Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘कलंकी–महाराजगञ्ज–चाबहिल खण्डको सडक विस्तार चाँडै’

‘कलंकी–महाराजगञ्ज–चाबहिल खण्डको सडक विस्तार चाँडै’


काठमाडौं । चीन सरकारले कलंकीदेखि कोटेश्वरसम्म सडक विस्तार गरेर सकेलगत्तै सरकारले दोस्रो खण्ड ‘कलंकी– महाराजगञ्ज– चाबहिल खण्डको सडक विस्तार गर्ने काम अगाडि बढाएको थियो । चीन सरकारले पहिलो खण्ड अर्थात् कलंकी– कोटेश्वरको भाग विस्तार गरेको थियो भने दोस्रो खण्ड पनि चीन सरकारलाई नै विस्तार गर्न दिएको थियो ।

सडक विस्तारको काम थाल्नु अगाडि ‘साइट क्लियर’ नभएसम्म काम सुरु नगर्ने अडान चीनले लिएपछि सरकारले केही वर्ष अगाडि सो खण्डको रुख, टहर र बिजुलीको पोल हटाउने काम पूरा गरेको छ । महाराजगञ्ज चोकका केही घर हटाउन छलफल गरिरहेको छ । पहिला नै तोकिएको मुआब्जा नलिने भन्दै स्थानीयले प्रचलित दररेटअनुसार अहिले मूआब्जा निर्धारण हुनुपर्ने अडान लिएका छन् । तर, सडक विभाग भने एकपटक तोकिएको दररेट पुनः तोक्न आफूहरुले नसक्ने बताउने गरेका छन् । एक ठाउँमा दररेट पुनरवलोकन हुनासाथ अरु ठाउँमा पनि त्यही समस्या आउने भएको कारण सडक विभाग उक्त ‘रिस्क’ लिन चाहँदैन । अरु अनौपचारिक रुपमा स्थानीयलाई सर्वोच्च अदालत गएर यो विवादको किनारा लगाउन वा अदालत नजाने भए पहिलाकै दररेटअनुसार मुआब्जा लिन भनिरहेको छ । स्थानीय र सडक विभागबीच कुरा नमिलेपछि सरकारले चीनलाई विवादित खण्डको नेपाल आफैँले पछि निष्कर्ष निकाल्ने भन्दै अहिले ‘साइट क्लियर’ भएको क्षेत्रमा काम थाल्न अनुरोध गरिरहेको छ ।

नेपाल सरकारले अनुरोध गरे पनि चीनले कोभिड–१९ लगायतका कारण देखाएर यसमा वास्ता गरिरहेको थिएन । तर, एमसीसी पास भएपछि नेपालप्रति थप चिन्तित भएको चीनले आफैँले विमान चार्टर्ड गरेर गत मंगलबार अर्थात् साउन २४ गते नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनको टोलीलाई चीन बोलायो । टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल पनि सहभागी थिए । नेपालबाट चीन उड्ने बेलासम्म कुन–कुन विषयमा सहमति हुन्छ सचिव सिग्देललाई पनि थाहा थिएन । आफूलाई भेट्ने सबैलाई सचिव सिग्देल त्यही भन्थे, ‘भ्रमणमा के–के एजेन्डा छन् मलाई थाहा छैन । परराष्ट्रमन्त्रीलाई नै सोध्नुपर्छ ।’

मंगलबार राति चीन उडेको परराष्ट्रमन्त्री डा. खड्काको टोलीसँग चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको टोलीले बुधबार चीनमा वार्ता र केही समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मन्त्री खड्काको टोली वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन गएको थियो ।

वार्तामा दोस्रो चरणको काठमाडौँ रिङरोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको बिहीबार साँझ काठमाडौं फर्किएपछि परराष्ट्रमन्त्री खड्काले पत्रकारहरुलाई जानकारी दिए । कोभिडपछि नेपालका विभिन्न आयोजनामा काम गर्न नै मन नगरिरहेको चीनले चक्रपथ विस्तारमा यति छिटो ठोस निर्णय दिन्छ भनेर कसैले पनि कल्पना गरेका थिएनन् । नेपालले रुख कटान गरेर ठाउँ खाली बनाएको क्षेत्रमा अहिले नयाँ रुख उम्रिसकेको छ । फेरि यी रुख कटान गर्न अर्को पैसा खर्च गर्नुपर्ने अवस्था आउन लागेको बेला चीनले एकाएक चक्रपथ विस्तारको दोस्रो चरणको काम छिट्टै सुरु गर्न प्रतिबद्धता जनाउनाले केही आशा भने जगाएको छ ।

सरकार आफैँसँग उक्त सडक विस्तार गर्ने पर्याप्त पैसा छैन । त्यही भएर उसले पटकपटक चीनसँग गुहार मागेको हो । गुहानर मागे पनि चीनले वास्ता नगर्दा अलपत्र जस्तै भएको बेला चीन यो सडक विस्तार गर्न सकारात्मक हुनुले कलंकी– चाबहिलको धोवीखोला खण्डको काम सुरु हुने सम्भावना बढेको छ । उक्त खण्ड विस्तार हुन नसकेको कारण सडक विभाग अन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजना अहिले कामविहीन भएको छ । अहिले जो पायो त्यही कर्मचारी त्यहाँ काम गर्न जान नै मान्ने गरेका छैनन् । काम नै न भएपछि के गर्न जाने भनेर प्रश्न गर्ने गरेका छन् । चीनसँगको वार्तामा दोस्रो चरणको काठमाडौँ रिङरोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको परराष्ट्रमन्त्री खड्काले नै बताएपछि अब चाँडै यसको काम हुनेछ ।

काम सुरु हुने भन्नुको अर्थ तत्काल मेसिन परिचालन गर्नेभन्दा पनि नक्सा तयार पार्ने काम हुने सडक विभागका एक अधिकारीले जानकारी दिए । कलंकी कोटेश्वर खण्ड राजमार्गजस्तो भएको कारण कलंकी–चाबहिल खण्ड भने सहर भित्रको जस्तो गरी बनाउने नेपाल सरकारको योजना छ । पहिला चीन सरकारले नक्सा बनाएर दिएपछि नेपाल सरकारको सडक विभागले त्यसलाई आवश्यकताअनुसार संशोधन गरेर चीनलाई नै दिएपछि चीनले यसमा सहमति गरेर काम मात्र काम थाल्ने छ । पहिलो खण्डमा चीनले दिएको नक्सा हुबहु स्वीकार गर्दा उक्त खण्ड राजमार्गजस्तै भएको छ भने सडक बत्ती राख्न पोल गाड्ने ठाउँका पनि अभाव छ । दोस्रो खण्डमा भने धेरै ठाउँबाट सडक क्रम गर्ने ठाउँ राख्ने, आकाशे पुल र सडकबत्तीका लागि पोल समेत गाड्ने ठाउँ राख्ने सडक विभागका एक अधिकारीले जानकारी दिए । यद्यपि यो सडकको पूर्वअध्ययन भने चिनियाँ पक्षले गरिसकेको छ ।

यो दोस्रो खण्ड अर्थात् कलंकीदेखि चाबहिलको धोबीखोलासम्मको सडक ११ दशमलव छ किलोमिटर लामो छ । यो खण्डको मुख्य भागबाट दुर्बतर्फ ३१÷३१ मिटर सडक खाली गर्नुपर्नेछ । त्यही भएर रुख, टहरा र बिजुलीको पोल हटाउने काम भएको छ । आठ लेनको यो सडक पनि कोटेश्वर–कलंकी जस्तै मुख्य सडक चार लेन र सहायक सडक पनि चार लेन नै हुनेछ । यद्यपि तर आठ लेनकै सडक हुनेछ । यो सडक विस्तार २०७१ सालदेखि नै सुरु गर्ने भने पनि २०७२ सालमा भुकम्प आएपछि सेलाइएको थियो । बीचमा कोभिड–१९ को कारण चीनले कुनै चासो दिएन । अहिले भने नेपालमा एमसीसीको नाममा अमेरिकी गतिविधि बढ्न थालेपछि चीनले पनि विकासमा हात हाल्न जमर्को गरेको हो । चीन नेपाल एक चीन नीतिमा अडिग छ वा छैन भन्ने जाँच गर्ने पक्षमा छ । भ्रमणको बेला परराष्ट्रमन्त्री खड्काले नेपाल एक चीन नीतिमा अडिग गरेको प्रतिबद्धता व्यक्त गरेपछि चीनले चक्रपथ विस्तार मात्र होइन केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन आफैँले अनुदान सहायतामा गर्ने सहमति गरेको छ । त्यसका लागि यसै वर्षभित्र अर्थात् आउँदो पुसभित्रमा चिनियाँ प्राविधिक टोली खटाउने प्रतिबद्धता चीनले जनाएको छ ।

यसैगरी गत मार्चमा भएको सम्झौताबमोजिम नेपाल–चीन सीमा पार प्रसारणलाइनको पूर्वसम्भाव्यता अध्ययनमासमेत यथा समयमा सम्पन्न गर्ने विश्वास चिनियाँ विदेशमन्त्रीले दिलाएका छन् । वार्ताका अवसरमा चिनियाँ स्टेट काउन्सिलर यीले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक अनुदानअन्तर्गत सन् २०२१ का लागि ८० करोड आरएमबी बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा पनि प्रतिबद्धता जनाएको छ । नेपाल सरकार आफ्नै देशमा मल कारखाना स्थापना गर्न चाहन्छ । तर, पैसाको अभाव छ । यही बेला चीनले सहयोग गर्ने भनेपछि केही आशा भने पलाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया