Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपुल निर्माणको काम कछुवा गतिमा, ढिलाइ हुँदा स्थानीयलाई सास्ती

पुल निर्माणको काम कछुवा गतिमा, ढिलाइ हुँदा स्थानीयलाई सास्ती


कञ्चनपुर, फागुन १४

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पुल निमार्णको काम कछुवा गतिभन्दा पनि ढिला पाइएको छ । पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीय समस्या भोगिरहेका छन् ।कृष्णपुर नगरपालिका वडा नम्बर १ को दोमिल्लामा करिब चार वर्ष पहिले निर्माण कार्य थालेको थियो तर उक्त पुल हालसम्म निर्माण हुन सकेको छैन । बुडर नायल बंक सकडखण्डको कृष्णपुर नगरपालिकाको वडा नम्बर १ अन्र्तगत पर्ने ओदाल गाड र खारखोलामा निर्माणाधीन पुलको निर्माण कार्यमा ढिलासुस्ती भएको स्थानीयले बताएका छन् । पुल निर्माणको काममा ढिलाइ भएको हँुदा बच्चाहरूलाई विद्यालय जान समास्या हुनेगरेको छ, यसले गर्दा नदी तर्नुपर्दा समस्या हुनेगरेको स्थानीय दिपक भण्डारीले बताए । उनले वर्षाका बेलामा पुल नहुँदा निकै समस्या हुनेगरेको बताए । ‘वर्षातका समयमा समस्या हुन्छ, बच्चाहरूलाई स्कुल पु¥याउन कठिनाइ हुन्छ, कुनै इमरजेन्सी केसहरू परेमा बाटो नहुँदा समस्या परिरहन्छ, कछुवाको गतिमा पुलको काम भइरहेको देखिन्छ ।’ भण्डारीले भने । ओदाल गाड र खारखोलामा निर्माण भइरहेका पुल थेगिङ कम्पनीले जिम्मा लिएको छ । कम्पनीले उक्त दुवै पुल सडक विभाग महेन्द्रनगरसँग २०७३ साल भदौ १७ गते एक वर्षभित्र निर्माण गरिसक्ने गरी सम्झौता गरेको थियो ।

तर, हालसम्म उक्त दुवै पुलको काम सबस्ट्रक्चर निर्माण गर्नेबाहेक अगाडि बढाउन सकेको छैन । सुपर स्ट्रक्चर बनाउन सकेको छैन । सम्झौताअनुसार कम्पनीले उक्त पुल २०७४ साल फागुन १५ गते सक्ने सम्झौता गरेको थियो तर हालसम्म निर्माण कार्य आधा पनि सकेको छैन । सडक विभागले ढिलासुस्ती गरेको भन्दै ठेक्काको करिब १० प्रतिशत हर्जाना लगाइसकेको छ । उक्त कम्पनीले ओदाल गाड पुलको दश प्रतिशत हर्जाना तिरिसकेको छ भने खारखोलाको हालसम्म नतिरेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले बताए । उक्त दुवै पुलको लम्बाई ७० मिटर रहेको बताइएको छ ।सडक विभागले उपलब्ध गराएको विवरणअनुसार उक्त दुवै पुलमध्ये ओदाल गाडको पुलमा आठ करोड ४७ लाखमा भ्याटसहित सम्झौता भएको थियो भने खारखोलाको पुल छ करोड ७९ लाख रूपैयाँमा सम्झौता भएको थियो । दुवै पुलको ठेक्का पाएको थेगिङ कन्ट्रक्सन कम्पनीले म्याद थप गर्न निवेदन दिएको छ । उसले आगामी असारसम्म दुइटै पुलको एउटा–एउटा स्पान निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धतासमेत जनाएको सडक विभागका सूचना अधिकृत जोशीले बताए । पुल निर्माणमा ढिलाइ भइरहँदा सडक विभागले कानमा तेल हालेर बसेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय वीरबहादुर साउदले सुत्केरी महिलाको केसमा डेलिभरीजस्ता केस परेको बेला पुल नहँुदा बाटोमै ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए । ‘नदीमा पुलको समस्या छ, सडक विभाग कानमा तेल हालेर बसेको छ, ठेकेदार पनि ठग हो’, उनले भने– ‘राज्य र ठेकेदार दुवैले लापरबाही गर्छन्, अफिसमै गएर कुरा गरे पनि समस्या सुन्दैनन् ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया