Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमनिट्रान्सफरका नाममा अवैध कारोबार, राष्ट्र बैंक भने बेखबरजस्तै

मनिट्रान्सफरका नाममा अवैध कारोबार, राष्ट्र बैंक भने बेखबरजस्तै


विराटनगर । सरकारले निर्वाचन घोषणा गरेसँगै भारतीय सीमा नाका नजिकमा सञ्चालन हुँदै आएका भारु र मोरुको कारोबारमा संलग्न व्यवसायीले अहिले अवैध कारोबारलाई तीव्रता दिएका छन् । हुण्डी व्यापारको बदलामा पछिल्लो समय केही भारु मोरुका व्यवसायीले आईएमई वा मनिट्रान्सफरका नाममा समेत अवैध कारोबार सञ्चालन गर्नेगरेको पाइएको छ ।

विराटनगरमा खुलेका आईएमई र मनिट्रान्सफरहरूले खुलेआम अवैध भारु र वैदेशिक मुद्राको समेत कारोबार गरिरहेको तथ्य सार्वजनिक भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक भवन भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी नै यस्तो अवैध कारोबारमा संलग्न हुनेगरेको समाचार स्रोतले दाबी गरेको छ । आईएमई र मनिट्रान्सफरको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अधिकार पाएका मनिट्रान्सफरहरूले निश्चित रकम कमिसनबापत पाउने गर्दछन् । तर मनिट्रान्सफरहरूले एक सय भारु बिक्री गर्दा एक सय ६५ देखि एक सय ७० रूपैयाँसम्म नेपाली पैसा लिएर भारु बिक्री गर्नेगरेका छन् ।

निश्चित कमिसनभन्दा अवैध भारुको कारोबारबाट मुनाफा राम्रो हुने हुँदा यहाँ रहेका अधिकांश आईएमई मनिट्रान्सफहरू अवैध भारुको कारोबारमा संलग्न रहेको स्रोतको दाबी छ । केही वर्षअगाडि विराटनगरका एक व्यवसायीलाई वैदेशिक मुद्रा अपचलनमा प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान विभागमार्फत मुद्दा हालेपछि केही कमी भएको वैदेशिक मुद्राको कारोबार पछिल्लो समय एक्कासि बढेर गएको स्थानीय बताउँछन् । मनिट्रान्सफका नाममा खुलेआम वैदेशिक मुद्राको अवैध कारोबार हुनेगरेको सरोकारवालाको भनाइ छ ।

स्रोतका अनुसार आईएमई मनिट्रान्सफरबाट आधिकारिक बिक्रेताको अनुमति प्राप्त गरी होडिङ बोर्ड राख्ने तर कारोबार अवैध भारु तथा डलरको हुन थाले पनि आईएमई सञ्चालनको अनुमति दिने निकाय भने बेखबरजस्तै छ । हाल विराटनगरमा भारु र मोरुको कारोबार गर्नको लागि करिब ५० वटा मनिचेन्जरलाई नेपाल राष्ट्र बैंकले आधिकारिकता दिएको बताइन्छ । यसमध्ये केही मनिचेन्जर अवैध भारु तथा डलरको कारोबार र वैदेशिक मुद्राको अपचलन मुद्दामा खारेजीमा परेका थिए । खारेजीमा परेका मनिचेन्जहरू नै अवैध धन्धामा सक्रिय भएर लागेका छन् ।

राष्ट्र बैंकले कारबाही गरिसकेपछि पनि त्यस्ता मनिचेन्जरहरू आईएमई मनिट्रान्सफरको ब्यानरमा खुलेआम अवैध भारुको कारोबारमा संलग्न रहेको स्रोतको दाबी छ । यस्तै कुनै इजाजतै नलिई सामान्य व्यापार गर्दै आएको व्यापारी पनि अहिले अवैध भारु तथा वैदेशिक मुद्राको कारोबारमा संलग्न छन् । यसतर्फ सम्बन्धित निकायले समयमै अनुगमन गरी त्यस्ता कारोबारीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

स्रोतका अनुसार आईएमई मनिट्रान्सफर र मनिचेन्जरको कारोबारमा संलग्न व्यवसायी नै अहिले अवैध हुन्डीको कारोबारमा समेत सक्रिय छन् । विराटनगरबाट भारतका विभिन्न सहरमा जाने व्यवसायी एवं उद्योगपतिलाई आवश्यक पर्ने पैसाको लागि व्यक्तिगत सम्पर्कका आधारमा अवैध हुन्डीको कारोबार गर्ने समूह अहिले एक्कासि बढ्न पुगेको छ । बैंकहरूबाट पैसा निकाल्न कडाइ हुन थालेपछि अवैध हुन्डीको माध्यमबाट पैसा प्राप्त गर्ने सहज व्यवस्था अपनाएको एक उद्योगपतिले बताए । तर यस्तो कारोबार गर्दा आफूसँग निकट रहेको हुन्डी व्यवसायीसँग मात्र कारोबार गर्ने हुँदा यस्ता कुरा बाहिर आउन नसकेको उनको दाबी छ ।

यस्ता हुन्डी व्यवसायीले निश्चित रकम पैसा प्राप्त गर्नुभन्दा अगाडि कमिसनबापतको रकम कट्टा गरी बाँकी रकम उपलब्ध गराउने फर्मुला अपनाउने गरेका छन् । जसले गर्दा कारोबारमा समेत सहज हुने उनीहरूको भनाइ छ । हुण्डी र अवैध कारोबारले प्रश्रय पाउँदा समेत अनुगमन र नियन्त्रण गर्ने निकाय नेपाल राष्ट्र बैंक भने बेखबरजस्तो देखिन पुगेको छ । जसको कारण यो अवैध कारोबार दैनिकरूपमा विराटनगरबाट फष्टाउन थालेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया