Techie IT
×
गृहपृष्ठसमाचारभन्सारमा एजेन्टले प्रतिनिधि छान्न पाउने नियमको दुरूपयोग !

भन्सारमा एजेन्टले प्रतिनिधि छान्न पाउने नियमको दुरूपयोग !


विराटनगर । विराटनगर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न भन्सार एजेन्टभन्दा एजेन्टका प्रतिनिधिहरूको जीवनस्तर विलासी बन्दै गएको घटना सार्वजनिक भएपछि कानुनी दायरामा ल्याउन भन्सार विभागले आवश्यक परामर्श सुरु गरेको छ ।

अर्थ मन्त्रालयअन्तर्गत रहेका भन्सार कार्यालयहरूमा भन्सार जाँचपासको सहजीकरण गर्ने उद्देश्यले भन्सार विभागबाट भन्सार एजेन्टको इजाजत पाएका भन्सार एजेन्टले आफूसहित दुई जना भन्सार प्रतिनिधिका रूपमा काम गर्नेगरी प्रतिनिधि तोक्न सक्ने अधिकारको पछिल्लो समय व्यापक दुरूपयोग हुनेगरेको निष्कर्ष भन्सार विभागले निकालेको छ । यही प्रावधानलाई टेकेर भन्सार एजेन्टले प्रतिनिधि तोक्न थालेपछि अहिले भन्सार कार्यालयमा हुने जाँचपाससम्बन्धी काममा व्यापक अनियमितता हुनेगरेको पाइएको छ । जसले गर्दा सरकारले भन्सारमार्फत संकलन गर्दै आएको राजस्वको ठूलो हिस्सा गुमाउनुपर्ने अवस्था दैनिकरूपमा बढेर गएको भन्सार विभाग स्रोतले बताएको छ ।

स्रोतका अनुसार वीरगञ्ज भन्सारमा कार्यरत भन्सार एजेन्टहरूले विराटनगरलगायत मेची भन्सार र भैरहवा भन्सारसम्म नै भन्सार प्रतिनिधिका रूपमा काम गर्ने भन्दै प्रतिनिधि नियुक्त गरेको तथ्यांक भन्सार विभागले राखेको छ । वीरगञ्ज भन्सारपछि विराटनगर भन्सारमा भन्सार एजेन्टले व्यापकरूपमा भन्सार प्रतिनिधि नियुक्ति गर्नेगरेका छन् । भन्सार एजेन्टभन्दा भन्सार प्रतिनिधिले भन्सार जाँचपासमा संलग्न हुँदा व्यापक हिनामिना गर्नेगरेका छन् । जाँचपासको सम्पूर्ण जिम्मेवारी भन्सार एजेन्टको टाउकोमा जाने भएकाले पनि भन्सार प्रतिनिधिहरूलाई आम्दानीको स्रोत बनाउने राम्रो अवसर भएको बताउन थालिएको छ ।

विराटनगर भन्सारमा कार्यरत भन्सार प्रतिनिधिहरूले पछिल्लो पटक बढ्दै गएको विलासी जीवनशैलीले पनि उक्त कुराको पुष्टि हुने भन्सार स्रोतको भनाइ छ । भन्सार जाँचपासमा संलग्न एजेन्टका प्रतिनिधिको जीवनस्तर अपेक्षाभन्दा बढी विलासी हुनुले पछिल्लो समय सरोकारवाला निकायलाई विशेषरूपमा चिन्तित बनाउँदै गएको छ । विराटनगर भन्सारमा भन्सार एजेन्टको प्रतिनिधिका रूपमा सक्रिय भएर लागेको १० देखि १५ वर्षको अन्तरालमा नै केही भन्सार प्रतिनिधिको विलासी जीवनशैलीले गर्दा भन्सार प्रतिनिधिहरूको आम्दानीको स्रोतलाई लिएर टिकाटीप्पणी सुरु भएको हो । व्यक्तिगत पान नम्बरका भरमा लाखौँको कारोबार गर्ने भन्सार प्रतिनिधिलाई राज्यले करको दायरामा ल्याउने कि नल्याउने भन्ने गम्भीर प्रश्न समेत उठ्न थालेको छ ।

विराटनगर भन्सारमा पटक–पटक भन्सार जाँचपाससम्बन्धी विषयलाई लिएर विवादित बन्दै आएका भन्सार प्रतिनिधिका रूपमा कार्यरत सञ्जय दुगढ, सुनिल पोद्दार, राजेश भट्टराई, राजेश ठाकुर, अरविन्द ठाकुर र सन्तोष खरेलको विलासी जीवनशैलीलाई लिएर टिकाटिप्पणी समेत सुरु भएको हो । समान्य जीवन बिताउँदै आएका यी भन्सार प्रतिनिधिहरू पछिल्लो समय सुविधासम्पन्न विलासी गाडीको प्रयोग गर्न थालेका छन् । कतिपय भन्सार प्रतिनिधिहरूले विराटनगरमा सार्वजनिक हुने डरले गर्दा भारतीय नम्बरप्लेटका भारतीय महँगा गाडी खरिद गरेर भारतमा नै भाडामा सञ्चालन गर्दै आएका छन् । यो छोटो अवधिमा भन्सार एजेन्टका प्रतिनिधिको जीवनस्तर एक्कासि बढ्दा पनि राज्यका सबै निकायले भन्सार एजेन्टका प्रतिनिधिलाई कानुनी दायरामा ल्याउन किन ढिला गरिएको भन्ने कुरा अहिलेसम्म पनि सार्वजनिक हुन सकेको छैन ।

विराटनगर भन्सारलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएका भन्सार एजेन्टको संख्या मात्र १८ रहेको छ । तर विराटनगर भन्सारलाई नै आफ्नो कार्यक्षेत्र बनाएर भन्सार प्रतिनिधिका रूपमा कार्यरत भन्सार प्रतिनिधिको संख्य भने ५० को हाराहारीमा रहेको पाइएको छ । विराटनगर भन्सार, मेची भन्सार र वीरगञ्ज भन्सारमा रहेका भन्सार एजेन्टले समेत आफ्ना भन्सार एजेन्ट प्रतिनिधि नियुक्ति गरेपछि भन्सार एजेन्टभन्दा भन्सार एजेन्टका प्रतिनिधिको संख्या उल्लेख्यरूपमा विराटनगर भन्सारमा बढी भएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया