Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलघु, घरेलु तथा साना उद्योग बागमती सरकारको प्राथमिकतामा : उद्योगमन्त्री

लघु, घरेलु तथा साना उद्योग बागमती सरकारको प्राथमिकतामा : उद्योगमन्त्री


काठमाडौं । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्योगहरु सधैँ सरकारको प्राथमिकतामा रहने बताए ।

चप्पलदेखि टोपीसम्म, लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुसम्म लघु घरेलु तथा साना उद्योगका माध्यमबाट आत्मनिर्भर हुन सक्ने सम्भावना प्रशस्तै रहेको भन्दै मन्त्री श्रेष्ठले रोजगारी र आत्मनिर्भरका हिसाबले यो क्षेत्रका लागि आफूले मन्त्रालय सम्हाल्दासम्म दत्तचित्त भएर सहयोग गर्ने बताए । साथै महासंघसँग जोडिएर व्यवसायीहरुलाई सहजता प्रदान गर्ने र उद्यमशीलताको विकास गर्ने कुरामा लागिपर्ने उनले प्रतिबद्धता समेत जनाए । ललितपुरको लुभु र ठैवमा टेक्सटाइल, भक्तपुरमा काष्ठकला, पाटनमा ललितकता र धातुकलालगायतका कुराले अर्बौँ रुपैयाँको आयआर्जनमा भूमिका खेलेको भन्दै उनले घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवद्र्धन गर्नका लागि प्रदेशको राजधानी हेटौंडामा चारदेखि पाँच करोडको लागतमा गत वर्षदेखि अत्याधुनिक बिक्री कक्ष निर्माण भइरहेको बताए । यस्तै घरेलु सामानको प्रवर्द्धनका लागि चितवन, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा आधुनिक रुपमा प्रदर्शनी कक्ष निर्माण गर्ने कार्यक्रम राखेको उनको भनाइ थियो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्धिको सम्वाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए । लघु, घरेलु तथा साना उद्योगहरुको उच्चतम सदुपयोग र प्रवर्द्धनबाट अर्थतन्त्रलाई पनि समृद्ध बनाउने दिशामा महासंघ बागमती प्रदेशसँग सहकार्य गरी अगाडि बढ्न चाहेको पनि उनले बताए । महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले संविधानतः केन्द्रीय सरकारले साना तथा घरेलु उद्योगको प्रवर्द्धन, नियमन र प्रशासनको विषय पालिकाले नै हेरोस् भने पनि पालिकाको भूमिका विगत पाँच वर्षमा त्यति प्रभावकारी हुन नसकेको बताए । त्यसैले प्रदेश सरकारले यसको जिम्मा लिनु अति जरुरी रहेको उनको भनाइ थियो ।

साना तथा घरेलु उद्योगहरुको प्रवर्द्धनका लागि प्रदेश सरकारले केही छलाङ मार्ने खालका कार्यक्रम ल्याउन जरुरी भएको भन्दै उनले अहिले यस्ता उद्योगका समस्या भनेकै प्रविधि र पुँजीको पहुँच रहेको बताए । ‘विगत ५० वर्षमा सीप र दक्षताका सवालमा धेरै काम भए जुन पर्याप्त छन् अहिले साना तथा घरेलु उद्योगीहरु, युवा उद्यमी र महिला उद्यमीहरुको बीचमा आवश्यकताको विषय भनेको प्रविधि र पुँजीको पहुँच भएको छ’, उनले भने । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु मोहन कटुवाल र शोभा गुरुङ, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघको महिला उद्यमी समिति वरिष्ठ उपाध्यक्ष रीता अवालेलगायतले आफ्ना भनाइ राखेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया