Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्स कम्पनीहरूको नाफामा संकुचन : लगानीयोग्य रकम अभावको प्रभाव खुद मुनाफामा

फाइनान्स कम्पनीहरूको नाफामा संकुचन : लगानीयोग्य रकम अभावको प्रभाव खुद मुनाफामा


काठमाडौं । फाइनान्स कम्पनीहरुको खुद मुनाफामा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षमा १४ वटा फाइनान्स कम्पनीहरुले कुल एक अर्ब ७५ करोड ६१ लाख ६६ हजार चार सय ७० रुपैयाँ खुद मुनाफा कमाएका थिए । तर आव २०७८/०७९ को सुरुवाती त्रैमासिकमा फाइनान्समा लगानीयोग्य रकमको अभाव देखियो ।

बजारमा कर्जाको माग उच्चरुपमा बढेको अवस्थामा वित्तीय प्रणालीमा अपेक्षितरुपमा निक्षेप आउन सकेन । जसले गर्दा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह दुवैमा संकुचन आयो । यसको दबाब फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानी हुँदै खुद मुनाफामा प-यो । सोही कारण आव २०७८/०७९ मा फाइनान्सहरुको खुद मुनाफामा अघिल्लो आवको तुलनामा ४२ करोड २६ लाख ६३ हजार रुपैयाँले कमी आएको छ । जसअनुसार २०७८/०७९ मा सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीहरुले एक अर्ब ३३ करोड ३५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । सबै किसिमका गरी हालसम्म १४ वटा फाइनान्स कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा आठवटा फाइनान्सहरुको नाफा अघिल्लो आवको तुलनामा बढेको देखिएको छ । यस अवधिमा छवटा फाइनान्सको खुद मुनाफा भने घटेको छ ।

अपरिष्कृत वित्तीय विवरण आव २०७८/०७९ मा सबैभन्दा बढी नाफा आईसीएफसी फाइनान्सले कमाएको छ । आईसीएफसीले यस अवधिमा २० करोड छ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । खुद मुनाफा आर्जनमा एक नम्बरमा परे पनि आईसीएफसीको नाफा अघिल्लो आवको तुलनामा भने घटेको हो । अघिल्लो आवमा आईसीएफसीको नाफा २४ करोड १४ लाख २३ हजार रुपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा दोस्रो स्थानमा परेको गुडविल फाइनान्सले भने आव २०७८/०७९ मा १८ करोड ८५ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा भने गुडविलको यस्तो नाफा १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ रहेको थियो । बेष्ट फाइनान्स भने आव २०७८/०७९ मा १६ करोड ७२ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने तेस्रो ठूलो फाइनान्स बन्न सफल भएको छ । अघिल्लो आवमा बेष्टको यस्तो नाफा आठ करोड ८३ लाख २३ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवमा ४९ करोड ७२ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएको मञ्जुश्री फाइनान्सले भने आव २०७८/०७९ मा १० करोड ८४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ ।

पोखरा, गुह्येश्वरी मर्चेन्ट, गोर्खाज र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले भने आव २०७८/०७९ मा क्रमशः १० करोड १३ लाख २३ हजार, नौ करोड ७९ लाख ८२ हजार, नौ करोड २१ लाख १३ हजार र नौ करोड १९ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएका छन् । अघिल्लो आवमा भने यी फाइनान्सहरुको यस्तो नाफा क्रमशः १२ करोड ७० लाख ८२ हजार, ११ करोड १७ लाख ३७ हजार, १० करोड ४९ लाख सात हजार र ११ करोड ४४ लाख ५६ हजार रुपैयाँ रहेको थियो । रिलायन्स, सेन्ट्रल र प्रोग्रेसिभ फाइनान्सले भने आव २०७८/०७९ मा क्रमशः सात करोड २७ लाख एक हजार, छ करोड ४३ लाख ९४ हजार र पाँच करोड एक लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएका थिए । अघिल्लो आवमा भने यी फाइनान्सहरुको यस्तो नाफा क्रमशः १४ करोड ९५ लाख छ हजार, १० करोड ९२ लाख छ हजार र चार करोड ११ लाख ५२ हजार रुपैयाँ थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७८/०७९ मा नेपाल फाइनान्सले चार करोड ८५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा जानकी फाइनान्सले भने चार करोड ३० लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने नेपाल फाइनान्सले दुई करोड ६२ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा जानकी फाइनान्सले तीन करोड ११ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

समृद्धि फाइनान्सले भने आव २०७८/०७९ मा जम्मा ३४ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । समृद्धिको यो मुनाफा फाइनान्स कम्पनीहरुमध्येकै सबैभन्दा कमजोर हो । अघिल्लो आवमा भने समृद्धिको यस्तो दुई करोड आठ लाख ८० हजार रुपैयाँ रहेको थियो । क्षेत्रीयस्तरको मल्टिपर्पस फाइनान्ससहितका अन्य दुईवटा फाइनान्स कम्पनीहरुको भने अझै अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक भएको छैन । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया