Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान


काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरूको स्वागतमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानुनी एवं प्रक्रियागत सुधार गरेकोले नेपालमा लगानी गर्न आग्रह गरे ।

उनले लगानीमा सहजताका लागि चालू आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा पाँच करोडबाट घटाएर दुई करोड कायम गरेको, एकद्वार नीति अवलम्बन गरेको बताए । यस्तै उनले नेपालको आर्थिक विकासका लागि नेपालको निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको बताउँदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्नसक्ने बताए । उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको समेत उल्लेख गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, युनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि आग्रह गरे । उनले सिमेन्ट, खानी, जलविद्युत्, सूचना प्रविधिलगायतका क्षेत्रमा निकै अवसर रहेको बताए । ७७ वटा नेपाली उत्पादनलाई अमेरिकाले भन्सार र कोटारहित सुविधा दिएको जानकारी गराउँदै नेपालमा उच्च प्रतिफलको सम्भावना रहेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको उल्लेख गरे । उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिका अध्यक्ष ब्रम्हा मिश्राले नेपाल लगानीका लागि उचित गन्तव्य मुलुक भएको बताए । उनले नेपाल सरकार, नेपालको निजी क्षेत्रले भारतीय लगानीकर्तालाई गरेको सम्मान एवं स्वागतले आफूहरूलाई ऊर्जा प्रदान गरेको बताए ।

कार्यक्रममा भारतीय तथा स्वदेशी लगानीकर्ताबीच ऊर्जा, खानी तथा रियल स्टेट, स्टील, कपडा, कृषि, खाना तथा प्याकेजिङ, सेवा तथा पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा बीटूबी छलफल भएको थियो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले कार्यक्रमको आयोजना गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया