर्षमा उद्धारका लागि, शव झिकाउन, शव ढुवानी गर्ने लगायतका कामहरुको लागि पनि बोर्डले आर्थिक सहायताको कामलाई अघि बढेको जनाएको छ । एक सय एक जना महिला र आठ सय ९८ जना महिला गरी नौ सय ९९ जनाका लागि १० लाख ४२ हजार रुपैयाँ, ११ जना महिला र दुई सय दुई जना पुरुष गरी दुई सय १३ जनाको शव झिकाउन ९५ लाख २३ हजार रुपैयाँ, ३८ जना महिला र सात सय ५७ जना पुरुष गरी सात सय ९५ जनाको शव घरसम्म ढवानी गर्नका लागि दुई करोड ६३ लाख ५१ हजार रुपैयाँ वितरण गरिएको छ ।

यस्तै कल्याणकारी कार्यअन्तर्गत चार सय ६५ जना महिला श्रमिकहरुलाई अभिमुखीकरण तालिम लिएबापतको रकम शोधभर्ना गर्न तीन लाख २५ हजार रुपैयाँ र एक हजार दुई सय ४३ जना महिला र एक हजार तीन सय ५१ जना महिला गरी कुल दुई हजार पाँच सय ९४ जनालाई वैदेशिक रोजगारी छात्रवृत्ति दिनको लागि दुई करोड ४८ लाख ८६ हजार रुपैयाँ वितरण गरिएको छ ।

बोर्डले कल्याणकारी कार्य, अभिमुखीकरण तालिम, श्रम सम्झौतासम्बन्धी कार्यहरु वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ मा रही तथा बोर्डका निर्णय र निर्देशनबमोजिमका कार्यहरु सम्पादन गर्दछ । बोर्डबाट हालसम्म मुख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिक मन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन, विदेशमा सुरक्षित गृह सञ्चालन गर्ने कार्य गर्दै आएको छ । उपर्युक्त कार्यहरु सञ्चालन गर्न बोर्डको एक कल्याणकारी कोष रहने व्यवस्था छ । उक्त कोषमा मुख्य रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुले प्रचलित कानुनले तोकेबमोजिम जम्मा गरेको रकम रहने व्यवस्था छ ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २३ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्र अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित हुँदै गएको छ । तसर्थ बोर्ड यस क्षेत्रलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन कामदार, व्यवसायी, नागरिक समाज र अन्य सबै सम्बद्ध निकायहरुबीच समन्वय, सहयोग र सहकार्य रहनुपर्ने दृष्टिकोण राखी कार्य गर्दै आएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया