Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरी मोरङ औद्योगिक करिडोरका छ उद्योग बन्द, १० अर्बको लगानी जोखिममा

सुनसरी मोरङ औद्योगिक करिडोरका छ उद्योग बन्द, १० अर्बको लगानी जोखिममा


विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/०८० को बजेटमा सीमित उद्योगहरूको प्रभावमा परी कच्चापदार्थको आयातमा लाग्ने करको दर परिवर्तन गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका छवटा जीआई वायर उद्योग बन्द भएका छन् । उद्योग बन्द हुँदा त्यसमा आश्रित झन्डै दुई हजार मजदुरहरू समेत बेरोजगारी हुन पुगेका छन् ।

अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको बजेटमार्फत एमएस वायरको कच्चापदार्थमा लाग्ने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत र अन्तःशुल्क प्रतिटन दुई हजार पाँच सयबाट चार हजार पाँच सय कायम गरी करको दर हेरफर गरेका थिए । त्यसैको कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा चार दशक पुरानो हुलास वायर, पायोनियर वायर, प्रिमियर वायर, कमला वायर, आरती स्ट्रिप्स र अरिहन्त वायरजस्ता पुराना उद्योग बन्द भएका छन् । ती उद्योगमा करिब १० अर्बभन्दा माथिको लगानी रहेको करिडोरका उद्योगीहरूले जानकारी दिएका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा लामो समयदेखि सञ्चालन हुँदै आएको हुलास वायरले मासिक चार हजार टन जीआई वायर र सात सय टन जाली उत्पादन गर्दै आएको छ भने करिब तीन हजार टन वायर निकासी पनि गर्दै आएको उद्योगीहरूले बताएका छन् । तर अर्थमन्त्री शर्माको सेटिङ बजेटमार्फत करको दर हेरफेर भएपछि परिवर्तित करका कारण चलाउन सक्ने अवस्था नभएर उद्योग नै बन्द गर्न बाध्य भएको यहाँका उद्योगीले बताएका छन् ।

उद्योग बन्द गर्न अर्थमन्त्री नै लागि परेका कारण उक्त उद्योग बन्द हुँदा उद्योगमा कार्यरत करिब साँढे तीन सय मजदुर तथा कर्मचारीलाई समेत उद्योगले बिदाइ गरिसकेको छ । उक्त उद्योगका सञ्चालकले भन्सार महसुल र अन्तःशुल्कका कारण कच्चापदार्थ ल्याएर उत्पादन गर्नुभन्दा तयारी वस्तु आयात गर्दा सस्तो पर्ने भएपछि उद्योग बन्द गरेर मजदुर कर्मचारीलाई बिदा गरेको बताएका छन् । त्यसैगरी एक अर्ब लागानीमा खुलेको प्रिमियर वायरले पनि दिनमा सय टन जीआई वायर उत्पादन गर्दै आएको थियो । तर पछिल्ला केही दिनयताबाट उद्योग बन्द गरी उद्योगमा कार्यरत तीन सय मजदुर–कर्मचारी कटौती गरेर बिदा गरेको उक्त उद्योगका सञ्चालकले जानकारी दिएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमै सञ्चालनमा रहेको अर्को पायोनियर वायरले पनि उद्योग सञ्चालन गर्ने अवस्था नभएको भन्दै उद्योगमा कार्यरत करिब दुई सय मजदुर–कर्मचारीलाई बिदाइ गरिसकेको छ । उक्त उद्योगले पनि मासिक दुई हजार टन वायर र चार लाख टन जाली उत्पादन गर्दै आएको थियो ।

त्यसैगरी अर्थमन्त्री शर्माले बजेटको दर हेरफेर गरी चर्को भन्सार महसुल र अन्तःशुल्क कायम गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरको आरती स्ट्रिप्सले तीन सय र अरिहन्त वायरले एक सय मजदुर–कर्मचारीलाई अव धान्न नसक्ने भन्दै बिदा गरेको स्वयं उद्योगीहरूले बताएका छन् । करिडोरका उद्योगीहरूले अर्थमन्त्री शर्माले केही सीमित उद्योगलाई संरक्षण गर्दै तिनले प्रयोग गर्ने कच्चापदार्थको भन्सार महसुल एक प्रतिशत र अन्तःशुल्क छुट दिएर अन्य उद्योगलाई बन्द हुने अवस्था सिर्जना गरेको उनीहरूको आरोप छ । उद्योग बन्दबाहेक आफूहरूसँग अर्को विकल्प नभएको उनीहरूको भनाइ छ । बजेटमार्फत आइरन स्क्राप, पिग आइरन, पोलिस्टर यार्न, जिंक इंगड, आल्मुनियम इंगड, पोलिस्टर यार्ड ५५ हेडमा भन्सार महसुल शून्य गरिएको छ । बजेटभन्दा अगाडि ती कच्चापदार्थमा पाँच प्रतिशत भन्सार महसुल लाग्दै आएको थियो । यसरी उद्योगलाई नै बन्द गर्ने अर्थमन्त्री शर्माको नीतिले सुनसरी–मोरङ औद्योगिक क्षेत्रका आधा दर्जन वायर उद्योग बन्द भएका छन् । अझै पनि सरकारले करको दायरा संशोधन गरे ती बन्द भएका उद्योग पुनः सञ्चालन हुनसक्ने सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया