Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

१६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन


काठमाण्डौँ,फागुन १५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयमा भ्रष्टाचारविरुद्धको अभियानलाई थप तीव्र पारेको छ । अख्तियारले निर्वाचित वडा अध्यक्षदेखि सरकारी कर्मचारीलाई घुसबापतको रकमसहित बुधबार पक्राउ गरेको छ भने तस्करी गरेर नेपाल ल्याइको सुन पक्राउ गरेर कारबाही गर्ने निकायमा बुझाउनुपर्नेमा बाँडफाँट गरेर लिने १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ । अख्तियारका अनुसार रुपन्देहीको समरीमाई गाउँपालिका–५ का वडा अध्यक्ष श्रवण कुमार यादवलाई ७० हजार घुस रकमसहित पक्राउ गरेको छ । जग्गाको चारकिल्ला सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएपछि अख्तियारको बुटवल कार्यालयबाट खटिई गएको टोलीले वडा अध्यक्ष यादवलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

देशका अन्य ठाउँमा पनि जनप्रतिनिधिहरुले घुस लिने गरेको गुनासो बढिरहेको बेला रुपन्देहीमा वडा अध्यक्ष नै पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ । अख्तियारले जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीलाई नेपाल–भारत सीमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज बनाइदिन्छु भनी सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ लिएपछि अख्तियारको बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको छ । भारतीय सीमा बजारबाट नुन, तेल, चिनी तथा कपडालगायतका वस्तु ल्याउन सहज गराइदिने भनेर उनले घुस लिएका थिए । घुस रकमसहति पक्राउ परेको कारण उनलाई भ्रष्टाचार ऐन, २०५९ को दफा ३ को उपदफा १ कसुर गरेकाले सोही रकम बराबर बिगो र जरिवाना तथा कैद माग दाबी गरी बुधबार नै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । यस्तै, उच्च सरकारी वकिलको कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवले ठगीसम्बन्धी मुद्दाको बन्दी प्रत्यक्षीकरणमा सहजीकरण गरिदिने भने सेवाग्राहीसँग १५ हजार घुस लिएपछि अख्तियारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यसैबीच, अख्तियारले केरुङबाट अवैध रुपमा नेपाल ल्याइएको सुनलाई पक्राउ गरेर कारबाही गर्ने निकायमा नबुझाई मिलेमतो गरी बाँडेर लिएको भन्दै सीमा प्रहरी चौकी रसुवा टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित सो चौकीमा कार्यरत १६ जना प्रहरीलाई कार्यरत रहेको पदबाट निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएको छ ।
अख्तियारका अनुसार केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नम्बरको कन्टेर चेकजाँचको क्रममा गत पुस ११ गते चार सय २२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानुनी प्रक्रिया लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा उनीहरुले आपसमा बाँडफाँट गरी खाई मासेका थिए । यसरी निलम्बनका लागि पत्र लेखिएका प्रहरीहरुमा प्रहरी निरीक्षक नेपालसहित नायब निरीक्षक भोज बहादुर सेन वली, सहायक निरीक्षक रामशरण कुमाल, हवल्दार रामशरण रिमाल, हवल्दार पुरुषोत्तम खत्री, हवल्दार रामकाजी लामा, हवल्दार गोपी बहादुर लो तामाङ, जवानहरु शिव नारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र कार्यालय सहयोगी हरीबहादुर श्रेष्ठ छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया