Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रारम्भिक चरणका कार्यहरू थालनी

निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रारम्भिक चरणका कार्यहरू थालनी


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले सरकारले आगामी मंसिर ४ गतेलाई घोषणा गरेको प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि प्रहरीले प्रारम्भिक चरणका कार्यहरूको थालनी गरिसकेको जानकारी दिएका छन् ।

आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचन त्रुटिरहित ढंगले सम्पन्न गरिने बताए । गत वैशाख ३० मा एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको सुरक्षामा पनि प्रहरीले कुनै त्रुटि नगरेको उनले दाबी गरे । स्थानीय तहको निर्वाचनमा प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुशी व्यक्त गर्दै उनले निर्वाचन शान्तिपूर्ण, भयरहित एवं विश्वसनीय वातावरणमा सम्पन्न भएको चर्चा गरे । यस्तै उनले प्रचलित कानुनको अधीनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताए । आईजीपी सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकनलगायतका हरेक काम संगठनको प्रणालीअनुरूप पारदर्शीरूपमा भएको बताउँदै सांगठनिक सुधारको लागि ८ वटा लक्ष्यसहित कार्ययोजना २०७९ लागू समेत गरिएको उल्लेख गरे ।

मिटरब्याजी, तस्करी, वित्तीय अपराध, सीमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणीलगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनको भनाइ थियो । प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढीकरणको लागि सबै पक्षको रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए । साथै उनले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरूले कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए । कानुनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारबाही गरिने उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले गत आर्थिक वर्ष २०७७/०७८ र चालू आर्थिक वर्ष २०७८/०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्यांक, नेपाल प्रहरी कार्ययोजना २०७९ एवं प्रहरी महानिरीक्षकको एक सय कार्यदिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपत् उद्धार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार, नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको सहभागितासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया