Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘मुलुकमा पर्याप्त उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने स्थिति चिन्ताजनक’

‘मुलुकमा पर्याप्त उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने स्थिति चिन्ताजनक’


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानीजन्य वस्तु उत्पादन गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था आउनू चिन्ताको विषय भएको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथी विभागको संयुक्त आयोजनामा ‘नेपालमा खाद्य सुरक्षाको अवस्था’ विषयक दुईदिने सेमिनारको विहीबार समापन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरी आन्तरिक खाद्य मागलाई स्वदेशबाटै पूर्ति गर्न सबै प्रयत्नरत हुन आवश्यक रहेको बताए । नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सकिने खाद्यवस्तु समेत विदेशबाट आयात गर्नुपर्ने अवस्थाले व्यापार घाटा उच्च बन्दै गएको उनको भनाई छ । ‘चामल, गहुँ, मकै र तरकारीजस्ता खाद्यवस्तु पनि विदेशबाट आयात गरेर खानुपर्ने स्थिति आउनू सबैका लागि चिन्ताको विषय हो’, उनले भने, ‘यसले मुलुकको व्यापार घाटालाई समेत उच्च बनाउँदै लगेको छ ।’ यो स्थितिमा सुधार ल्याउन मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न उत्पादन गरी खाद्यमा सबैको पहँुच र आन्तरिक खाद्यको मागलाई स्वदेशभित्रबाटै पूर्ति गर्न प्रेरित हुन आवश्यक रहेको उनले बताए । नेपालको कूल जनसङ्ख्याको दुईतिहाइभन्दा बढी हिस्सा कृषिमा आश्रित भए पनि खाद्य उत्पादनका हिसाबले संसारकै कमजोर रहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले मुलुकभित्रै पर्याप्त मात्रामा धान, गहुँ, जौ, मकैजस्ता खाद्यान्न बाली, फलफूल तथा तरकारीजस्ता बागवानीजन्य वस्तु उत्पादन गर्न सकिने सम्भावनाको सदुपयोग गर्न नसकिएको प्रति चिन्ता प्रकट गरे । उनले परम्परागत खेती, सिँचाइ तथा मलखादको अपर्याप्तता, जमिनको खण्डीकरण, कृषि, श्रमिक, उन्नत बीउबिजनको अभाव, बेमौसमी वर्षा र उत्पादित वस्तुको उचित बजारीकरण हुन नसक्दा केही वर्षयता खाद्यान्नको उत्पादनमा कमी हुँदै आइरहेको जानकारी दिए । खाद्य सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण देखिएको मुख्य खाद्य वस्तुको बाली विस्तार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । नेपाल सरकारले कार्यान्वयनमा ल्याएका कृषि आधुनिकीकरण परियोजना, चैते धान र वर्षे धान प्रवद्र्धनजस्ता कार्यक्रमहरुबाट खाद्य सुरक्षासम्बन्धी समस्या समाधान गर्न केही हदसम्म मद्दत पुग्ने उनले बताए ।

यस्तै उनले खाद्य सुरक्षाजस्तो समसामयिक विषयमा विज्ञ सरोकारवाला निकायका प्रतिनिधि सहभागी गराई महत्वपूर्ण कार्यक्रम आयोजना गरेकामा नेपाली सेना र राष्ट्रिय सुरक्षा परिषद्प्रति आभार व्यक्त गरे । प्रधानमन्त्री देउवाले स्वास्थ्य र क्रियाशील जीवन जिउनका लागि सन्तुलित पोषणयुक्त खाद्य पदार्थ महत्वपूर्ण हुने बताए । खाद्यको उच्च महत्वलाई हृदयङ्गम गरी नेपालको संविधानले खाद्य सम्प्रभुताको हकलाई नागरिकको मौलिक हकका रूपमा राखेको पनि उनले स्मरण गरे ।

समापन समारोहमा नेपाली सेनाका सहायक रथी तथा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक कृष्णराज आचार्यले दुईदिने सम्मेलनमा भएको छलफल र त्यसको निष्कर्षबारे प्रस्तुतीकरण दिएका थिए । बुधबार सुरु भएको सेमिनारमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानबाट प्रस्तुत कार्यपत्रमाथि छलफल गरी निष्कर्ष निकालिएको जनाइएको छ ।

परिषद्ले समसामयिक विषयमा यसरी पहिलोपटक सम्मेलन गरेको थियो । नेपालमा खाद्य सुरक्षाको वर्तमान अवस्थाको मूल्यांकन र विश्लेषण गरी सरकारलाई राय÷सुझाव दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो । यस किसिमको सेमिनारले सरोकारवाला निकायहरुलाई खाद्य सुरक्षाका विविध पक्षहरुका बारेमा जानकारी प्राप्त हुनुका साथै आगामी दिनहरुमा खाद्य सुरक्षा सम्बन्धी मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया