Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआठ ट्रक सुपारीको मुद्दा उच्च अदालत विराटनगरमा

आठ ट्रक सुपारीको मुद्दा उच्च अदालत विराटनगरमा


विराटनगर । विराटनगर भन्सार र भारतीय भन्सार समेतबाट जाँचपास भएर रिरुट गरी भारत निकासी हुँदै गरेको आठ ट्रक सुपारी नेपाल प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धानमा बुझाएको विषय अहिले उच्च अदालत विराटनगरमा पुगेको छ । उच्च अदालत विराटनगरले उक्त सुपारीका विषयमा छलफलको लागि बिहीबार अर्थात् आज अदालतमा बोलाएको छ । अदालतले प्रहरी, विराटनगर भन्सार र राजस्व अनुसन्धान कार्यालयसहित सुपारी भारत निर्यात गर्ने मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आदेश गरेको हो ।

सरकार पक्ष र सुपारी व्यापारीबीचमा चलेको सुपारीको जालझेल उच्च अदालतसम्म पुगेको हो । यो प्रकरणसँगै पछिल्लो समय सुपारीका विषयमा नयाँ–नयाँ प्रकरण समेत खुल्न थालेका छन् । विराटनगरमा सुपारीको व्यापार गर्ने खुद्रा व्यापारीले प्रतिकिलो नौ सय ५० सम्मको मूल्यमा सुपारी बिक्री गर्नेगरेको पाइएको छ । तर यहाँका ठूला–ठूला ट्रेडिङको कारोबार गर्ने सुपारी कारोबारीले सोही सुपारी प्रतिकिलो चार सय मूल्य कायम गरी सुपारी भारत निर्यात गरिरहेका छन् । ठूला ट्रेडिङका सुपारी कारोबारीले तेस्रो मुलुकबाट प्रतिकेजी चार सय ५५ को भन्सार मूल्य कायम गरी आयात गरेको सुपारी महँगोमा किनेर लागत मूल्यभन्दा कम मूल्यमा भारत निर्यात गर्नुले सुपारीका ठूला–ठूला ट्रेडिङ कारोबारीको भित्री खेल झन्झन् रहस्यमय भएको छ ।

अहिले उच्च अदालत विराटनगरको विचाराधीन अवस्थामा रहेको आठ गाडी सुपारी पक्राउको मुद्दा सोही विषयको उपज भएको रहस्य खुलेको छ । उक्त सुपारी पनि इन्डोनेसियाको सुपारी थाइल्यान्ड र सिंगापुरको बन्दरगाहबाट विराटनगरका छवटा व्यापारिक फर्मले गत आर्थिक वर्षमा ७५ करोड ४९ लाख ३२ हजार मूल्यबराबरको पाँच हजार सात सय ८४ दशमलव २६ टन सुपारी आयात गरेको रेकर्ड विराटनगर भन्सार कार्यालयको सार्वजनिक गरेको छ । प्रहरीले बरामद गरेको आठ ट्रक सुपारीसहित ९० करोड ६७ लाख १८ हजार मूल्यबराबरको २२ लाख ४८ हजार आठ सय पाँच किलो सुपारी भारत निर्यात भएको दाबी विराटनगर भन्सारले गरेको छ ।

उक्त सुपारी आयात गर्नेमा सौर्य एयरलाइन्सका सञ्चालक झापाका दीपक पोखरेलको अम्बे ट्रेडिङ, विराटनगरका दिनेश राठीको राठी ट्रेडिङ र ग्लोबल विराट इन्टरनेसनल, विराटनगरका प्रदीप मुरारकाको पिके ट्रेडर्स, विराटनगरका मुलचन्द राठीको तिरूपति ट्रेड लिंक्सले सुपारी आयात गरेको खुलेको छ । तर सुपारी निर्यात गर्नेमा विराटनगरका नवीन घिमिरेको मनोकामना ट्रेडर्स मात्र रहेको बताइएको छ । भारत सुपारी पठाउने नवीन घिमिरे र सुपारी आयात गर्ने दिपक पोखरेल नाता सम्बन्धका हुन् भने सुपारी आयात गर्ने दिनेश राठी र मुलचन्द राठी पनि एउटै घरका नाता सम्बन्धका रहेको रहस्य पनि समाचारस्रोतले खोलेको छ ।

घिमिरे सञ्चालक रहेको मनोकामना ट्रेडर्सले भारत निर्यात गर्न लागेको उक्त सुपारी पनि भारतको आइसा एक्सपोर्ट कोलकातालाई आठ करोड ६३ लाख ८१ हजार पाँच सय ६८ रूपैयाँ मूल्यबराबरको दुई लाख १९ हजार पाँच सय ९६ किलो सुपारी आठवटा ट्रकमा रहेको छ । उक्त सुपारी गत साउन ७ गते राजस्व अनुसन्धान कार्यालय इटहरीमा प्रहरीले पक्राउ गरी बुझाएको थियो । उक्त सुपारी एकीकृत भन्सार जाँच चौकी विराटनगरबाट जाँचपास भएर भारतको जोगबनी एकीकृत भन्सारले समेत पास गरी रि–रुट गरेर भारत लग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार कागजी डकुमेन्टका आधारमा वैधानिक तरिकाले उक्त सुपारी भारत जान लागेको देखिए पनि राजस्व अनुसन्धानाई सुपारी छोड्न कुनै आदेश नआएपछि सुपारी छुटाउन सुपारी निर्यातकर्ता घिमिरेले उच्च अदालतमा सुपारी तत्काल छाड्न र भारतको जोगबनी भन्सार कार्यालयले लगाएको सिल यथास्थितिमा राख्न भन्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका थिए । रिट निवेदन परेपछि अदालतले भदौ २ गते बिहीबारका लागि पेसीको आदेश दिएको थियो । उच्च अदालतले पनि लोड भएका आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राख्न र अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन दुवै पक्षलाई आदेश दिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया