Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘ईयूको हवाई प्रतिबन्ध सूचीबाट नेपाल छिटै हट्ने’

‘ईयूको हवाई प्रतिबन्ध सूचीबाट नेपाल छिटै हट्ने’


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन(ईयू)को हवाई प्रतिबन्ध सूचीबाट छिटै हट्ने बताएका छन् । उड्डयन सुरक्षाको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको उनको भनाइ छ ।

नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा आयोजना गरेको २१औँ वार्षिक साधारणसभामा उनले नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको चर्चा गर्दै ईयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यन्वयनको औसत दर ७० दशमलव १ प्रतिशत देखिएको थियो । ईयूको प्रतिनिधिमण्डल छिटै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्वन्धि निर्णय पुनर्विचार गर्ने उनको भनाइ छ । ईयूको हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने बताए ।

सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ । मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेबार हुनुपर्ने बताए । हवाई उड्डयन क्षेत्र प्राविधिक र विशिष्ट प्रकृतिको भएकोले हवाई यातायात नियन्त्रकको भूमिका महत्वपूर्ण हुने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरलगायतलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया