Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहर्जनद्वारा ‘सक्षम नेतृत्वका लागि, १०० दिने अभियान’ सार्वजनिक

महर्जनद्वारा ‘सक्षम नेतृत्वका लागि, १०० दिने अभियान’ सार्वजनिक


काठमाडौं । विगत लामो समयदेखि राजनीति र समाज सेवामा सक्रिय रहेका प्रकाश महर्जन काठमाडौं क्षेत्र नं ५ ‘क’ का प्रदेश सांसदका आकांक्षी हुन् । नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका महर्जन नेविसंघका पूर्वकेन्द्रीय सहमहामन्त्री समेत हुन् ।

विसं २०७६० सालमा शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव र इकाइ सभापति समेत भइसकेका महर्जनको सिंगो जीवन नै राजनीति र समाजसेवामा बितेको छ । ‘उमेरले म ४१ वर्षको भएँ, यो उमेरसम्म जे–जति गरेँ राजनीतिमै गरेँ, समाजसेवामा नै गरेँ’, उनले भने, ‘अहिले देशभरि युवाहरूको माहौल छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगोल निर्वाचित हुनुभयो । सिंगो युवा जमातले उहाँलाई पार्टी, राजनीतिक आग्रह पूर्वाग्रह नराखी जितायो, म पनि युवा हुँ । यही ५ नं क्षेत्रकै स्थानीयवासी हुँ, यहाँको हरेक रीति, थिति, संस्कृति, स्थानीय जात्रा पर्व, यहाँका हरेक नागरिकको सुखदुःखसँग म जोडिएको छु, यस क्षेत्रको सबैजसो नागरिकको दुःखसुखमा सबैको सहयात्री बनेको छु । उहाँहरू सबैको साथ, सहयोग र समर्थनकै कारण मैले आगामी निर्वाचन उम्मेदवारी दिन लागेका हुँ ।’

‘म कांग्रेसबाट चुनाव लड्ने भए पनि यस क्षेत्रका एमाले, विवेकशील साझा, राप्रपा र अन्य सबै राजनीतिक दलका युवा नेता–कार्यकर्ताहरूले तपाईँ उठ्नुहोस, हामी सबैले मिलेर सहयोग गर्छौँ भनेर बचन दिनुभएको छ, हौसला दिनुभएको छ, साथ दिनुभएको छ । उहाँहरू सबैको आड, भरोसा र साथकै कारण मैले आगामी चुनावमा उम्मेदवारी दिन लागेको हुँ’, उनी भन्छन्, ‘राजनीतिक मात्र नभएर गैरराजनीतिक युवाहरूले पनि मलाई साथ र सहयोग दिनुभएको छ । उहाँहरू सबैको साथ र सहयोगले मलाई अगाडि बढ्न हौसला मिलेको छ । यही हौसलाले मलाई राष्ट्रिय राजनीतिमा अगाडि जान, आफ्नो समाजको लागि केही गर्न, आफ्नो देशको लागि केही गर्न हौसला मिलेको छ, जीवन रहेसम्म देश र समाजको लागि काम गर्छु, देश र समाजकै लागि मर्छु ।’

सरकारले यही मंसिर ४ गते संघ तथा प्रदेशका लागि आम निर्वाचनको मिति घोषणा तथा सोसम्बन्धी कार्यतालिका सार्वजनिक गरेसँगै महर्जनले ‘सक्षम नेतृत्वका लागि १०० दिने अभियान’ सार्वजनिक गरेको जानकारी दिएका छन् । ‘दशकौँ लामो समयदेखि विभिन्न कालखण्डमा व्यवस्था परिवर्तनका आरोह अवरोहहरूलाई छिचोल्दै समृद्ध नेपालको उच्च अभिलाषा बोकेको नेपाली समुदायका निमित्त बितेका पाँच वर्षमा देखिएका स्वार्थ मिश्रित राजनीतिक श्रृखंलाहरूले राजनीतिक वितृष्णा, व्यवस्था एवं नेताप्रतिको चरम असन्तुष्टि मात्र बढाएन, यसले हामीले चाहेको समृद्ध नेपाल निर्माणको लक्ष्यलाई समेत वर्षौँ पछाडि ढकेल्ने काम ग-यो ।

तमाम निराशाहरूका बीच लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ मानिने आम निर्वाचन समयमा नै घोषणा हुनु हाम्रा लागि कालो बादलभित्रको आशाका किरणहरू हुन्’, उनले भने, ‘एक–एक भोटको समष्टिगत योगबाट चुनिने नेतृत्व गलत हुँदै गर्दा हाम्रो वर्तमान मात्र नभई हामीपछिका पुस्ताहरूको भविष्यमा समेत कुठाराघात गर्नेछ । अतः आसन्न निर्वाचनबाट हरेक वर्ग, जात, वर्ण, भौगोलिक अवस्था र सामाजिक जीवनस्तर भएका सम्पूर्ण नेपालीहरूले दैनिक जीवनमा महसुस र अनुभति गर्ने सबल, समृद्ध र समुन्नत नेपाल निर्माणका निमित्त सही नेतृत्व चयन अपरिहार्य बनेको छ, यही आवश्यकता पूर्तिको लागि पनि मैले उम्देवारी दिने तयारी गरेको हुँ ।’ 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया